Latest From our Blog

कौसी खेतीमा रोग तथा किरा नियन्त्रण कसरी गर्ने त?

किरा फट्याङ्ग्राबाट हुने चुनौती र समस्या
कौशीमा रोपिएका विरुवामा सबैभन्दा ठूलो समस्या, किरा फट्याङ्ग्राकै हुन्छ । तर, यी किरा फट्याङ्ग्रालाई मार्न रसायन वा बजारी औषधी मिसाउने हो भने त बाहिर किनेर ल्याउने र घरमै उमार्ने तरकारीमा के नै फरक रहन्छ र ?

त्यसैले घरमा उमार्ने तरकारी सकेसम्म जैविक तरिकाले, कुनै रसायन नमिसाइकन गरिन्छ । यसका लागि घरमै जैविक विषादि बनाउन सकिन्छ, जसले जैविक मलको काम समेत गर्छ ।

बिर्सन नहुने कुरा के हो भने, हाम्रो कौशी खेतीमा लाग्ने किरा फट्याङ्ग्रालाई मार्ने भन्दा पनि उनीहरुलाई धपाउने हाम्रो उद्देश्य हो । यसैले पहिले खेतीमा लाग्ने किरामा कुन शत्रु किरा र कुन मित्र किरा हो भनेर छुट्याउनुपर्छ ।

शत्रु किरा विशेष गरी साकाहारी हुन्छन् अनि मित्र किरा मांसाहारी हुन्छन् । यसैले शत्रु किराले, बोट विरुवा अनि फल खान्छ भने मित्र किराले यी नै शत्रु किरालाई खाएर बोट विरुवा अनि फलको रक्षा गर्छ ।

लाइ किरा, पतेरो किरा (विरुवाको रस चुसेर सुख्खा बनाई मार्छ), औंसा किरा (विशेष गरी, लहरे बालीलाई नोक्सानी गर्छ ), खुम्रे किरा (कौशी खेतीमा सबैभन्दा बढी समस्या ल्याउने किरा) लगायतका किरालाई शत्रु किराका रुपमा लिइन्छ ।

सात थोप्ले किरा  लाइ किरालाई खाएर मार्छ । तर सात थोप्ले किराले लाइ किरा ल्याउँछ भनेर यसलाई मार्ने गरिन्छ । माहुरी, घामकिरा, गड्यौंला, माकुरा (माकुराको जालोमा फसेर धेरै शत्रु किराहरु मर्छन, सँगै शत्रु किराका बच्चा र अण्डा पनि यसले मार्छ), बारुला पनि मित्र किरा हुन् ।

शत्रु किरा र मित्र किराको पहिचान भएपछि, शत्रु किरालाई धपाउनतिर लाग्न सकिन्छ । शत्रु किरा धपाउनका लागि विषादि प्रयोग गर्दा यसले मित्र किरालाई पनि मार्ने सम्भावना हुन्छ । यसैले बोटविरुवामा रासायनिक विषादि प्रयोग गर्नुको सट्टा जैविक विषादिको प्रयोग गर्न सकिन्छ ।

जैविक विषादिको प्रयोगले शत्रु किरा भाग्ने मात्रै होइन, यसले माटोलाई पोषण पनि दिन्छ । यसैले घरमै अनि घर वरपर सजिलै पाइने वस्तुहरुबाट जैविक विषादि बनाएर प्रयोग गर्न सकिन्छ ।

जैविक विषादि बनाउने तरिका
मानिसको पिसाबमा अरु स्थानीय वनस्पति वा जडीबुटि प्रयोग गरेर जैविक विषादि बनाउन सकिन्छ । गहुँत वा मानिसको पिसाबलाई मुख बन्द गर्न मिल्ने भाँडोमा जम्मा गर्ने ।

यसका लागि प्लास्टिकको, मुख बन्द गर्न मिल्ने भाँडो वा ड्रमको प्रयोग गर्न सकिन्छ । यसमा सिस्नुका पात, बकाइनोको पात, वनमारा, तीतेपाती, टिम्मुर, बोझो, आकासबेलीको पात, राजबेलीको पात, नीमको पात वा असुरोलाई सानो सानो टुक्रा पारेर राख्ने ।

गहुँत वा पिसाबमा यी सबै वनस्पतिलाई राखेर चलाउने । अनि बेस्सरी बिर्को बन्द गर्ने । यो मिश्रणलाई दिनको एकपटक चलाउने गर्नुपर्छ । तीन हप्तासम्म यो मिश्रणलाई हरेक दिन चलाउनुपर्छ । तीन हप्तापछि यो मिश्रणलाई जैविक विषादि वा झोल मलका रुपमा विरुवामा प्रयोग गर्न सकिन्छ ।

यो जैविक विषादि वा झोल मललाई विरुवामा प्रत्यक्ष वा माटोमा प्रयोग गर्न सकिन्छ । माटोमा प्रयोग गर्दा यसले उर्बरा शक्ति बढाउँछ । विरुवामा प्रयोग गर्दा भने यसको गन्धले शत्रु किरा भाग्छ, बोटमा बस्दैन । यसले गर्दा विरुवालाई कुनै किराले दुःख दिन पाउँदैन ।