Latest From our Blog
डेस्मोडियम (Desmodium) Desmodium Sps घाँस बारे बुझौं!!
परिचय :: डेस्मोडियम कोसालाग्ने जातको महत्वपूर्ण बहुवर्षीय घाँसबाली हो । यो चरनका लागि उपयुक्त घाँस हो । हे र साइलेज बनाउनका लागि पनि यो उपयुक्त हुन्छ । नेपालको मध्य–पहाडी क्षेत्रमा डेस्मोडियमका स्थानीय जातहरू पाइन्छन् । डेस्मोडियम समशितोष्ण जलवायुमा हुने जातको बाली हो । बढी वर्षा हुने नेपालको पूर्वी पहाडमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । डेस्मोडियमलाई तराईको समथर फाँटदेखि १६०० मिटरसम्मको उचाइमा लगाउन सकिन्छ । सिल्भरलिफ डेस्मोडियमले केही मात्रामा तुसारो र सुख्खा पनि खप्न सक्छ । यसमा कच्चा प्रोटीनको मात्रा १६ देखि १८% पाइन्छ । कोसेबाली भएकाले यसले माटोमा नाइट्रोजन स्थिरीकरण गर्न सक्दछ ।
हावापानी :: उष्ण तथा समशितोष्ण हावापानी भएको स्थानमा यसको खेती गर्न सकिन्छ । औसत १००० मिलीलिटर वार्षिक वर्षा हुने स्थानमा यसलाई लगाउन सकिन्छ ।
माटो :: हल्का अम्लीय, बलौटे तथा चिम्ट्याइलो दोमट माटोमा यसको खेती गर्न सकिन्छ ।
लगाउने समय :: जेठ–असारमा यसको बीउ छर्नु पर्दछ ।
जातहरूः
क) सिल्भरलिफ डेस्मोडियम – यसलाई मुख्यतयाः चरन क्षेत्रमा लगाउनु उपयुक्त हुन्छ ।
ख) ग्रीनलिफ डेस्मोडियम – यसलाई हे र साइलेज बनाएर राख्न सकिन्छ ।
पौष्टिक तत्वहरू प्रतिशत
कच्चा प्रोटिन १३.३
क्याल्सियम ०.९
फस्फोरस ०.३
खनिज ५.०
मलखाद :: डेस्मोडियमलाई पाँच–छ टन कम्पोष्ट मलमात्र प्रयोग गरेर पनि खेती गर्ने चलन छ । माटो कम मलिलो छ भने २०::६०::२० किलोग्राम ना.फ.पो. प्रतिहेक्टरका दरले दिनसके यसबाट राम्रो उत्पादन लिन सकिन्छ ।
प्रसारण :: यसलाई बीउ वा कटिङ दुवै तरिका प्रयोग गरेर लगाउन सकिन्छ । बीउ दुई–तीन के.जी. प्रतिहेक्टर चाहिन्छ भने कटिङबाट लगाउँदा १० हजार कटिङ प्रतिहेक्टर आवश्यक पर्दछ ।
रोप्ने दूरी :: यसलाई हारदेखि हारको दूरी १ मीटर र बोटदेखि बोटको दूरीपनि १ मीटरमा लगाउनु पर्दछ ।
सिँचाइ तथा गोडमेल :: सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उत्पादन लिन सकिन्छ ।
रोग तथा कीरा :: यसमा पनि साधारण रोग तथा कीरा लाग्न सक्दछन् । उपयुक्त जातको प्रयोग तथा उचित व्यवस्थापन अपनाएर रोग तथा कीराबाट हुने हानी–नोक्सानी कम गर्न सकिन्छ ।
कटाइ :: बीउ रोपेको तीन महिनापछि तथा कटिङ रोपेको ६० दिनपछि यसको पहिलो उत्पादन लिन सकिन्छ । त्यसपछि ४०—४५ दिनको फरकमा तीन–चारबाली लिन सकिन्छ ।
उत्पादन :: औसतमा यसबाट ४०–५० टन प्रतिहेक्टर हरियो घाँस उत्पादन हुन्छ ।