Latest From our Blog
कौशी खेतीमा कस्तो माटो प्रयोग गर्न सकिन्छ??
कुनै पनि विरुवाका लागि हुर्कन, माटोभन्दा पनि सो माटोमा हुने पोषक तत्व (खनिज) को बढी महत्व हुन्छ । यसैले माटोमा जैविक गतिविधिहरु प्राकृतिकरुपमै बढाउन सके त राम्रै हो ।
माटोमा हुने जीव जनावरले माटोलाई मलिलो, खुकुलो अनि उर्बर बनाउँछ । तर, धेरै अवसरमा सानो भाँडोमा यस्ता गतिविधिहरु सम्भव हुँदैनन् । यसैले कौशी खेतीका लागि सकेसम्म बढी मल मिसाएर माटोलाई हलुका बनाउँदा विरुवा राम्ररी फस्टाउँछन् ।
माटो हलुका बनाउने हो भने त्यसले विरुवालाई जरा फिजाउन पनि सजिलो हुन्छ र सँगै यसले कौशी वा छतमा माटोको भार पनि कम मात्र पर्छ । साथै पानी पनि माटोले राम्ररी सोस्न सक्छ ।
तर, सम्झनुपर्ने एउटा कुरा के छ भने माटो त विरुवालाई समात्न र अडिने बनाउनकै लागि हो । यसैले कौशी खेतीमा प्रयोग हुने माटोमा सकेसम्म बढी पोषक तत्वहरु राख्न आवश्यक छ । अनि मल धेरै राखेर माटो हलुका बनायौं भने यसले घरलाई कम मात्रै भार दिन्छ र विरुवा पनि राम्ररी फस्टाउन सक्छ ।
बजारमा किनिने रासायनिक मलको प्रयोग गरेर सागसब्जी उब्जाउने हो भने, कौशी खेती गर्नुको औचित्य नै मर्छ
माटो हलुका बनाउने तरिका
कौशी खेतीका लागि प्रयोग गरिने माटो सकेसम्म बढी हलुका बनाउनुपर्छ । यसले विरुवाको जरा फैलन सजिलो बनाउँछ र माटोमा प्रचुर मात्रामा मल भएमा विरुवा बढी सप्रिन्छ पनि ।
वास्तवमा भन्ने हो भने, कौशीको खेतीका लागि प्रयोग हुने माटोको मिश्रणमा चार भागको एक भाग मात्रै माटो राखिन्छ । बाँकी तीन भागको, एक भाग बालुवा र बाँकी दुई भाग मल राखी तैयार पारिन्छ ।
माटोमा बालुवाको मात्रा, माटोको प्रकृति हेरेर पनि मिलाउन सकिन्छ । आज भोलि त नरिवलको जटाका टुक्रालाई सानो सानो टुक्रा बनाएर, एक दिनजति भिजाएपछि त्यो जटाका टुक्रा र माटो मिसाएर पनि माटो हलुका बनाइन्छ ।
मधुमति पनि भनिने नरिवलको जट्टाको इँटा आकारको यो सामान विभिन्न नर्सरीहरुमा पनि किन्न पाइन्छ । नरिवलको जराको निक्कै मसिनो टुक्रालाई इँटाको आकारमा दिएर मधुमति बनाइएको हुन्छ ।
मधुमति किन्न नपाएको खण्डमा बजारबाट किनिएको नरिवलको जट्टालाई निक्कै मसिनो गरी काटेर, लामो समय भिजाएर पनि माटोमा प्रयोग गर्न सकिन्छ । यसले पनि माटोलाई हलुका अनि उर्बर बनाउन सघाउँछ ।
हलुका बनाइसकिएको माटोलाई भाँडोमा ६ इन्च वा भाँडो हेरेर भर्न सकिन्छ । माटो राख्दा भने माथिबाट कम्तिमा पनि ४ औंला जति कम मात्रै भरिने गरी राख्दा, पानी वा अरु केही कुरा थप्दा पोखिने र बाहिर निस्किने समस्याबाट बच्न सकिन्छ । यसैगरी, समय समयमा मल वा अरु केही कुरा थप्न पर्यो भने पनि भाँडोमा सजिलैसँग अटाउन सकिन्छ ।