Latest From our Blog

नीमको प्रयोगले बोट बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने स्थानिय प्रविधिहरु!!

१. नीमको प्रयोग

१.१ नीमको बीउको बोक्रो हटाएर दिउल मात्र जम्मा गर्ने र तिनलाई जाँतो वा ग्राईन्डरमा पिंधेर मसिनो धुलो बनाई निम्न मात्रामा प्रयोग गर्ने। ०.५–१.० किलोग्राम नीमको दिउलको धुलोलाई एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म २० लिटर पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने। यसपछि साबुनको २.० ग्राम धुलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाउने। अब यसलाई बोटबिरुवामा कीटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ (न्यौपाने, २०५७) ।

 

१.२ नीमको बीउबाट बोक्रा हटाउनु त्यति सजिलो छैन । अतः १ किलोग्राम बीउलाई जाँतो वा ग्राईन्डरमा मसिनो गरी पिंधेर धुलो बनाई एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म १० लिटर पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने। यसपछि साबुनको २.० ग्राम धुलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाउने। अब यसलाई बोटबिरुवामा कीटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ (न्यौपाने, २०५७) ।

 

१.३. नीमको फलबाट धेरै प्रकारका कीराहरु मार्न वा हटाउन सकिन्छ । जस्तैः लाही, धानको पात खाने कीरा, बन्दाको गवारो, खपटे कीरा, पात वेरुवा, फल छेड्ने कीरा, धानको गवारो आदि । पाकेको फल वा गेडालाई जम्मा गरेर बाहिरको बोक्रा हटाएर घाममा सुकाउने। राम्ररी सुकेको बीउलाई बाँसको टोकरी, डालो, बोरा जस्ता सुख्खा भाँडामा सुरक्षित साथ राख्ने र आवश्यकता अनुसार झिकी धुलो बनाएर पिस्ने। करीव २ अंजुली गेडालाई पिसेर २ माना पानीमा घोल्ने।

राम्ररी घोलेर करीव २४ घण्टा सम्म त्यसै राख्ने। अर्को दिन उक्त घोललाई कुनै कपडा वा जालीले छानेर थिग्रीएको भागलाई हटाउने र झोललाई कीटनाशक बिषको रुपमा प्रयोग गर्ने। यसले बाली बिरुवामा लाग्ने धेरै प्रकारका कीराहरुलाई नियन्त्रण गर्दछ । तयारी झोललाई लामो समय सम्म प्रयोग नगरी त्यसै राखी छाड्नु हुंदैन (सामुदायिक कल्याण तथा विकास संस्था, २०५२) ।

 

१.४. नीमको गेडा बाट तयार गरीने विषादी अति राम्रो हुन्छ तापनि कहिलेकाँही गेडा नपाएमा नीमको पातलाई पनि बिषको रुपमा प्रयोग गर्न सकिन्छ । करीब १ किलोग्राम नीमको पातलाई एउटा भाँडोमा राखेर करीब ५ लिटर जति पानी मिसाउने। पातको हरियो रंग पानीमा नआउन्जेल सम्म पकाउंदै गर्ने र सेलाएपछि पातलाई हटाउने र झोललाई बिषको रुपमा प्रयोग गर्ने । (सामुदायिक कल्याण तथा विकास संस्था, २०५२) ।

 

१.५. नीमको १ किलोग्राम पातलाई १० लीटर पानीमा मिसाई करिव १२ घण्टा जति भिजाए पछि उक्त पानीको झोललाई छर्कदा धानको गवारो, फड्के कीरा, पात वेरुवा, पतेरो, डाँठ कुहिने ढुसी, बेसारको जुका, काक्रा फर्सीको खपटे नियन्त्रण हुन्छ (भण्डारी, २०६३) ।

 

१.६. नीमको २ किलोग्राम धुलोमा १६ देखि २० लिटर सम्म पानी मिसाई एक दुई रात भिजाए पछि त्यो झोललाई कपडा वा जालीमा छान्ने। यसरी बनाइएको १ लिटर झोललाई २० लिटर पानीमा मिसाई फेरी पातलो पारे पछि कीरा लागेको बिरुवामा ४–५ दिनको फरकमा यो झोल छर्किदिने। उक्त झोलले बोट बिरुवाहरुलाई हानी पु¥याउने कीरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ (सामुदायिक कल्याण तथा विकास संस्था, २०५३) ।

 

१.७ एक किलोग्राम नीमको हरियो पातलाई १० लिटर पानी मिसाई ३–५ दिनसम्म कुहाउने र यसबाट बन्ने झोल निकाली बालीमा छर्कने। यसबाट हानीकारक कीरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ (सामुदायिक कल्याण तथा विकास संस्था, २०५३) ।

 

१.८ नीमको हरिया पातलाई पानीमा उमालेर पनि नीमको झोल तयार पार्न सकिन्छ । पाँच लिटर पानीमा एक किलोग्राम ताजा नीमको पात पहेंलो नभएसम्म उमाल्ने, यसरी उमाल्दा नीममा भएको सबै कीटनाशक पदार्थहरु पानीमा जाने हुन्छ । त्यस झोललाईचिस्याए पछि सफा पानीमा मिसाई बोट बिरुवामा छर्किदिनाले हानिकारक कीरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ । (सामुदायिक कल्याण तथा विकास संस्था, २०५३) ।

 

१.९ नीमको सुकेको पात १ किलोग्राम १० लिटर पानीमा १२ घण्टा भिजाएर त्यसको झोल छर्कनाले धानको गुवो खाने कीरा रोकथाम हुन्छ (पौडेल, २०६४) ।

 

१.१०. नीमको दाना एक अजुंली, १० किलोग्राम नीमको पात, आधा किलोग्राम नीमको डाँठ वा जरा र १ किलोग्राम वेसार राम्रोसँग पिसेर १२ लिटर पानीमा मिसाउने। यसरी बनाएको मिश्रणलाई केही समय भाँडोमा राखेर उमाल्ने र केही समय ठण्डा बनाएर पातलो कपडाले छान्ने। यसरी छानीएको झोललाई ४–५ हप्ता पुनः एक भाँडोमा राखि त्यसपछि फेरी एक पटक कपडाले छानेर छर्नाले धेरै प्रकारका चुसाहा कीरा र भाईरस रोग समेत नियन्त्रण हुन्छ । यसरी तयार गरिएको झोल तीन देखि ७ दिनको फरकमा छर्दा प्रभावकारी हुन्छ ( पौडेल, २०६४) ।

 

१.११. सुकेका नीमका बीउहरुबाट आवरण हटाई मसिनो गरि पिंध्ने र त्यसलाई प्रति लिटर पानीमा ५० ग्रामको दरले कपडामा बाँधी पानीमा २४ घण्टासम्म ढड्याउने। यसरी तयार गरिएको झोलबाट बन्दामा लाग्ने पुतलीका मसिना लाभ्रेहरु नियन्त्रण गर्न सकिन्छ । (तरकारी विकास महाशाखा, २०५१) ।

 

१.१२. नीम वा बकाईनोको पात २ किलो, लसुन २ किलो, सयपत्री २ किलो, खुर्सानी २ किलो र आलसको तेल २ लिटर । यी बनस्पतिहरुलाई काटेर टुक्रा पारिन्छ । टुक्राहरुलाई ओखलमा कुटिन्छ । कुटेर बनेको बनस्पतिहरुको लेदोमा आलसको तेल मिसाईन्छ । तेल मिसाइसकेपछि बिषादी मलम जस्तो बन्दछ । यो बिषादीले कफिको गवारोलाई नियन्त्रण गरेको पाईएको छ । पहिले काण्ड एवं हाँगाहरु खस्रो कपडा वा जुटको बोराले घोटेर सफा गरिन्छ । काण्ड हाँगा सफा  भैसकेपछि मलम दलिन्छ । यो भदौमा १ पटक र रातो माटो र गाईको आलो गोवर बरावर मात्रामा मिसाई चैत्र बैसाखमा १ पटक प्रयोग गर्ने गरिन्छ (एस.एस.एम.पी., २०५९) ।

१.१३. नीमका २०० ग्राम हरिया पातलाई दगल्च्याएर १ लिटर पानीमा १२–१५ घण्टासम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको (प्रत्येक हप्तामा १ पटकका दरले ६ पटक सम्म) बन्दाकोभीमा लाग्ने कीराहरु, जस्तैः बन्दाको पुतली, भटमासको झुसिलकीरो, सुर्तीको पात खाने लाभ्रे र पिठ्युंमा ईंटको आकार भएको पुतलीको नियन्त्रण गरको पाईएको छ (न्यौपाने, २०५७) ।