Latest From our Blog
प्रांगारिक आलु खेतीमा कालोखोस्टे रोग र त्यसको व्यवस्थापन!!
आलु नेपालमा धान, गँहु र मकै पछिको चौथो महत्वपूर्ण वाली मानिन्छ । यो वाली नेपालमा करिव डेढलाख हेक्टर क्षेत्रफलमा खेती गरिन्छ भने यसको औषत उत्पादकत्व १३.०९ मे.टे. प्रतिहेक्टर रहेको छ । यसको उत्पादकत्व विकसित देशको तुलनामा निकै कम छ । जस्तै युरोपियन देशहरुमा आलुको उत्पादकत्व ४० देखि ४५ मे.ट. प्रति हेक्टर रहेको छ । आलुको उत्पादकत्व कम हुनुका थुप्रै कारणहरु मध्ये रोग पनि एउटा महत्वपूर्ण कारण हो । आलुको कालो खोस्टे रोग एउटा महत्वपूर्ण रोगको रुपमा आई रहेको छ । नेपालमा लगातार लामो समय सम्म आलु खेती गरिने ठाउँमा यसको प्रकोप बढ्दै गइरहेको पाइएको छ । यो रोगले आलुको उत्पादकत्व घटाउने भन्दा पनि गुणस्तरमा ह्रास ल्याई बजार मूल्यमा असर गर्दछ ।
यो रोग राइजोक्टोनिया सोलानी नामक ढुसीबाट लाग्छ । नेपालमा यस ढुसीको उपवर्ग (Race 1)पाइएको छ । नेपालको पश्चिम तराईमा यसको समस्या अलि बढि पाइएको छ । हलुका, बलौटे, दोमट माटो र चिसो र आद्र्र मौसममा आक्रमण बढी हुन्छ । यस रोगले आलु बाहेक सिमी, केराउ, गाँजर, गोलभेंडा, मुसुरो, धानमा पनि आक्रमण गर्दछ । यस रोगले आलुको बाहिरी सतह कुरुप बनाउँछ र बजार मूल्य घटाउँछ ।
नेपालमा यो रोगको कारणले पाँच देखि ६० प्रतिशतसम्म उत्पादन घटेको पाइएको छ । बर्दियाको मैनापोखर क्षेत्र आलुको बीउ उत्पदनको लागि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा विगत दश वर्ष यता कालो खोस्टे रोगको प्रकोपले यस क्षेत्रका बीउ उत्पादक कृषकहरु नराम्ररी प्रभावित भएका छन् ।
यस क्षेत्रमा उत्पादित आलुको बीउ मध्ये र सुदुर पश्चिम लगायत देशका विभिन्न ठाँउमा जाने गर्दछ । यसले बीउको माध्यामबाट सर्न गई खेतमा एक पटक स्थापित भयो भने देशका मुख्य क्षेत्रलाई रोगको प्रकोपले नोक्सान गर्ने सम्भावना देखिन्छ ।
लक्षण
रोगी बोटको डाँठको फेदमा वरिपरिबाट काला दागहरुले घेर्दछन र विरुवा ओइलाउँछ र मर्न पनि सक्छ । आक्रमण कम भएमा बोटमा जमिन बाहिर दाना लाग्न थाल्छ । पात बाक्लो भएर माथितिर दोब्रिएर जान्छ र जसको रङ्ग हल्का रातो देखिन्छ ।
रोगले टुसा, डाँठ, जरा, पात र अरु भागमा आक्रमण गर्छ । आक्रमण धेरै भएमा रोगी भाग मर्छ ।
रोगी बीउ रोपेमा त्यहींबाट आक्रमण भएर जमिन सतहमा निस्किन लागेका टुसाहरु मर्छन् र आद्र्र मौसममा रोग लागेमा बिरुवाको डाँठको फेदमा सेतो ढुसी उमे्रको देखिन्छ । रोगी आलुको वृद्धि विकास पूरा हुन सक्दैन । यस्ता बोटका काण्डमा विभिन्न किसिमका अस्पष्ट काला थोप्ला देखा पर्दछन् ।
यस्ता रोगी आलुका बोक्रा पानिले सजिलैसँग सफा हुँदैनन् र रोगले आक्रमण गरेका बोटहरु लक्षण नदेखाई रहन सक्दछन् र यस्ता आलु भण्डार गरिएको ठाउँमा सड्दछन् र सडेनन् भने अर्को वर्ष रोग फैलाउँने मुख्य स्रोतको रुपमा काम गर्दछन् ।
व्यवस्थापन
आलुमा कालोखोस्टे रोगको व्यवस्थापन एक चुनौतीपूर्ण कार्य हो । यो माटो र बीउ दुबैबाट सर्ने रोग भएकोले यसको व्यवस्थापन कठिन भएको हो । त्यस्तै एक पटक माटोमा स्थापित भयो भने यो रोगको कारक ढुसी लामो समयसम्म बाँच्न सक्छ । त्यस्तै ढुसीले आफूलाई कठिन अवस्थामा वाँच्नको लागि निष्कृय संरचना (स्केलरोसिया) बनाउँछ । तथ्यहरुले यी स्केलेरोसिया माटोमा ६ वर्षसम्म बाँच्न सक्ने देखाएको छ ।
कालो खोस्टेको व्यवस्थापनको लागि एउटा मात्र व्यवस्थापन विधि भन्दा पनि एकिकृत रोग व्यवस्थापन तर्फ ध्यान दिनु पर्दछ । जस अन्तरगत कल्चरल, रसायनिक तथा जैविक विधिहरुको प्रयोग गर्नु पर्दछ । कालो खोस्टे रोग आलुको जात अनुसार रोग लाग्ने वा नलाग्ने विषयमा थुप्रै अध्ययन भए पनि स्पष्ट रुपमा रोग सहनसक्ने जातको पहिचान हुन सकेको छैन ।
केही ढुसिनासक विषादीहरु बेनोमिल, क्लोरेनेब तथा पेन्टोक्लोरोनाइट्रोबेन्जिन (क्यनौटोजिन) जस्ता विषादीहरु धेरै वालीमा राइजोक्टोनियाले लाग्ने रोग व्यवस्थापनमा प्रभावकारी भेटिएका छन् । यी विषादीहरुलाई वैज्ञानिकहरुले बीउ तथा माटो उपचार, तथा पातमा स्प्रे गर्न सल्लाह दिएको पाइन्छ । त्यस्तै कतियप वैज्ञानिकहरुले यी विषादीले बीउको उपचारगर्दा पनि रोग प्रभावकारी रुपबाटनियन्त्रण भएको जनाएका छन् ।
विगतमा भएका विभिन्न अनुसन्धानहरुले यस रोगको व्यवस्थापनका लागि विभिन्न सिफारिसहरु गरेका
छन् । जस मध्य सोडिएम हाइपोक्लोराइडले बीउको उपचार गर्ने । एक प्रतिसत एसिटक एसिड र
०.०५ प्रतिसत जिंक सल्फेटको मिश्रणमा १५ मिनेट डुबाउँदा आलुको बीउमा भएका कालो खोस्टेका
स्कलेरोसिया मर्ने गर्दछ ।
त्यस्तै २ प्रतिशत फर्मलडिहाइडको झोलमा आलुको बीउलाई २ मिनेट डुबाउँदा पनि रोग प्रभावकारी रुपमा नियन्त्रण हुने कुरा व्याख्या गरिएको छ । त्यस्तै स्वस्थ बीउ मात्र प्रयोग गर्ने, माटो र वायुमण्डलमा बढि चिस्यान भएको बेला आलु नरोप्ने, बीउ रोप्दा ५ से.मी. भन्दा गहिरो नरोप्ने तथा उचित मलजल दिएर निरोगी बिरुवा हुर्काउँदा पनि रोगको वृद्धि विकास हुन पाउँदैन ।
त्यस्तै आलु छिप्पि सके पछि चाँडै खन्दा रोग फैलिन पाउँदैन भने मकै तथा अन्य अन्न बालीसँग उचित र उपयुक्त घुम्ति वाली प्रथा अपनाउँदा रोगको प्रकोप कम भएर जान्छ ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुराले आ.व. २०७१÷७२ र ७२÷७३ मा बर्दियाको मैनापोखरमा कालो खोस्टे रोगले ग्रसित खेतमा गरेका अध्ययनमा राखिएका विभिन्न परिक्षणहरुमा बेभिष्टिन, किक तथा ट्राइकोडर्माले उपचार गरेकोमा सवैभन्दा बढि उत्पादन पाइको थियो भने खजुराको माटोबाट पृथकिकरण गरिएका ट्राइकोडर्माले उपचार गरेको आलुमा रोगको प्रकोप सवैभन्दा कम पाइएको थियो ।
रोगको प्रकोप कम भएपनि ३ प्रतिशत बोरिक एसिडको घोलमा उपचार गरेको आलुको उत्पादन सवैभन्दा कम पाइएको थियो । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कालो खोस्टे रोगको व्यवस्थापनको लागि ट्राइकोडमाको स्थानिय पृथक प्रयोग गरी प्रभावकारी रुपबाट नियन्त्रण गर्न सकिन्छ ।
बोरिक एसिडले बीउको मुना मार्ने हुँदा रोप्नेबेला बीउ उपचार गर्दा रोगको प्रकोप घटे पनि उत्पादन नबढेकोले यदि बोरिक एसिडले उपचार गर्नेहो भने भण्डारण गर्ने बेला उपचार गर्न सल्लाह दिइन्छ । त्यस्तै किक र वेभिष्टिनले बीउ उपचारको अलवा लगाउने कुलोमा विषादी हाल्दा रोग प्रभावकारी रुपबाट नियन्त्रण भई उत्पादन र गुणस्तर बढाउँन सकिन्छ तर माटोमा विषादीको प्रयोग आर्थिक रुपमा त्यति नाफामूलक नहुन सक्छ ।
रामबहादुर खड्का, वैज्ञानिक,
रन्जना रावल, वैज्ञानिक
मदन मरासिनि, प्राविधिक अधिकृत,
सुष्मा घिमिरे, प्राविधिक अधिकृत
गोपिकृष्ण श्रेष्ठ, प्राविधिक सहायक,
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा