Latest From our Blog
व्यवसायीक गाई भैँसी गोठमा जैविक सुरक्षा (Bio Security) का उपायहरु!!
जैविक सुरक्षा भनेको फार्ममा पशुहलाई लाग्ने रोग र रोग लाग्ने कारक तत्व (जिवाणु, विषाणु आदि) लाई फार्म भित्र छिर्न नदिनको लागि व्यवस्थापनका विभिन्न आयामहरु समावेश गरि तयार गरेको विधि हो । यो विधिलाई जैविक सुरक्षा योजना बनाई लागु गर्नु पर्ने छ, जस्मा गोठको सरसफाई, मुसा नियन्त्रण, कामदार र आगन्तुकहरुलाई फार्ममा
पस्ने नीति र फार्मको सुरक्षा व्यवस्थालाई समावेश गरिएको हुन्छ । यद्यपि जैविक सुरक्षाका उपायहरु अपनाउँदा केहि अतिरिक्त खर्च लाग्छ तापनि लामो समयमा यो विधि फाईदाजनक नै हुनजान्छ । विभिन्न संघ संस्थाहरुले दिने अनुदान नीतिमा जैविक सुरक्षाको लागि आवश्यक पुर्वाधार निर्माणको लागि लक्ष गर्नु राम्रो हुनेछ ।
व्यवसायीक गाई भैँसी फार्ममा निम्न अनुसारको गोठमा जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नु राम्रो हुन्छ::
- फार्म वरिपरि झाडी, फोहोर तथा पानी जम्न नदिने ।
- फार्म वरिपरि पर्खाल लगाएर घेर्ने र अन्य जनावरसँग सम्पर्क नगराउने ।
- आगन्तुकहरुलाई फार्ममा छिर्न रोक लगाउने । यदि आवश्यक प¥यो भने खुट्ठा फिनेल पानीमा चोपेर एप्रोन, बुट लगाएर मात्र भित्र छिराउने ।
- फार्म खोरमा भित्रबाहिर गर्दा गमबुट वा जुत्तालाई फुट बाथमा डुवाएर मात्र गर्ने । यसको लागि साईन बोर्डमा लेखेर झुन्डाईदिएमा सबैलाई जानकारी हुनजान्छ ।
- गोठ भित्र पस्दा एप्रो्न वा फार्ममा काम गर्दा लगाउने ड्रेस लगाउने ।
- संक्रमणमुक्त (Disinfectant) गर्ने झोलमा पांग्रा डुवाएर वा स्प्रे गराएका गाडीलाई मात्र फार्म भित्र प्रवेश गराउने ।
- पशु बिरामी परेमा छुट्टै कोठामा राखी उपचार गर्ने ।
- मरेका पशुलाई सुरक्षित साथ तह लगाउने ।
- पशुहरु बिरामी भएको पाईएमा तुरुन्त पशु चिकित्सकलाई सम्पर्क गर्ने ।
- फार्ममा रोग फैलिएपछि हरेक पटक निसंक्रमण गर्ने ।
- अन्यत्रबाट ल्याएको पशुलाई गोठमा रहेको पशुहरुसँग नमिसाउने । अन्यत्रबाट ल्याएको पशुलाई तिन हप्तासम्म क्वरेन्टाइन सेडमा राखेर कुनै रोग नदेखिएपछि मात्र गोठमा राख्ने ।