Latest From our Blog

घरमै कम्पोष्ट बनाउने सजिलो विधि !!!

अर्ग्यानिक पदार्थलाई प्राकृतिक तरीकाबाट गलाउने प्रक्रियालाई कम्पोष्टिङ भनिन्छ । ब्याक्टेरिया, फञ्जाईलगायत सूक्ष्म जीवाणुले अर्ग्यानिक पदार्थलाई गलाउन सहयोग गर्छन् । साथै, कम्पोष्ट निर्माणका लागि नाइट्रोजन, कार्बन, पानीलगायतको समेत आवश्यकता पर्छ । कम्पोष्ट गर्दा फोहोरको व्यवस्थापन हुनुका साथै यसलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । यसले केही मात्रामा भए पनि मलका लागि हुने खर्चमा कटौती ल्याउन सघाउ मिल्छ । त्यसैगरी यसको प्रयोगबाट जमीनको उर्वरता बढाउन सकिन्छ ।

गुणस्तरीय कम्पोष्ट तयार पार्न यसमा मिसाइने सामग्रीको भूमिका महत्वपूर्ण हुन्छ । सही सम्मिश्रण तयार गर्न ‘थ्री आर’को नियम पालना गर्न सकिन्छ । ती हुन्– रिड्युस (घटाउनु), रियुज (पुनः प्रयोग) र रिसाइकल (पुनः चक्र) ।

कम्पोष्ट तयार पार्न आवश्यक सामग्री तथा प्रक्रिया :

१. कम्पोष्ट गर्नका लागि बिन (भाँडो):
कम्पोष्ट सङ्कलनका लागि जमीनमा खाल्डो खनेर पनि स्थान बनाउन सकिन्छ । तथापि, बिनको प्रयोग गरेमा सफा–सुग्घरसँग कम्पोष्ट तयार पार्न सघाउ मिल्छ । साथै, यसको प्रयोगबाट कम्पोष्ट तयार पार्न राखिएका खाद्य तथा जैविक वस्तु जीव–जनावरले खाइदिने र यत्रतत्र छरिदिने समस्याबाट समेत जोगिन सकिन्छ । कम्पोष्टका लागि भाँडो प्रयोग गर्नाले ओस तथा तापक्रम समायोजन गर्नसमेत सजिलो हुन्छ । राम्रो कम्पोष्ट बनाउनका लागि खाल्डो वा बिनको आकार कम्तीमा १ क्युबिक मिटर हुनु उचित मानिन्छ । तर, तिनको आकार आफ्नो आवश्यकताअनुसार सानो वा ठूलो पनि गर्न सकिन्छ ।

२. सन्तुलित मात्रामा मिश्रण समायोजन: 
- हरिया सामग्री : यस्ता सामग्रीमा नाइट्रोजनलगायत तत्वको मात्रा अत्यधिक हुन्छ, जसले कम्पोष्टका लागि आवश्यक ताप उत्पन्न गर्न सघाउँछ । तापको उचित समायोजनका लागि कलिलो झारपात (बीउ उत्पन्न हुनुअघिको), कुखुरा, खरायो, परेवालगायतको सुली तथा घाँस,पराललगायतको प्रयोग गर्न सकिन्छ । फलफूल तथा तरकारीका अतिरिक्त भाग र चियापत्तीलाई समेत उपयोग गर्न सकिन्छ ।

- खैरो सामग्री : यी सामग्रीमा कार्बनको मात्रा बढी हुन्छ । कम्पोष्टमा यसले फाइबरको काम गर्छ । यसका लागि झरेका पात, सुकेका बिरुवा, परालका मसिना टुक्रा, कुहिएका फूललगायतको प्रयोग गर्न सकिन्छ ।

कम्पोष्टमा प्रयोग गर्न सकिने अन्य वस्तुमा पेपर (कागज) टावेल, पेपर ब्याग, कटनका कपडा, अण्डाको बोक्रा, मानव तथा जीवजनावरको रौं आदि पर्दछन् ।

३. हावा :
हावाविना पनि कम्पोष्ट तयार गर्न सकिन्छ । यस प्रक्रियालाई ‘एनएरोविकल प्रोसेस’ भनिन्छ । यस प्रक्रियामा विभिन्न ब्याक्टेरियाको सहयोगले कम्पोष्टको निर्माण हुन्छ । यसको गन्ध लसुनको जस्तो हुन्छ । तर, यो प्रक्रिया प्रयोग गर्दा झिँगा, भुसुनालगायतको समस्या देखिन पनि सक्छ । त्यसैले, पर्याप्त मात्रामा हावाको उपयोग गरेर कम्पोष्ट बनाउन नै सजिलो हुन्छ । हावाको प्रयोग गर्दा समयसमयमा कम्पोष्टलाई पल्टाउने गर्नुपर्छ । कम्पोट अझ गुणस्तरीय बनाउन खैरो वा सुक्खा सामग्री पनि थप्नु राम्रो हुन्छ ।

४. पानी :
कम्पोष्टको थुप्रोमा पर्याप्त मात्रामा पानीको समेत व्यवस्था गर्नुपर्छ । आवश्यक ओसिलोपनाका लागि कम्पोष्टमा हरिया सामग्रीको प्रयोगसमेत बढाउन सकिन्छ । कम्पोष्ट बिनमा ढक्कनको प्रयोगले ओस जोगाउन सहयोग पुग्छ । तर, कम्पोष्टमा आवश्यकभन्दा बढी पानी भएमा यसले हावा नपाउने सम्भावना हुने भएकाले त्यसप्रति पनि सचेत रहनुपर्छ ।

५. तापक्रम :
कम्पोष्टको निर्माणमा तापक्रम पनि महत्वपूर्ण हुन्छ । यसले कम्पोष्ट कुहिने प्रक्रियाका क्रममा हुने सूक्ष्म जैविक क्रियाकलापबारे सङ्केत दिने गर्छ । कम्पोष्टको तापक्रम जाँच्ने सबैभन्दा सजिलो तरीका यसमा हात राखेर अनुमान लगाउनु नै हो । यो केही न्यानो वा तातो भएमा कुहिने प्रक्रिया राम्ररी चलिरहेको छ भन्ने बुझ्नुपर्छ । तर, कम्पोष्टको तापक्रम बाहिरी वातावरणको तापक्रमको हाराहारीमा छ भने सूक्ष्म जैविक प्रक्रिया राम्ररी नभएको वा ढिला भएको भन्ने बुझिन्छ । यसो भएमा नाइट्रोजनको मात्रा बढी भएका सामग्री कम्पोष्टमा थप्नुपर्छ ।

६. माटो वा कम्पोष्टको धुलो :
यो प्रक्रिया अनिवार्य नै त छैन । तथापि, बनाउँदै गरेको कम्पोष्टमा थोरै मात्रामा बगैंचाको माटो वा भर्खरै तयार भएको कम्पोष्टको केही मात्रा मिलाउँदा यसले कम्पोष्टमा ब्याक्टेरियालगायत सूक्ष्म जीवाणुको मात्रा समायोजनमा सहयोग पुर्‍याउँछ । साथै, यसबाट कम्पोष्ट प्रक्रियालाई छिटो र छरितोसमेत बनाउँछ । यदि तपाईं बगैंचाबाट विरुवा उखेल्दै हुनुहुन्छ भने त्यसको जरासँग टाँसिएर आएको माटो यसका लागि पर्याप्त हुन्छ ।

मिसाउने तरीका: 
कम्पोष्टका लागि विभिन्न सामग्री तह मिलाई बिनमा राख्नुपर्छ । यी सामग्री एकअर्काको सम्पर्कमा हुने गरी मिलाएर राख्न सके झनै राम्रो हुन्छ । यसका लागि कुनै पनि सामग्रीको ठूलो थुप्रो बनाएर राख्नुहुँदैन । विषेशगरी हरिया सामग्रीलाई एकै ठाउँमा थुप्रो बनाएर राख्दा कम्पोष्ट बिग्रने सम्भावना रहन्छ ।

कम्पोष्ट बनाउने प्रक्रिया: 
पहिलो तह (तल्लो तह)को शुरुआत हलुका वजनको खैरो सामग्रीबाट शुरू गर्नुपर्छ । यसले तल्लो तहमा हावाको राम्रो सञ्चार गर्न सहयोग मिल्छ । सामग्री मिसाउँदा तीन भाग खैरो सामग्रीसँग एक भाग हरियो सामग्री (३:१ अनुपातमा) मिसाउनु उचित हुन्छ । कम्पोष्टका लागि आवश्यक तह बनाउँदा थप ओसको आवश्यकता भएमा त्यसमा पानी छर्कन पनि सकिन्छ ।

सम्भव भएसम्म हरेक दिन र नभएमा कम्तीमा एक वा दुई हप्तामा एकपटक कम्पोष्टको ढिक्कालाई तलको माथि र माथिको तल हुने गरी राम्रोसँग पल्टाउनुपर्छ । यसका लागि पहिलो बिनको आकारको थप बिन प्रयोग गर्नु राम्रो हुन्छ । यसो गर्दा कम्पोष्टमा हावाको राम्रो प्रवाह हुन्छ, जसबाट कम्पोष्ट सहजै कुहिन सक्छ ।

कम्पोष्ट गर्न नहुने वस्तु: 
मासु, हाड, प्लाष्टिक, सिन्थेटिक फाइवर, तेल वा चिल्लो पदार्थ, दिसालगायत वस्तु कम्पोष्टका लागि प्रयोग गर्नु हुँदैन । यस्ता वस्तु सहज रूपमा नकुहिनुका साथै प्रयोग गर्दा दुर्गन्ध फैलिएर स्वास्थ्यमा समेत हानि पुर्‍याउन सक्छ । त्यस्तै, ब्रेड (पाउरोटीलगायत), पास्ता, पकाएका खाना आदि चाँडै कुहिने हुनाले तिनको पनि प्रयोग गर्नुहुँदैन । किनकि, चाँडै कुहिने भएकाले यिनीहरूबाट झोलीय पदार्थ उत्पन्न हुन्छ, जसले गर्दा आवश्यक मात्रामा ताप उत्पन्न हुन पाउँदैन र अन्य पदार्थको कुहिने प्रक्रिया ढिलो हुने सम्भावना रहन्छ ।