Latest From our Blog
रेड क्लोभर (Red clover) Trifolium pratense L. घाँस बारे बुझौं!
परिचय : यो रातो फूल फुल्ने क्लोभर हो । शीतोष्ण जलवायुमा हुने यो सेतो क्लोभरभन्दा बढी उब्जा दिने महत्वपूर्ण बहुवर्षीय (Short-liveed perennial) घाँस हो । यो चरन–घाँस भएपनि यसलाई काटेर र हे बनाएर पनि खुवाउन सकिन्छ । यसले माटोमा नाइट्रोजन स्थिरीकरण गर्ने र भू–संरक्षणमा पनि मद्दत गर्नेगर्छ । रेड क्लोभर बढी खाएमा गाईबस्तुमा पेट ढाडिने (Bloat) समस्या देखा पर्न सक्दछ ।
जातहरू : नेपालमा क्लोभर राणाकालदेखि नै भित्रिएको हो । पछि गएर अर्थात् सन् १९५४ तिर काठमाडौं उपत्यका तथा चिज Çयाक्ट्री वरपर यी जातका साथै अन्य चरन घाँसका बीउहरू छरिएका थिए । जसमा डेवान, ब्रोडलिफ, रेडक्वीन, मोन्टोगोमेरी, रेनोभा, च्यान्जिन्स,पवेरा, करिम, आरलिङटन, केन्सटार, सिरसा, पीआरसी ३ आदि रहेका छन्।
बीउ छर्ने समय : हिउँ नपर्ने क्षेत्रहरूमा असोज तिर र हिउँ पर्ने क्षेत्रहरूमा जेठ–असारमा साधारण खनजोत गरी रेड क्लोभरको बीउ छर्नुपर्छ ।
मलखाद : यसलाई सुरुको अवस्थामा नाइट्रोजन मलको आवश्यकता भएतानि प्रशस्त मात्रामा फस्फोरस र पोटास चाहिन्छ । त्यसैले प्रतिहेक्टर कम्पोष्ट मल ६ टनका साथै नाइट्रोजन २५ किलोग्राम, फस्फोरस ४० किलोग्राम र पोटास ३० किलोग्रामका दरले खेतमा राख्नुपर्छ ।
पौष्टिकतत्व : यो लेकाली क्षेत्रको सबैभन्दा पोषिलो घाँस हो । यसमा कच्चाप्रोटिन १७ देखि ३३% सम्म पाइन्छ ।
बीउदर : यो घाँस लगाउनका लागि प्रतिहेक्टर ८–१० किलोग्रामका दरले बीउ छरिन्छ ।
बीउ लगाउने दूरी : बीउ छर्दा ४५ से.मी.को लहर बनाई छरेमा यसबाट राम्रो उब्जा लिन सकिन्छ । यस घाँसको खेती गर्दा पुरानो बिरुवाबाट हाँगा सारेर रोपेमा चाँडै हरियो घाँसको उत्पादन लिन सकिन्छ । यसरी बेर्ना सार्दा ५० सेन्टिमिटरको लाइनमा बिरुवालाई ३० सेन्टिमिटरको फरक पारेर रोप्नुपर्छ ।
सिँचाइ : सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ गरेमा बढी उब्जा लिन सकिन्छ ।
रोग तथा कीरा : यसमा पनि साधारण रोग तथा कीरा लाग्दछन् । उपयुक्त जातको प्रयोग तथा उचित व्यवस्थापन अपनाएर रोग तथा कीराबाट हुने हानी–नोक्सानी कम गर्न सकिन्छ ।
उत्पादन : बीउ छरेको करिब दुई–तीन महिनामा पहिलो पटक यो घाँस काट्न लायक हुन्छ । त्यसपछि ३०–३५ दिनको अवधिमा दोस्रो कटाइ लिन सकिन्छ । रेड क्लोभरबाट वर्षमा कुल ४० देखि ६० टन प्रतिहेक्टर हरियो घाँसको उत्पादन पाइन्छ ।