Latest From our Blog
डालेघाँसहरु कुट्मिरो र बडहरबारे बुझौं!!
कुट्मिरो ((Litsea poliantha/monopotela)
कुट्मिरो एउटा नरम पात र डाँठ भएको डाले घाँस हो । यो घाँस नेपालको मध्य पहाडी भागदेखि भित्री मधेससम्म बारीको कान्ला, खेतबारीको छेउछाउ आदिमा लगाईन्छ । कुट्मिरोको पात मसिना हाँगा बिंगा सवै पशु वस्तुले खुब मन पराएर खान्छन् । यो डाले घाँसको पातमा १४–१६ प्रतिशतसम्म कच्चा प्रोटिन, समय र पालुवाको अवस्था अनुसार ३०–३४ प्रतिशतसम्म सुख्खा पदार्थ १.६६ प्रतिशत क्याल्सियम, ०.३४ प्रतिशत फस्फोरस र २ प्रतिशत ट्यानिन पाईएको छ ।
दूध दिने गाई भैंसी र गोरु आदिको लागि यो राम्रो डाले घाँसमा पर्छ । दुई तिहाई भाग पराल र एक तिहाई भाग कुट्मिरो मिसाएर खुवाउँदा दूध उत्पादन राम्रो हुन्छ । ट्यानिन (tanning) भन्ने टर्रो पदार्थ यस डाले घाँसको नयाँ पालुवामा बढी हुने हुनालेलामो समयसम्म कुट्मिरो मात्र खुवाउँदा पिसावको रंग रातो हुने पनि देखिन्छ । त्यसै कारणले डाले घाँस मात्र नदिई परालसँग दिँदा हरियो घाँसको बचत पनि हुने र उत्पादन पनि राम्रो हुने हुनाले कुट्मिरो अथवा अरु डाले घाँस मात्र नदिई पराल, नल, मकैको खोस्टा आदि मिसाएर खुवाउन राम्रो हुन्छ ।
कट्मिरोको प्रसारण बीउबाट नै राम्रो हुन्छ, बीउ नै चाहिएको ठाउँमा रोप्ने अथवा नर्सरीमा बेर्ना हुर्काएर बेर्ना सार्ने गर्दा पनि हुन्छ । बेर्ना सारेको २–३ वर्षमा नै हाँगा काट्न सकिन्छ, यो डाले घाँस छिट्टै हुर्कने र बारीमा सेप (shedding effect) पनि कम हुने हुनाले बारीको कान्ला र छेउछाउमा लगाउँदा राम्रो हुन्छ ।
बडहर (Artokarpus lakucha)
बडहर नेपालको मध्य पहाडी भागदेखि भित्री मधेससम्म पाईने डाले घाँस हो । यसको पात बाक्लो र बढी सुख्खा पदार्थ हुने हुनाले बढी आडिलो डाले घाँसको रुपमा लिईन्छ । मौसम र हुर्कने समय अनुसार यस डाले घाँसको पातमा ३०–३३ प्रतिशतसम्म सुख्खा पदार्थ , १३–१४ प्रतिशतसम्म कच्चा प्रोटिन, २ प्रतिशतसम्म क्याल्सियम र ०.२७ प्रतिशत फस्फोरस र ०.५७ प्रतिशत ट्यानिन पाईन्छ। बडहरको बेर्ना हुर्काउन र बीउ उमार्न त्यति सजिलो छैन । त्यस कारणले गर्दा यो डाले घाँस राम्रो भएपनि त्यति धेरै ठाउँमा देखिदैंन । बडहरको बेर्ना हुर्काउनको लागि पाकेको फलबाट बीउ निकाली तुरुन्त नै मलिलो माटो भरेको प्लाष्टिक थैलोमा रोपी हाल्नुपर्छ ।
बियाँ सुकेपछि यस्को उर्म्रन सक्ने शक्ति घट्दै जान्छ । बेर्नालाई बेला बेलामा पानी दिएर शितल ठाँउमा राख्नुपर्छ । एक वर्ष नर्सरीमा बेर्ना हुर्काएपछि बारीको कान्ला तथा खाली ठाँउमा सार्नुपर्छ । सारेपछि पनि विशेष ध्यान नदिए यो डाले घाँसको बेर्ना हुर्कन सक्दैन । बेर्ना सारेको ४–५ वर्षपछि मात्र यस घाँसको हाँगा काट्न सकिन्छ । यो डाले घाँसको खेती बालीमा त्यति सेप छैन । यो एक पतझड किसिमको डाले घाँस हो र यसको हाँगा कार्तिकदेखि फागुनसम्म काट्न सकिन्छ ।
लैना भैंसी र दूधालु गाईको लागि परालसँग मिसाएर खुवाउँदा दूध र घिउ उत्पादन राम्रो हुन्छ । सबै जसो डाले घाँसमा ट्यानिन (tanning) भन्ने टर्रो पदार्थ हुन्छ र बडहरको पातमा पनि यो अपच्य पदार्थ हुन्छ तर त्यति बढी नहुने हुनाले दूध उत्पादनमा खासै असर गर्दैन । ट्यानिन (टर्रो पदार्थ ५ प्रतिशतसम्म सुख्खा पदार्थको आधारामा हँुदा केही असर हुँदैन तर ५ प्रतिशत भन्दा बढी भएमा पशुलाई खुवाउँदा (लामो समयसम्म) दूध उत्पादनमा कमी हुने र दुब्लाउँदै जाने हुन सक्छ ।