Latest From our Blog
गड्यौला पालन गर्ने तरिका!! SHARE गरी सबैमाझ पुर्याउ!
१. १ मिटर चौडाई, ६० सेमि उचाई, ५ मिटर लम्बाई (आफ्नो आवश्यकतानुसार जति पनि राख्न सकिन्छ) को पीट तयार गर्ने । भूईं ढलान गरेर प्लाष्टर पनिँग गर्ने, हल्का भिरालो बनाउने र होचो भाग तिर १/२ इन्चीको पाइप राख्ने।
२. आफ्नो स्रोत अनुसार पीट जति पनि बनाउन सकिन्छ, माथिबाट घाम पानी बाट बंचाउन खर, पराल, एलिभेस्टर वा सिल्पालिन प्लाष्टिक सेटले छाउने, सकभर तातो रोक्ने छानो बनाउने ।
३. गड्यौला राख्नु भन्दा पहिले १५-२० दिन खात लगाएर ताते पछि सेलाएको गोबरलाई प्रयोग गर्नु पर्दछ। तल घाँस परालको सोतर एक तह राख्ने, त्यसमाथि सेलाएको गोबरको तह राख्ने, सोतर राम्ररी भिजेको हुनु पर्छ । यसै गरी तह-तह गरी राख्ने । माथिल्लो तहमा गोबर मसिनो बनाएर राख्ने, भए सम्म गोबर ग्याँसको स्लरी राख्दा हुन्छ ।
४. गोबर भरिसकेपछि एक छेउ बाट गड्यौला छोड्ने । गड्यौला धेरै भए फरक पर्दैन, प्रति वर्ग फिट २०० का दरले राख्दा पुग्छ ।
५. माथि बाट जुटको बोराले छोप्ने र हल्का सिंचाई गर्ने ।
६. पीटमा जम्मा भएको पानी पाइप बाट बाहिर निस्कन्छ, त्यसलाई भाँडोमा जम्मा गर्ने र पातलो हुँदासम्म पानीको सट्टा प्रयोग गर्ने बाक्लो वा गाढा कालो भए पछि ड्रममा जम्मा गर्ने । यसलाई vermiwash भनिन्छ। यो अति राम्रो मल हो, १:४ को अनुपातमा पानी मिसेर बिरुवामा छर्न वा फेदबाट दिन सकिन्छ।
७. गड्यौलाको बेडिँगमा गल्ने, कुहिने सबै कुरा राख्न सकिन्छ तर लसुन, प्याज, माछामासु राख्न हुँदैन । प्लाष्टिक, नाइलन, ऊन जस्ता नगल्ने र नकुहिने वस्तु नराख्ने ।
८. गड्यौला चिस्यान रुचाउने जीव हो किनभने यसको शरीरमा पानीको मात्रा बढी हुन्छ र शरीरको पानीको मात्रा कायम राख्न चिसो ठाउँमा बस्न रुचाउँछ । तसर्थ गड्यौलाको बेडमा ६०-६५% चिस्यान हुनु आवश्यक हुन्छ । ३५ डि.से. भन्दा बढी तापक्रम र १० डि. से. भन्दा चीसोमा गड्यौला फस्टाउन सक्दैनन् र क्याप्सुल बनाएर गुडुल्किन्छन् । बेडिँग माथि राखिएको बोरालाई चीसो (भिजेको) बनाइराख्नु पर्दछ ।
९. गड्यौलाले तल फर्केर खान्छ र कास्टिँग माथि सतहमा विसर्जन गर्छ । माथिल्लो सतहमा एक बित्ता जति मल थुप्रिए पछि हल्का संग सोहोरेर नजिकै छुट्टै पीट बनाई मल थुपार्नु पर्छ, यसो गर्दा मलमा भएका कोकूनहरु Hatching कोरलिन पाउँछन् । बेडिँग वा पीटमा मल तयार भैसकेपछि ३ एम.एम. को चाल्नाले चालेर गड्यौला र मल छुट्याउनु पर्छ । गड्यौलासँग गेडामल र नपचेका मल तथा अन्य वस्तु हुन्छन्, त्यसबाट गड्यौला छुट्याउन उज्यालोमा लगेर प्लेनसिट वा प्लाष्टिकमा लाम्चो पारेर थुप्र्याउने र उज्यालो बढी पार्ने ( CFL चिम ) बाल्न सकिन्छ । गड्यौलाले प्रकाश मन नपराउने भएकाले गड्यौला जति तल जम्मा हुन्छन माथि भएको मललाई सोहोरेर जम्मा गर्न सकिन्छ ।
मेरो अनुरोध!!
=========
गड्यौला मल प्राङ्गरिक (अर्गानिक) खेतीको लागि अति उत्तम मल हो । हुनत अहिले विभिन्न नामबाट प्राँगारिक र जैविक मल उत्पादन भएका छन्, ति सबैमा एकै मात्रामा पोषण तत्वहरु नहोलान्, तैपनि मात्राको कम-बेसी प्रयोग गरेर अर्गानिक, प्राँगारिक खेती गर्न सकिन्छ, तापनि आफैंले गड्यौलामल उत्पादन गरेर प्रयोग गर्दा सस्तो र भरपर्दो हुने भएकोले सबै कृषकहरुलाई गड्यौला पालन गरी मल उत्पादन र अर्गानिक (प्राँगारिक) खेती शुरु गर्न अनुरोध गर्दछु धन्यवाद । जय किसान ।
भक्त गुरुङ
"श्री नेपाली किसान परीवार"