Latest From our Blog

गाईवस्तुको मलमुत्रले बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने तरिकाहरु!!


२.१ गाईवस्तुको १ लिटर गहुँत १० लिटर पानीमा (१स्१०) मिसाएर प्रयोग गर्दा स्क्वायस (जुकिनी फर्सी को धुले ढुसी रोगका साथै खपटे, चुसाहा र लाही कीराहरु नियन्त्रण गर्न सक्ने पाईएको छ (भण्डारी, २०६३) ।

 

२.२ एक माना गाईको गहुंतमा ७ माना पानी हालेर छर्केमा चुस्ने लाही तथा झुसिल्कीरा र लाभ्रे कीरा नियन्त्रण हुन्छ (पौडेल, २०६४) ।

 

२.३ गाईको गहुंत १ लिटर र आधा किलोग्राम गोवर मिलाई जुट बोराको टुक्रालाई भिजाउने र एउटा लीङ्गको टुप्पामा उक्त बोराको टुक्रा राखि बेरेर धान पसाउन लागेको खेतमा बेलुकी राखिदिएमा धानको दुध चुस्ने गनाउने पतेरो त्यही बोरामा आई बस्दछन् । अनि बिहान सबेरै गई मार्नु पर्दछ (पौडेल, २०६४) ।

 

२.४ गाईबस्तुको मलमुत्र जम्मा गरी त्यसमा पुरानो कपडा भिजाएर झुण्ड्याएमा धानमा लाग्ने पतेरो कीराहरु त्यसमा आकर्षित भई झुम्मिन्छन् र तिनीहरुलाई संकलन गरी नष्ट गर्न सकिन्छ । (भण्डारी, २०६३) ।

 

२.५ गाईको गहुँत १ भाग र पानी ५ भाग मिसाएर बनाइएको घोल छर्कनाले लाही, लाभ्रे र माइट नियन्त्रण हुन्छ । फर्सी परिबारका तरकारी बालीमा लाग्ने धुलो ढुसी रोग नियन्त्रण हुने देखिएको छ (भण्डारी, २०६३) ।

 

२.६. गाईको १ किलोग्राम सुकेको गोवरमा १५ ग्राम सुर्ती मिसाउने र त्यसलाई एउटा भाँडोमा राखी धुवाउने र यो भाँडोलाई तरकारीको वोट मुनी राख्नाले धेरैजसो हानिकारक कीराहरु भाग्दछन् या मर्दछन् । यो प्रक्रिया प्रत्येक हप्ता दोहो¥याउने (भण्डारी, २०६३) ।

 

२.७ गाईको गोवर र गहुँतमा चिम्ट्याईलो माटो मिसाएर बनाईएको ताजा मिश्रणलाई फलफुलको बोट काँटछाँट गरेको हाँगा बिंगामा मलहमको रुपमा लगाउनाले काटिएको ठाउँबाट रोग र कीराका जीवाणुहरु प्रवेश हुन सक्दैन भनिएको छ (भण्डारी, २०६३) ।

 

२.८ बीस कि.ग्रा. राम्रोसंग पाकेको कम्पोष्ट मललाई एउटा कपडा वा जुटको थैला भित्र राखि मुख बाँध्ने। एक पाथी गाईको पिसाव र चार पाथी पानी मीसाई एउटा ड्रममा राख्ने। माथि भने अनुसार तयार गरिएको थैलो लाई ड्रम भित्र राखि डुवाउने र प्रत्येक दिन त्यस थैलो लाई ड्रम भित्र तल माथि गर्दै चलाउने, ७ दिनमा तयार हुन्छ । यसरी तयार भएको १ भाग कम्पोष्टमा १ भाग नै पानी छ मिसाएर ७–७ दिनको फरकमा प्रयोग गर्दा आलु तथा गोलभेण्डा मा लाग्ने डढुवा रोग ७० प्रतिशतले कमी भएको पाईयो । (सापकोटा, २०६२) ।

 

२.९ काँचो गोबर १० कि.ग्रा., खरानी १ कि.ग्रा. जुट वा कपडाको थैलोमा राखी ड्रम भित्र राख्ने र १० लिटर पानी राख्ने। २–२ दिन बिराएर ड्रम भित्रको बोरा चलाउने। २०–२१ दिनमा तयार हुन्छ । नर्सरीका साना बिरुवालाई १ लिटर घोलमा ४ लिटर पानी राखी प्रयोग गर्ने। ठुला बिरुवालाई १ लिटर घोलमा २ लिटर पानी राखी प्रयोग गर्ने । नर्सरीमा बिरुवाको फेद काट्ने कीरा तथा ओईलाउने रोग कम भएको पाइयो। साथै प्राङ्गारिक मलको रुपमा बिरुवालाई खाद्यतत्व उपलब्ध भएको पाईयो (सापकोटा, २०६२) ।

 

२.१०. ५०० ग्राम बोझो, ५०० ग्राम केतुकी, ५०० ग्राम खुर्सानी, ५०० ग्राम सुर्ती र ५०० ग्राम टिम्वुरको पातलाई टुक्रा टुक्रा गरी ड्रममा राख्ने र त्यसमा ५ लिटर गाई भैंसीको पिसाव मिसाउने। २२ दिनपछि बिषादी तयार हुन्छ । १ भाग ड्रमबाट निकालेको झोलमा ८ भाग पानी थपी प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बाट धान तथा गहुँमा लाग्ने डढुवा रोग नियन्त्रण, साना तथा नरम छाला भएका कीराहरु मरेको पाईयो। माटोमा बस्ने हानिकारक कीरा रातो कमिला र झुसिलकीरा भागेको पाईयो (सापकोटा, २०६२) ।

२.११. एक लिटर गाईको गहुँतमा ५ लिटर पानी मिसाई उक्त मिश्रणमा सिस्नो, तितेपाती, बनमारा, केतुकी, खिर्रो आदिका पात र डाँठहरुलाई सानाँसाना टुक्रा बनाई उक्त झोलमा एक हप्ता डुवाई प्रँप्त भएको रसलाई बाली बिरुवामा छर्कनाले प्रायःजसो किराहरुको नियन्त्रण हुन्छ (बाली संरक्षण निर्देशनालय, २०६४) ।

 

२.१२. गाई भैंसीको मुत्रले डाँठ कुहिने रोगको रोकथाम गर्दछ । यसले केहि हदसम्म लाहीलाई पनि नियन्त्रण गर्दछ । पहिला एक चौथाई पानी एउटा भाँडोमा राखिन्छ र पछि १ लिटर मुत्र मिसाईन्छ। यसलाई केही दिनसम्म त्यत्तिकै राखिन्छ । जति धेरै दिन राख्यो उति राम्रो हुन्छ । सानो बिरुवामा १ लिटर मुत्र १० लिटर पानीमा मिसाई प्रयोग गरिन्छ । ठुलो बिरुवामा १ लिटर मुत्रमा ५ लिटर पानी मिसाई प्रयोग गरिन्छ । ३–४ दिनको फरकमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ (एस.एस.एम.पी., २०५९) ।

 

२.१३. धानमा लाग्ने व्याक्टेरियल डढुवा रोगको नियन्त्रणको लागी धानका वोटहरुमा २० ग्राम गाईको गोवर प्रति लिटर पानीमा घोली छर्कनु पर्दछ (कृषि सूचना तथा सञ्चार केन्द्र, २०६२) ।