Latest From our Blog
पहिलोपटक नेपालमा भित्रिएको अमेरिकी फौजी कीरा (Spodoptera frugiperda) को प्रकोप कसरी नियन्त्रण गर्ने??
अमेरीकन फौजी कीराको परिचय
• अमेरीकन फौजीकीरा मकैवालीमा लाग्ने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर कीरा हो। यस कीराको लार्भा अवस्थाले मकै लगायत विभन्न ८० प्रकारका वालीनालीमा नोक्सानी पुर्याउने गरेको तथ्य पाइन्छ।
• मुख्यतया मकै मन पराउने यस कीराले मकै नपाएको अवस्थामा जुनेलो,धान,गहुँ,कोदो,उखु तथा घाँसेवालीहरु र तरकारी वालीमा समेत व्यापक रुपमा क्षति पुर्याउने गर्दछ।
• यो कीरा छिटो तथा आक्रामक तवरले ठुलो क्षेत्रमा फैलन सक्दछ।उपयुक्त खाना तथा वासस्थानको खोजीमा यो कीराको वयस्क पुतली एक रातमा १०० किलोमिटर टाढा सम्म पनि उडेर जान सक्दछ।
• त्यसैले, नेपालमा यो कीराको प्रवेश भएमा एक देखि दुई हप्तासम्मको अवधिमा पुरै नेपाल ढाक्न सक्दछ । तर उत्तरी क्षेत्रतिर चिसो हावापानी हुने भएकोले यसको प्रकोप कम हुने र तराई तथा टार बेसीहरुमा तापक्रम बढी हुने हुँदा यसको प्रकोप बढी हुने देखिन्छ ।
हिउँदमा भन्दा वर्षादमा यो कीराको असर बढी हुन जाने सम्भावना देखिन्छ ।
क्षतिको लक्षणः
• यस कीराको लार्भा अवस्थाले मकैको पात,गुभो,जुगां तथा घोगामा समेत क्षति पुर्याउदछ।भरखरै फुलवाट निस्केका साना लार्भाहरुले पातको तल्लो सतहवाट हरीयो भाग खाएर झिल्ली मात्र वाकी राख्द्छ जसले गर्दा पातमा लाम्चा प्वालहरु देखा पर्दछ।
• यो कीराले मकैका पातहरुमा सियोको प्वालजत्रो धेरै प्वाल पारी मकैको पात छियाछिया बनाएको हुन्छ र हरियो भाग खुर्केर खानाले पातमा यसले खाएको ठाउँहरुमा झ्यालको सिसाजस्तै आकृति देखिन्छ
• लार्भाको आकारमा वृद्धि हुदै जाँदा पछि मकै बोटको वृद्धिसँगै मकैको डाँठ, घोगामा प्वाल बनाएर र धानचमरा खाएर क्षति पु-याउँछ ।
• तर त्यतिखेरसम्म यसको नियन्त्रण गर्न कठिन भइसकेको हुन्छ । यो निरीक्षण कार्य नियमित रुपमा मकै बाली हाम्रो कुमसम्मको उचाई वा प्रजनन अवस्थामा नपुगुन्जेलसम्म गर्नुपर्दछ ।
किराको पहिचान तथा जीवनचक्र:
• वयस्क पुतली १.६ से.मी लामो र खरानी मिश्रीत खैरो रङ्गको हुन्छ।
• भाले पुतलीको अघिल्लो पखेटाको टुप्पोतिर ठुलो सेतो धव्वा हुन्छ भने वीचतीर अण्डाकार हल्का खैरो रङ्गको धव्वा देखिन्छ तर पोथी पुतलीमा यस्ता धव्वाहरु देखिदैन।
• पोथी पुतलीले मकैको पातको फेद र डाँठ जोडिएको तल्लो भागको सतहमा झुण्डमा फुल पार्दछ।
• एक समुहमा १००-२०० फुल हुन्छ र अण्डा पारिसकेपछि अण्डाको सुरक्षाको लागि पोथी माउले आफ्नो पेटले हल्का दलेर पुरै अण्डालाई कत्ला वा भुत्लाले ढाकिदिन्छ ।
• एक पोथी पुतलीले आफ्नो जीवनमा १००० भन्दा वढि फुल पार्दछ।
• फुल वाट २-५ दिनमा लार्भा निस्कन्छ र पातको हरियो भाग खान्छन र विस्तारै शरीरवाट निस्केको रेशमी धागोको सहायतावाट अरु पात वा विरुवामा सर्दछ।
किराको पहिचान:
• यस कीराको लार्भा सुरुको अवस्थामा हल्का हरियो रङ्गको हुन्छ भने टाउको कालो हुन्छ।
• हुर्किदै जादा पछिल्लो अवस्थामा लार्भाको शरिर खैरो रङ्गको र टाउको गाढा खैरो रङ्गको हुन्छ।
• लार्भाको टाउकोमा अंग्रेजी अक्षरको Y आकारको सेतो रङ्गको धर्का हुन्छ।लार्भाको अन्तिम खण्डमा ठुला काला रङ्गको चारवटा थोप्लाहरु वर्गाकार रुपमा देखिन्छ।र लार्भाको शरीरको माथिल्लो भागमा तीनवटा पहेलो रंगका धर्काहरु टाउको पछाडी देखी अन्तिम भागसम्म समानन्तर रुपमा रहेको प्रष्ट देखिन्छ।
• यसको लार्भा अवस्था ६ वटा चरणमा पुरा हुन्छ र मकै तथा अन्य वालीमा क्षति गर्ने लार्भा अवस्था नै हो।पांचौ र छैटौ अवस्थाका लार्भा वढि खन्चुवा हुन्छ।
• लार्भा रातको समयमा वढी सकृय हुन्छ र उज्यालो समयमा अध्यारो स्थानतिर (माटो मुनी वा मकैको गुभोमा) लुकेर वसेको हुन्छ।
• लार्भाले एक अर्का लाई खाने हुनाले केही दिन पछि एक वोटमा १-२ लार्भा मात्र निस्कन्छ।लार्भा को लागि २०-३०० से. तापक्रम उपयुक्त हुन्छ।
किराको जीवनचक्र:
• १४ देखि १८ दिनमा लार्भा प्युपा अवस्थामा जान्छ। प्युपा अवस्था २-८ से.मी. भित्र माटोमा ७-८ दिन सम्म विताउछ र वयस्क पुतली भइ निस्कन्छ र साधारणतया यसको जीवनचक्र ३० दिनको हुन्छ।
कीराको व्यवस्थापन:
क. कीरा लाग्न नदिन अपनाउन सकिने उपायहरु (Prevention)
• मकै रोप्ने समयमा परिवर्तन गर्नेः वीउ छर्ने समयको हेरफेर गरी अघौटे वा पछौटे मकै बालीका जातहरु लगाएर कीराको उच्च घनत्व हुने समय छल्न सकिन्छ । तर एकै खेतमा विभिन्न समयमा मकै रोप्ने कार्य गर्दा कीरालाई निरन्तर लामो समयसम्म खाना उपलव्ध हुने भएकोले यस्ता कार्य भने कदापी गर्नु हुँदैन ।
• एउटा क्षेत्रमा सम्भव भएसम्म एकै पटक विउ छर्नेः यसो गर्नाले वालीचक्र वमोजिम कीराले नियमित आश्रय नपाउने भएकोले क्षति कम हुन्छ।
• मिश्रीत खेती पद्धति अपनाउनेः यसो गर्नाले कीराको प्राकृतिक शत्रुहरुको संख्या बढ्नुका साथै कीराको फैलावटमा बाधा हुन्छ।
• पासो बाली (Trap crop): मकैबालीको वरिपरी नेपियर घाँस र बालीको वीच-वीचमा अन्तर बालीको रुपमा डेस्मोडियम घाँस लगाउने। डेस्मोडियम बाट उत्पादन हुने Volatiles ले कीरालाई विकर्षण गर्दछ। नेपियर घाँसले मिचाहा फौजी कीरालाई आकर्षण गर्दछ र आकर्षित भएका कीराहरुलाई विषादी प्रयोग गरी नस्ट गर्ने।
सन्तुलित मात्रामा मात्र रसायनिक मलको प्रयोग गर्नेः खास गरी नाईट्रोजनयुक्त रसायनिक मल बढी मात्रामा प्रयोग गर्नाले विरुवाको वानस्पतिक विकास बढी हुने र कीरालाई विरुवामा क्षति पुर्याउन सजिलो हुने भएकोले सन्तुलित मात्रामा रसायनिक मलको प्रयोग गर्ने ।
ख. बालीको नियमित अनुगमन (Monitoring):
मकै बाली हाम्रो कुमको उचाई पुग्नुभन्दा अगाडि नै कीराको नियन्त्रण गरिसक्नुपर्दछ । यदि मकै बाली धानचमरा वा जुँगा निस्केर घोगा लाग्न थालेपछि लार्भाहरु मकैको घोगामा प्वाल पारी घोगाभित्र परेर क्षति पार्न थालिसकेको हुन्छ र यो अवस्थामा तिनीहरुको नियन्त्रण गर्न असम्भव नै हुन्छ । त्यसकारण, मकै उम्रन थालेदेखि नै बाली निरीक्षण गर्न शुरु गरी यसले गरेको क्षतिको संकेत जाँच गरी कीरा नियन्त्रण गर्नुपर्दछ ।
• बालीले ढाकेको क्षेत्रमा 'W' वा 'M' आकारमा कम्तिमा 5 ठाउँमा नमूनाको रुपमा प्रत्येक ठाउँबाट 10-10 वटा बोटमा कीराको फैलावटको अवस्था जाँच गर्ने र रेकर्ड राख्ने।
कीराको क्षतिको अवस्था हेरी सकेसम्म छिटो भन्दा छिटो व्यवस्थापनका उपायहरु छनौट गर्ने
व्यवस्थापन (Management):
(१) भौतिक तथा यान्त्रिक तरिका (Physical & Mechanical Method):
• खेतबारीको नियमित अवलोकन गरी यस कीराका फुल, लार्भा भेटिएमा किचेर वा तातो पानीमा डुवाएर मार्ने।
• फनेल ट्रयापको प्रयोग गर्ने: यस ट्रयापमा फल आर्मिवर्म ल्यूर राखेर १ हेक्टर क्षेत्रफलमा १० वटाका दरले मकै उम्रेको 5 दिन पछि मोहीनी पासोको रुपमा प्रयोग गर्ने। यस किसीमको पासोको प्रयोगबाट ठूलो संख्यामा भाले पुतलीहरु आकर्षण गरी नष्ट गर्न सकिन्छ।
(१) जैविक तरिका (Biological Method):
• ट्राइकोग्रामा चिलोनिस वा टेलिनोमस स्पेसिस 1 हप्तामा 3 पटक प्रति हेक्टर 10000० का दरले छोड्ने। यो परजीवीहरुले यो कीराको अण्डामा फुल पारेर खतरनाक कीरा नियन्त्रणमा काम गर्ने भएकोले यी परजीवीहरुको पनि प्रयोग गर्न सकिन्छ ।
• NPV/Beauveria bassiana/Baccilus thuringiensis जस्ता शुक्ष्म जैविक विषादीहरुको प्रयोग गर्ने।
• पतेरो, बारुला, कमिला, चरा र चमर्रो आदिले पनि यो कीराको नियन्त्रणमा मद्धत पुर्याउँछ । त्यसैले, यस्ता कीराहरुलाई संरक्षण पनि गर्न सक्नुपर्दछ।
• विरुवा उम्रेको 10 दिन पछि निमयुक्त विषादी Azadiractine 0.03% EC, ३-5 मिलिलिटर प्रति लिटर पानीमा घोलेर 10-12 दिनको फरकमा पुनः प्रयोग गर्ने।
(१) रसायनिक तरिका (Chemical Method):
• कीराको क्षति देखिनासाथ तल उल्लेखित विषादीहरु मकैको वोट पुरै (पात, डाठ र गुभो) भिज्ने गरी स्प्रे गर्ने।
• एमामेक्टीन बेन्जोएट 5% SG 0.5 ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने।
• स्पिनोसाड 45% SC १ मिलिलिटर प्रति 3 लिटर पानीका दरले स्प्रे गर्ने।
• क्लोरान्ट्रानिलिप्रोल 18.5% SC, १ मिलिलिटर प्रति 3 लिटर पानीका दरले घोलेर बोट पुरै भिज्ने गरी स्प्रे गर्ने।
• कीरामा विष पचाउन सक्ने क्षमताको विकास हुन नदिन एउटा विषादी एक-दुई पटक स्प्रे गरेपछि अर्को पटक पुनः स्प्रे गर्नुपर्ने भएमा सम्भव भएसम्म सोही विषादी स्प्रे नगर्ने (अर्को विषादी स्प्रे गर्ने)।विषादी प्रयोग गर्दा विहानीपख अथवा साँझपख स्प्रे गर्दा बढी प्रभावकारी हुन्छ।
श्रोत :- वाली संरक्षण प्रयोगशाला
प्रदेश नं. १ विराटनगर