Latest From our Blog

घरमै बनाउन सकिन्छ, गुणस्तरीय दाना!!

पशुपंक्षीपालन नेपालको कृषि क्षेत्रको ठूलो हिस्सा ओगटेको व्यवसाय हो । कृषि प्रधान देश नेपालको कूल जनसंख्याको करिब ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । अधिकांश कृषक पशुपंक्षी पालनमा आवद्ध छन् । पशुपंक्षीबाट दूध, दही, घ्यू, मासु, अण्डा ऊन आदि वाहेक प्राङ्गारिक मल, तथा गोवर ग्यास वायोग्यास उपलब्ध हुन्छ ।

पशुपंक्षी र अन्नवाली वा फलफूल खेती एक अर्कामा अन्योन्याश्रित संवन्ध राख्दछन् । विगत करिव दुई दशकभित्र वृहत मात्रामा उन्नत जातको पशुपंक्षीको नश्ल नेपालमा भित्रिएका छन् । यिनीहरुलाई उपयुक्त गुणस्तरीय सन्तुलित दानाको पूर्ती भएमा मात्र वंशाणुगत क्षमता मुताविक आम्दानी लिन सकिन्छ ।

यसको लागि सरकारी तथा ग्रैह्र सरकारी तवरबाट चाराको व्यवस्था मिलाउन देशको विभिन्न जिल्लाहरुको व्यवसायिक रुपमा दानामिलहरु स्थापना गरिएका छन् । तर, बिडम्बना के छ भने उक्त दानामिलहरुवाट उत्पादित दाना लक्षित पशुपंक्षीको पौष्टिकतत्वको आवश्यकता पूर्ती गर्न सकिराखेको देखिएको छैन । अतः नेपालमा उपलब्ध कच्चा पदार्थ (स्वदेशी वा आयातित) र यहाँ उत्पादित दानाको गुणस्तर जाँच गरी स्तरीय दाना उपलब्ध गराएमा मात्र पशुपंक्षीबाट सही मात्रामा नाफा लिन सकिन्छ ।

पशुपंक्षीपालनमा हुने सम्पूर्ण खर्चको ५५ देखि ७० प्रतिशतसम्म खर्च चारामा (Feeds)  हुने गर्दछ । तर यस क्षेत्रमा कृषक तथा दानाव्यवसायीले न्यून मात्रामा विशेषज्ञको सहयोग लिने गरेको देखिन्छ । बेलायतको पशुविकास फार्महरुमा पशुचिकत्सक एक वर्षमा २–४ पटक मात्र आमन्त्रण गरिएको तर पशुपोषण विशेषज्ञको सहयोग मासिक रुपमा गरिएको छ । कुनै पनि प्रकारको गुणस्तरीय दाना बनाउन असल प्रकारका पाचनशील पौष्टिक तत्वले युक्त कच्चा पदार्थको आवश्यकता पर्दछ । कुनै पनि प्रकारको गुणस्तरीय दाना गुणस्तरहीन कच्चा पदार्थबाट बनाउन सकिदैन।

नेपाल लगायत अन्य प्रगतिशील देशहरुमा कच्चा पदार्थ तथा तयारी दानामा गुणस्तरहीन कच्चा पदार्थ वा अखाद्य पदार्थबाट मिसावट (Adulteration) गरिएको पाइएको छ । यी गुणस्तरहीन कच्चा पदार्थ के के हुन् रु के के बाट दानामा मिसाइने कच्चा पदार्थ वा मिश्रितदाना मिसावट (Adulteration) गरिन्छ र त्यसको कसरी पहिचान गर्न सकिन्छ र त्यसवाट वचाउ गर्ने उपायहरु के के हुन् आदिवारे निम्न विवेचना गरिएको छ ।

१. बालुवा मिसावट (Adulteration with sand/rice hulls)

धानको सेलरमिलको ढुटो (Rice Polish) मा मसिनो वालुवाबाट मिसावट गरिएको हुन्छ । बालुवाले पशुवस्तुलाई वेफाइदा गर्दछ । यसले मिसावट गरिएको वस्तुको तौल बढाउनु बाहेक अन्य केही फाइदा हुँदैन । यस प्रकारको धानको ढुटोमा मसिनो गरी पिसेको धानको डडाल्नुबाट पनि मिसावट गरिएको पाइएको छ । डडाल्नु (Rice hulls) मा प्रशस्तमात्रामा (१८ प्रतिशत सम्म) बालुवा (Silica) पाइएको छ जुन पशुपंक्षीलाई हानिकारक छ ।

धानको डडाल्नुको सतह (Surface) करौंतीको धार जस्तो हुने भएकोले यसले पशुपंक्षीको आन्द्रामा घाउ खटिरा बनाउन सक्छ । धानको ढुटोमा वालुवा मिसाइएको पत्ता लगाउने एक दुई चिम्टी ढुटो थालमा वा पेट्रिडिस्कमा राख्ने र सफा पानी मिसाई रडले चलाउने, बालुवाका कण फेदमा थिग्रिन्छ । डडाल्नुको मिसावट पत्ता लगाउने एक ग्राम ढुटो लिएर थोरै थोरै गरेर शुक्ष्मदर्शकयन्त्रको सहायताले पत्ता लगाउन सकिन्छ । यो प्रविधिलाई फिड माइसक्रोपी (Feed Microscopy) भनिन्छ ।

२. युरियामलको मिसावट

(Adulteration with Urea)
भट्टमासको पिना (soybean meal) तथा माछाको सिद्रा (Fish meal) मा युरिया मल मिसाएर त्यसमा भएको प्रोटिनको मात्रा बढाई कच्चा पदार्थ बेच्ने व्यापारीले मिसावट गरेको पाइएको छ । युरियामलले वंगुर तथ कुखुरामा नकारात्मक प्रभाव पारेको हुन्छ । अतः यस प्रकारको युरिया मिसावट गरिएको भट्टमासको पिना, माछाको सिद्रा आदि कच्चा पदार्थ मिसाएर दाना बनाउन हुँदैन ।

युरियामलको मिसावट पत्ता लगाउन सजीलो छैन । काठमाण्डौँ वाहिरका अधिकांश जिल्लाहरुमा यसको मिसावट पत्ता लगाउने रासायनिक विश्लेषण प्रविधि उपलब्ध छैन । अतः एक प्रकारको रासायनिक पदार्थ युरियज इन्जायम (Urease enzyme)   प्रयोग गरी मिसावट गरे नगरेको पत्ता लगाउन सकिन्छ ।

३. नुनको मिसावट (Adulteration with common salt)

माछाको सिद्रामा अत्यधिक मात्रामा नुनराखेर सुकाउने र बेच्ने गरिन्छ । माछाको सिद्रा भन्दा नुन धेरै सस्तो हुनुको साथै माछा सुकाउन समेत सहयोगी हुन्छ । तर आवश्यकता भन्दा बढी नुन भएमा कुखुरा, वंगुर आदि पशुपंक्षीलाई हानी पु¥याउँदछ । नुनको मिसावट पत्ता लगाउने १० ग्राम माछाको सिद्रालाई पानीमा डुवाउने र रडले चलाएर थिग्राउने । केही समय पछि सिद्रा र पानी छुट्टयाउने। पानीलाई प्रयोगशालामा लगेर पानी सुकाएर नुनको मात्रा पत्ता लगाउन सकिन्छ ।

४. नरिवलको पिनाबाट मिसावट
माछाको सिद्रामा नरिवलको पिनावाट मिसावट गरिन्छ । यो मिसावटले कुखुरा तथा वंगुरको उत्पादनमा नकारात्मक असर पु¥याउँदछ । यसलाई पनि फिड माइक्रोस्क्पी (Feed Microscopy) बाट पत्ता लगाउन सकिन्छ । उपरोक्त मिसावट बाहेक दानामिलमा पनि निम्न गुणस्तरीय कच्चा पदार्थ जस्तो घुनले खाएको मकै, डल्ला परेको धानको ढुटो, ढुसी आएको भेली, ढुसी आएको पिनाहरु आदि प्रयोग गरी विषदि निरोधक पदार्थ (Toxin binder) मिसाएर दाना तयार पारी कृषकलाई वेचेको पाइएको छ । यस प्रकारको गुणस्तरहीन कच्चा पदार्थबाट तयार पारिएका दाना पनि गुणस्तरहीन नै हुन्छ ।

अतः दाना व्यवसायी तथा कृषक दुवै पक्षले गुणस्तरीय दाना उत्पादन गरी त्यसको प्रयोग गरेमा पशुपंक्षीले आफ्नो क्षमता मुताविक प्रतिफल दिएर कृषकको जीवन स्तर वढाई अर्थोपार्जन बढाउन समेत मद्दत पु¥याउन सक्नेछ ।