Latest From our Blog

हे: आहाराको कमि हुदा अभाव पूर्ति गर्ने सजिलो तरिका!

घाँसको पौष्टिकता र उत्पादनलाई कम हुन नदिई उपयुक्त समयमा हरियो घाँस काटेर घाम वा छायामा सुकाई सुरक्षित गरी राखेको सुकेको घाँसलाई हे भनिन्छ । घाँसको किसिम अनुसार यसलाई लेग्युम हे, नन लेग्युम हे र मिश्रित हे भन्न सकिन्छ । हे बनाउनका लागि नरम खालको डाठ हुने घाँस उपयुक्त हुन्छ । जस्तै  दिनानाथ, जै, बरसिम, भेच, बोडी, लुसर्न, गिनी, स्टाइलो, मोल्यासेस, सिग्नल, सिराट्रो, सटेरिया आदि । लगभग १० प्रतिशत जति फूल फूल्ने बेलामा घाँस काटेर घाममा सुकाउनु पर्दछ । पानीमा नभिज्ने र छिटो सुक्ने गरी बनाएको हे राम्रो गुणस्तरको हुन्छ ।

हे बनाउनको लागि उपयुक्त घाँसहरु

हे बनाउनको लागि पातलो डाठ भएका खास गरेर कोसे तथा अकोशे घाँसहरु उपयुक्त मानिन्छन् । जस्तै जै, बर्सिम, लुसुर्न, बाडी, सिमी तथा स्थानीय नरम घासहरु । व्यवसायीक फार्ममा यस्ता घासहरुको खेति गरीन्छ । मोटो डाठ भएका घासहरु मकै ज्वार, बाजरा आदिलाई राम्रोसँग थिचेर टुक्रा बनाएर हे बनाउन सकिए तापनि यिनीहरु साइलेज बनाउन नै उपयुक्त हुन्छन् ।

हे बनाउन घासको उपयुक्त अवस्था

कलिलो अवस्थाको घासमा मा पौष्टिक तत्वहरु अधिकतम मात्रामा हुने तर घाँस नपर्ने हुन्छ । घाँस छिप्पिदै जाँदा पौष्टिक तत्व कम हुँदै जान्छ । त्यसैले हे बनाउँदा घाँसलाई त्यतिखेर काट्नु पर्दछ जतिबेला हरियो घाँसको उत्पादन र त्यस्मा पाइने पौष्टिक तत्वको राम्रो सन्तुलन भएको हुन्छ । हे बनाउनको लागि घाँस फुल्नुभन्दा केही अगावैमा राम्रो हुन्छ ।

व्यवसायीक फार्ममा हे बनाउने तरिका

क) वर्षायाम वा हिउदमा पाइने हरियो घाँसलाई अलिअलि फुल्न लागेको बेलामा काट्नुपर्छ ।

ख) काटेको घाँसलाई ३ देखि ४ दिन घाममा सुकाउनुपर्दछ । दिनको ३,४ पटक सुकाएको घाँसलाई ओल्टाई पल्टाई गर्नुपर्दछ यसले दुवैतिर राम्रोसँग सुक्ने हुन्छ ।

ग) घाँसमा पानीको मात्रा १५ देखि २० प्रतिशतमा झरेपछि हे तयार हुन्छ ।

घ) तयार भएको हे हरियो रंगको र मिठो बास्नायुक्त हुनु पर्दछ । हे हरियो भएमा क्यारोटिन नामक तत्व पाइन्छ जसबाट शरीरमा भिटामिन ए आपूर्ति हुन्छ ।

ङ) तयार भएको हेलाई संकलन गरी बिटा बाधेर सुरक्षितसाथ भण्डारण गर्नु पर्दछ ।


हे बनाउदा ध्यान दिनु पर्ने बुदाहरु


क) हे मा १५ देखि २० प्रतिशत मात्र पानीको मात्रा हुनुपर्दछ । हे बढी सुक्यो भने घाँसपात धूलो हुने र पात झर्ने भई पशुहरुले खान रुचाउदैनन् । २० प्रतिशतभन्दा बढी पानीको मात्रा रहेमा ढुसी लाग्ने हुन्छ ।

ख) बिउ वा दाना लागिसकेको घाँसबाट हे बनाउदा घासमा पौष्टिक तत्व ज्यादै कम हुन्छ ।

ग) हे सुकाउदा एकापट्टी मात्र धेरै बेरसम्म सुकायो भने पातहरु झर्छन् । घाँसको डाठमा भन्दा पातमा बढी पौष्टिक तत्व पाइने हुदा पातलाई झर्नबाट बचाउन दिनको ३ देखि ४ पटकसम्म पल्टाउनु पर्दछ ।



गाउँघरमा हे बनाउने तरिका

श्रावण देखी असोज सम्म प्रसस्त मात्रामा घाँस पाईने हुनाले सो अवधीमा गाई भँैसी पनि चिल्ला र स्वस्थ देखिन्छन । तर फेरी जाडो मौसम सुरु भएपछि पुन आहाराको कमि हुन जान्छ र त्यस्तो मौसम अनुसारको आहारा उपलब्धताको खाडललाई हे बनाएर पूर्ति गर्ने चलन छ । नेपालको उच्च पहाडि भेगमा घास बढि उत्पादन भएको बेलामा संकलन गरी घाममा सुकाएर हे बनाउने चलन छ । घासको संकलन मंसिर महिनामा गर्ने चलन भएकोले त्यसबेलामा घास छिपिएर सुकिसकेको हुन्छ ।

त्यसकारण यस किसिमले बनाएको हे पराल जस्तै हुन्छ र धेरै मात्रामा पौष्टिक तत्व नास भएको हुन्छ । आफुलाई घास सुकेको लागेपछि हे लाइ पराल जस्तै गरी रुखमा टौवा बनाई राख्ने चलन छ । हे बनाउने घाँसलाई फूलफुल्ने समयमा नै संकलन गरी हे बनाएर राख्न सकेमा पौष्टिक तत्व नास हुन पाउने थिएन र पोसीलो हे गाई भैँसीलाई उपलब्ध हुने थीयो ।