Latest From our Blog

धानको कालो पोके रोग र ब्यवस्थापनका उपायहरु!!

पृष्ठभूमी

धान विश्वको एक प्रमुख अन्न बाली हो । धान अन्र्तगत विश्वको करिव ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत हुन्छ । नेपालमा धानको उत्पादकत्व ३.३५ ट÷हे छ जुन छिमेकी देशहरु भारत (३.६२ ट÷हे), बंगलादेश (४.४१ ट÷हे), भियतनाम (५.७५ ट÷हे) र चीन (६.७४ ट÷हे) का तुलनामा निकै कम छ। धानको उत्पादकत्वमा कमी आउनु विभिन्न जैविक र अजैविक तत्वहरुमध्ये रोग एक प्रमुख कारक हो जस्ले धान उत्पादनमा १०–१५ प्रतिशत सम्म ह्रास ल्याउँदछ ।

धान बालीमा लाग्ने रोगहरु मुख्यतया ढुसी, शाकाणु, विषाणु र जुकाको आक्रमणबाट लाग्छन् । नेपालमा मरुवा, खैरो थोप्ले, पाते फेद डढुवा, पात डढुवा, सानो खैरो थोप्ले रोग र कालो पोके रोगको प्रकोप बढि छ । यी बाहेक जिंकको कमीबाट हुने खैरा रोग पनि प्रमुख रोग हो । आम नेपालीहरुको जीविकोपार्जन, खाद्यसुरक्षा, आयश्रोत तथा रोजगारीको मुख्य आधारशिला नै धान भएकोले रोगको ब्यवस्थापन अत्यन्त जरुरी छ ।

परिचय

यो रोग Ustilaginoidea virens नामक ढुसीको कारणले लाग्दछ । यस रोगलाई नेपाल र भारतमा लक्ष्मी रोग भनेर पनि चिनिन्छ । नेपालमा यो रोग सर्वप्रथम सन् १९६४ मा देखापरेको थियो । यो रोग तराई देखि उच्च पहाड सम्म फैलिएको छ । सन् १९८४÷८५ मा भक्तपुर जिल्लामा कञ्चन धानमा यो रोगले माहामारी रुप लिएको थियो । हरेक वर्ष कालो पोकेको प्रकोप बढ्दै गएको पाईएको छ । विषेश गरी हाईब्रिड जातका धानहरुमा यो रोगको प्रकोप बढी छ । यो रोगले वीउको उमारशक्ति ३५ प्रतिशतले घटेको र उत्पादनमा ७–७५ प्रतिशतले ह्रास आएको पाईएको छ ।

यसले गर्दा अन्नको गुणस्तरमा पनि ह्रास आउँछ । यस आ.व. २०७३÷७४ मा अधिराज्यव्यापी रुपमा यस रोगको प्रकोप भएको पाईयो । पाक्न लागेको धानमा कालो पोके रोग लागिसकेपछि हजारौ विगाहमा लगाईएको धानबालीमा दाना नलागी धान सुक्दै गएको पाईयो  ।

 

लक्षण

यो रोग धान बालीमा दाना लागिसकेपछि देखापर्दछ । रोग लागेको धानको दाना ढुसीको कालो पोका बन्न जान्छ । सुरुमा ती पोका सुन्तला रङ्गका हुन्छन् र पछि हरियो कालो रङ्गमा परिणत हुन्छन् । यस्ता दानामा चामलको सट्टा ढुसीको सुक्ष्मबिजहरुले भरिएका हुन्छन् र नराम्रो गन्ध आउँछ । सामान्य अवस्थामा बालामा केहि दाना कालो ढुसीको पोका भए पनि अरु दानाहरु स्वस्थ हुन्छन् । रोगको लागि वातावरण अनुकूल भएमा पुरै बाला नै कालो पोकेमा परिणत हुन्छ र बोट सुकेर मर्दछ ।

 

रोग चक्र र वातावरण

यो रोग सिंचित क्षेत्रमा बढि देखिन्छ । सापेक्षिक आद्रता ९० प्रतिशत भन्दा बढि र तापक्रम २५º देखि ३५º सेल्सियस हुने ठाउँमा यो रोग फुल फुल्ने बेलामा नै लाग्छ तर बाला निस्किसकेपछि मात्र देखापर्छ । यो रोग वीउ र हावा बाट सर्दछ । वर्षा, बढि सापेक्षिक आद्रता र नाईट्रोजनको मात्रा बढि भएको माटो यो रोगको वृद्धिको लागि अनुकूल वातावरण हो । केहि धानका जातहरु (जस्तै साम्वा मंसुली) मा यो रोग बढि लाग्ने भएपनि तिनका विशेष गुणले गर्दा किसानहरुले ति जात नै मन पराउँछन् । रोग ग्रसित विरुवाबाट स्वस्थ विरुवामा हावाले रोगको जिवाणु सार्दछ र अनुकूल वातावरणमा यसले माहामारीको रुप लिन्छ ।

 

 

ब्यवस्थापन

>> खेतबारी सफा राख्ने र शुद्ध वीउको प्रयोग गर्ने ।

>>  कालो पोके रोग ग्रसित क्षेत्रबाट वीउ छनौट नगर्ने ।

>>  रोग ग्रसित वीउ, बाला र बालीका अवशेषहरुलाई नष्ट गर्ने ।

>>  कोशे बालीसँग बाली चक्र पद्धति अपनाउने ।

>> खेतबारीमा स्थायी रुपमा पानी नजमाउने, परस्पर चिस्यान र सुख्खा राख्ने ।

>> मलखाद सिफारीस मात्रामा प्रयोग गर्ने । नाईट्रोजन मल सिफारीस मात्रा र समयमा भन्दा बढी नहाल्ने ।

 

       प्रति    के.जी.मा

           डि.ए.पी यूरिया  पोटास  गोबर मल

रोपनी   ३.१२    ९.५     २.५     ३००

कठ्ठा      २.२     ६.२     १.७     २००

 

>> कालो पोके रोग प्रभावित क्षेत्रहरुमा सजिलै यो रोग लाग्ने जातहरु जस्तैै कञ्चन, आई. आर. ४३, आई. आर. २४ नलगाउने । 

>> वीउलाई तातो पानी (५२º सेल्सियस) मा १० मिनेट सम्म डुबाएर उपचार गर्ने ।

>> बेभिष्टिन (कार्बेन्डाजीम) २–३ ग्राम प्रति लिटर पानीमा मिसाएर वीउ उपचार गर्ने ।

>> गाज आउने वा बाला पसाउने बेलामा एक मिलिलिटर हेक्जाकोनाजोल÷प्रोपिकोनाजोल प्रति लिटर पानीमा वा क्लोरोथालोनील २ ग्राम प्रति लिटर पानीमा मिसाएर १० दिनको फरकमा ३ पटक छर्ने ।

 

प्रकाश पन्थ
प्राविधिक अधिकृत
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम
हर्दिनाथ, धनुषा