Latest From our Blog
व्याउने गाई भैँसीको हेरचाह कसरी गर्ने त? यी १६ कुरामा ध्यान दिनुहोस्!
गाई भैँसीको व्यवसायको सफलता पशुहरुको हेरचाह एवं व्यवस्थापन पक्षसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गर्दछ । यो व्यवसायमा धेरै जोखिमहरु छन् र पशुपालन व्यवसायीले निकै सतर्कमा अपनाउनुपर्ने हुन्छ । गाई भैँसीपालक कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा यसरी प्रष्ट्याउन सकिन्छ ।
१. साधारणतया वाली गएको २८० दिनमा गाई र ३१० दिनमा भैंसी व्याउने गर्दछन् । त्यसैले कृषकहरुले आफ्नो पशु व्याउने सम्भाव्य मिति याद गरी राख्नु पर्छ ।
२. गाई भैंसी व्याउने सम्भाव्य मिति भन्दा केही दिन अगाडि देखि पशुलाई थोरै समय हल्का हिँडडुल गराउनु राम्रो हुन्छ । यसो गर्नाले गाई भैँसी व्याउने समयमा हुन सक्ने सम्भावित कठिनाइहरु जस्तैः बच्चा अड्किने, भण्डार फर्किने जस्ता समस्याहरुमा केही हदसम्म कमी आउँछ ।
३. व्याउने माउलाई व्याउनु भन्दा २–३ हप्ता अगाडि देखि बथानबाट अलग राख्नु पर्दछ । यस्ता पशुहरुलाई सार्वजनिक ठाँउमा छोड्नु हुँदैन नत्र आपसमा जुधेर तुहिने डर हुन्छ ।
४. गाई÷भैंसी व्याउने मिति भन्दा करीब २ महिना अगाडि देखि दूध दुहुन बन्द गर्नु पर्दछ । यसो गर्नाले माउको शरीर कमजोर नहुने एवं आगामी वेतको दूध उत्पादन बढ्नुका साथै गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति समेत हुन्छ । दूध दुहुन बन्द गर्दा एकै पटक नगरी क्रमिक रुपमा गर्नुपर्छ जस्तै एक छाक
दुहुने, दिन बिराएर दुहुने गर्दै बन्द गर्नु पर्छ ।
५. गाई÷भैंसी व्याउनु भन्दा एक हप्ता अगाडि देखि अलग्गै व्याउने कोठामा राख्नुपर्दछ । यदि गोठमा अलग्गै कोठा छैन वा सानो संख्यामा मात्र पशुहरु पालिएका छन् भने त्यही गोठलाई राम्रोसँग सफा गरेर फिनाइल पानी वा चून छर्केर ओभानो सोतर राखी व्याउने माऊलाई राख्ने व्यवस्था मिलाउनु पर्दछ । व्याउने पशुलाई राख्ने गाठको भूँई
अगाडि पट्टी होचो र पछाडि केही अग्लो हुने गरी बनाउनु पर्दछ । यसो गरेमा गाई भैँसीमा भण्डार फर्कने समस्या कम हुन्छ ।
६. व्याउने अवस्थाका गाई भैँसी राखिने गोठ हावादार एवं सूर्यको प्रकाश आउने किसिमले बनाइएको हुनु पर्दछ ।
७. व्याउने समयावधि पुगेको अवस्थामा कल्चौडो टन्न परेको, सूत फुलेको र पुच्छरको फेदमा खाल्डो परेको हुन्छ । यसलाई पौंठा बसेको भनिन्छ ।
८. शारीरिक अवस्था राम्रो भएका पशुहरु स्वस्थकर अवस्थामा विना कुनै सहयोग व्याउन सक्दछन् । यद्यपि व्याउने समय भएको बेला सहयोगको लागि तयार भएर बस्नु बेस हुन्छ ।
९. व्याउने समय पुग्नु केही दिन अगाडिदेखि पशुलाई हल्का नरम किसिमको मिलेसम्म कोसे घाँस दिनुपर्दछ र दाना केही कम दिनुपर्दछ जसले गर्दा कव्जियत हुन पाउँदैन र व्याउन सजिलो हुन्छ साथै भण्डार फर्कने डर पनि कम हुन्छ ।
१०. साधारणतया व्याउने व्यथा लागेको ३–४ घण्टामा माउ पशु व्याईसक्नु पर्दछ । यदि यो समयमा व्याउन सकेन भने डिस्टोकिया भएको हुन सक्दछ । यस्तो समयमा पशु चिकित्सक एवं प्राविधिकको सहयोग लिनु आवश्यक हुन्छ।
११. व्याएको ३–४ घण्टामा साल झर्नुपर्दछ । यदि ५–६ घण्टासम्म पनि साल झरेन भने तरुन्त पशु चिकित्सकसंग सम्पर्क राख्नुपर्दछ ।
१२. व्याएको पशुको साल नझरेसम्म पशुलाई एक्लै छोडेमा साल खाने डर हुन्छ । साल खाएमा दूध सुक्ने हुन सक्छ ।
१३. धेरै दूध दिने पशुहरुलाई मिल्क फिभर भन्ने रोग (सिताङ्ग) लाग्न सक्दछ । मिल्क फिभर हुने सम्भावना भएमा तुरुन्तै कयाल्सियम दिने व्यवस्था गर्नुपर्दछ । गर्भिणी अवस्थाको अन्तिम महिनातिर दानामा क्याल्सियम मिसाएर दिने गर्नुपर्दछ ।
१४. पशु व्याएपछि तुरुन्तै बाच्छा–बाच्छी पाडा–पाडीहरुलाई पुछिदिने र माउको नजिकै चाट्न सक्ने गरी न्यायो ओभानो ठाउँमा राखी दिनुपर्दछ । व्याएको माउको सूत वरपर कल्चौडो पछाडिको भागमा सफा गरी बाच्छा–बाच्छी पाडा–पाडीलाई दूध चुसाउने गर्नुपर्दछ । दूध चुसाउनु अघि सबै थुनबाट २–४ सिर्का दूध दुहेर फ्याँकि दिनुपर्दछ ।
१५. पशु व्याउने वित्तिकै विगौती दूध दुहुनु पर्दछ र दूध दुहदा सबै दूध निखारेर दुहुनु पर्छ । यसले गर्दा थुनेलो हुन पाउदैन ।
१६. व्याएको माउलाई मन तातो खोले अथवा सख्खर र पानी मिलाएर खान दिनुपर्दछ । यसबाट गाई भैँसीलाई तुरुन्त शक्ति प्राप्त भई स्वास्थ बन्न सहयोग पुग्दछ ।