Latest From our Blog
नेपालमा कृषि क्रान्ति; कस्को भरमा??
सिन्धुपाल्चोकको मेरो घर र खेतबारी सम्झिन्छु; सानो हुदाको बेलाको। हाम्रो खेती थोरै थियो, अहिले भएको जमिनको लगभग आधा मात्र। मेरो बुबा स्कुलमा पढाउनु हुन्थ्यो, हामी सानै थियौं हामी पनि पढ्न जान्थ्यौं। घरमा २ वटा ठूला पशु थिए, १०-१२ वटा बाख्रा, ५-७ वटा कुखुरा र सबैको व्यवस्थापन गर्ने मेरो आमा। त्यसबाहेक ६ पाथी धानको विउ लाग्ने खेत र केहि सिंञ्चाई नहुने र २ बाली मात्र हुने बारी। शुक्रवारको आधा दिन र शनिवारको दिन हामी सानै उमेर देखिनै खेतिपातीको काममा व्यस्त हुन्थ्यौं। हिँउदको महिनामा बेलुका स्कुल बाट आएर बारीमा जान समय पुग्दैनथियो तर सबै सिजनमा विहान घाँस काट्ने काममा सबैला सघाउनु पर्ने। यसरी हाम्रो खेतीपाती चलेको थियो। खेतमा ३ बाली (मकै, धान र तोरी) र बारीमा २ बाली (मकै र कोदो)। त्यस बाहेक पनि भट्मास, मास र मस्यांङ्ग (पश्चिम नेपालमा झिलिङ्गी/ सिल्टुङ्ग) को पनि खेती गरिन्थ्यो। आफ्नो घरमा जनशक्ति नपुग्ने अवस्थामा गाँउमा ज्यालादारी गरेर खाने मान्छेहरू पाईन्थे। सिजनमा पर्म गर्नु पर्थ्यो भने अफ सिजनमा काम गर्ने मान्छे ज्यालामा पाईन्थे।
खेती गर्ने जमिन कसैको बाँझो थिएन। यति सम्म कि सडक बनाउदा मुआव्जा लिईसकेको जग्गा पनि सडकले भोगचलन नगरून्जेल साना साना गह्रा बनाएर खेती गर्थे अधिकांश मान्छेहरू। त्यसरी बनाएका गराहरूमा आजसम्म पनि हाम्रो खेती भैराखेकै छ; पहिले अन्नको खेती थियो अहिले फलफूलको खेती छ।
गाँउ छोडेको धेरै वर्षपछि पक्कापक्की गाँउमै बसेर खेती र पशुपालन गर्ने सुर कसेर २०७२ सालमा म गाँउ गएँ। पहिले जस्तो थिएन। धेरैको जमिन पुरै खेती गर्न नसकेर ठाँउ-ठाँउमा बाँझै थिए। कारण एउटै थियो पलाएन। म पनि गाँउबाट पलाएननै भएर लगभग २५ वर्ष पछि गाँउ पुगेको थिएँ। मेरा दौंतरीहरू मध्य धेरैजसो गाँउमा थिएनन्। स्थानिय स्कुलमा शिक्षक भएर बसेका केहि साथीहरू बाहेक मेरा साथीहरू कोहि थिएनन्। कोहि शिक्षाको लागि, कोहि रोजगारीको लागि, कोहि स्थाई रूपमा बसाई सरेर त कोहि बिदेशमा गएर; गाँउको जनसंख्या पहिले जति थियो त्यसको अनुपातमा निकै कम थियो। अनुपातमा मात्र फरक तर महिला, पुरुष सबैको कमी थियो गाँउमा। अधिकांश बुढाबुढी, केटाकेटी, केहि महिलाहरू र थोरै काम गर्ने उमेरका पुरूषहरू गाँउमा थिए। २०७२ बैशाख १२ गते भुकम्प गयो; गाँउभरीमा ३-४ वटा बाहेक सबै घर ढले धेरै मान्छे मरे तर मरेकाको दाहसंस्कार पनि समयमा गर्न सकिएन; समस्या उहि थियो; युवाहरूको कमी। केहि बचेखुचेकाहरूले धेरै दिन लगाएर दाहसंस्कार सक्काए।
त्यसपछिको अर्को संयोग; म २०७२को भदौ बाट जागिर खान आएँ; धादिङ जिल्लाको उत्तरी भेगमा। काम थियो कृषि तथा जिविकोपार्जनमा सहयोग गर्ने। यहाँ आएर थाह भयो; मेरो गाँउमा त धेरै युवाहरू रहेछन्, जहाँ म अहिले सम्म काम गरिरहेको छु त्यस ठाँउमा त अझै कम छन्। युवा मात्र हैन, युवतीहरू पनि। कुनै घरमा गएर “छोरा कहाँ छन?” भनेर सोध्यो भने “विदेश” उत्तर आउछ वा “धादिङ बेशी” वा “काठमाडौं”। “अनि बुहारी नि?” उत्तर आउछ “बच्चा पढाउन धादिङमा” वा “काठमाडौंमा”। श्रीमान विदेश गएर पनि राम्रो आम्दानी गर्न नसकेका वा सासु-ससुरालाई “जवरजस्ती” हेरविचार गरेर, गाँउमै उकुस-मुकुस सहेर बसेका केहि युवतीहरू बाहेक। जो गएका छैनन्, मौका कुरेर बसेका छन्, कसैको भिसा आएको छैन, कोहि पासपोर्ट बनाउने सुरमा छन्।
अव फर्केर आएकाहरूको कुरा गरौं। युरोप, अमेरिका वा अस्ट्रेलिया गएका त फर्किने कुरै आएन, उतै हराउने नै भए। अरव वा मलेशिया गएकाहरू पनि सके त काठमाडौं वा पोखरा वा नारायणघाट जस्ता ठूला सहरमा, नसके कम्तिमा जिल्ला सदरमुकाममा सानोतिनो सम्म घर बनाएर बस्ने तर गाँउ नफर्किने। अहिले भूकम्प पछि पुनर्निर्माणको चरणमा काम भैरहेको छ; गाँउमा काम गर्ने जनशक्ति छैन र जति संख्यामा पुनर्वास हुनु पर्ने थियो पैसाको कारणले भन्दा पनि जनशक्ति पलाएनको कारणले हुन सकेको छैन; मेरो व्यक्तिगत अवलोकन र बुझाईमा। जव कि यो अवस्थामा गाँउमै विदेशजाँन छुटेका केहि युवाहरूले राम्रै आम्दानी लिईरहेका छन्।
यस्तो अवस्थामा म काम गरेको संस्था लगाएत अन्य संघसंस्थाहरू र नेपाल सरकार कृषिको क्रान्ति गर्न तम्सिएको छ। काम गर्ने जनशक्तिको अभावमा कसरी हुन्छ क्रान्ति? कसरी कृषिमा आधारित जिविकोपार्जन सुधारको कार्यक्रमहरू गर्न सकिन्छ?
अव केहि कुरा गरौं व्यवहारिक पक्षको। हामीले गाँउमा युवाहरूको कमी भएको कुरालाई महसुस गर्दै थोरै जमिनमा केहि उन्नत प्रविधिको प्रयोग गरेर धेरै आम्दानी लिन सकिने सिप तथा प्रविधि गाँउमा भित्र्याउने जमर्को कस्यौं। प्लास्टिक घरको लागि प्लास्टिक पनि बाँडियो, आवश्यक तालिम पनि दिईयो, विउ-विजन, थोपा सिंञ्चाई प्रणाली आदि सबै उपलब्ध गराईयो। केहि परिवर्तन त भयो तर अपेक्षित परिवर्तनको नजिक पनि पुग्न सकिएन। यसरी सबै मेहनत, सहयोग र ज्ञान सबै दिदा पनि नजिक पनि पुग्न नसक्नुको कारण खोज्दै जाने क्रममा एउटा अर्को प्रमुख कारण पनि मैले महसुस गरें, त्यो हो परिवर्तन हुन सक्ने उमेर पार गर्नु र नयाँ प्रविधि ग्रहण गर्न नसक्नु। हामी उन्नत तरिकाले खेति गर्ने प्राविधिक ज्ञान गाँउका अधिकांस ५० वर्षको उमेर कटेका व्यक्तिहरूलाई दिदै छौं जस्ले नयाँ प्रविधि राम्रो संग ग्रहण गर्न सक्दैन र चाँडै विर्सन्छ। त्यसको साथसाथै उमेर संगै ढल्किदै गएको काम गर्ने जोस त अर्को छदै छ। प्रविधिको नाममा हामी गाँउ-गाँउमा मिनी पावर ट्रिलर दिईरहेका छौं जो चलाउन सक्ने, बारीका काँल्ला- उकाल्न तथा ओराल्न सक्ने बलिया हात पाखुरा भएका युवा छैनन्। मेसिन हो, चलाए पछि बिग्रिन्छ र मर्मत गर्नु पर्ने हुन्छ तर नयाँ प्रविधि बुझ्न सक्ने पढेलेखेका युवा गाँउमा छैनन्। सहयोग मात्र गरेर कसरी हुन्छ क्रांन्ति; सहयोगको उचित प्रयोग गर्ने जनशक्ति खै?
त्यस बाहेक अर्को तथ्य पनि छ जस्ले यो पेशा लाभदायक देख्दा देख्दै पनि युवाहरू विदेश मात्र ताकेर बस्छन् र मौका पर्ने वितिक्कै पलायन हुन्छन्, त्यो हो यो पेशामा ईज्जतको कमी। हालका दिनहरूमा केहि युवाहरूले राम्रो संग खेती गरेर मनग्य आम्दानी नगरेका पनि हैनन् र ईज्जत नकमाएका पनि हैनन् तर समग्रमा हेर्ने हो भने आम नागरिकले किसानको बारीमा फलेको चिल्ला तरकारीको मात्र ईज्जत गर्न जानेको छ; त्यहि बारीमा चिल्ला तरकारी फलाउन फुस्स्रो तथा पसिनाले गन्हाउने शरिर लिएर काम गरिरहेको किसानको ईज्जत गर्न जानेको छैन।
आजको मितिमा व्यवसायिक कृषिनै गर्छु भनेर फार्म खोल्दा पनि काम गर्ने जनशक्ति पाईदैन। अरव वा मलेशियामा पाईने तलवको प्रस्ताव गर्दा पनि ति जनशक्ति थोरै पैसामा पनि विदेशै जान तयार छन् र त्यसको मुख्य कारण हो कृषि पेशामा ईज्जतको कमी। उदाहरण लिन मैले अरूको कुरा सम्झिनै पर्दैन, हामीले पाल्पामा चलाएको सृजना फार्मकै कुरा गरे हुन्छ। औषत भन्दा निकै राम्रो तलव, खान-बस्नको सुविधा, बच्चाहरूलाई पढाउन सुविधा लगाएतका सुविधा दिदा पनि त्यो भन्दा कम तलवमा विदेशमै काम गर्न गएका मेरा धेरै कर्मचारीहरूको अनुभव म संग छ। जव सम्म हामीले ति पलाएन हुने युवाहरूलाई यो पेशामा ईज्जत देखाउन सक्दैनौं हामीले राम्रो आम्दानी सुनिश्चित गर्दा पनि राम्रो तलव दिदा पनि, प्रविधि दिदा पनि पलाएन रोक्न सकिन्न।
अहिले सम्म कुरा गरियो अलिक कम पढेका युवाको जस्ले नेपालमै बसे पनि खेती पाती वा सामान्य जागिर पाउन सक्छ। अव कुरा गरौं कथित “पढेलेखेका” युवाहरूको। उदाहरणको सुरूवात म बाटै गर्छु; म पनि कथित “पढेको”मा गनिदो रहेछु। बनस्पति शास्त्रमा स्नातकोत्तर गरिसकेपछि धेरै साथीहरू विदेश गए; कोहि पढ्नकै लागि गए कोहि “पढ्नको” लागि गए। बाहिर गएका मेरा साथीहरूमध्य फर्केर आएको र यतै बसेर काम गरेको मैले भेटेको छैन र भेट्ने पनि छैन। मेरो ईच्छा भएन, गईन। मेरा धेरै साथीहरूको बुझाईमा मैले नसकेर नगएको हो। कोसिसै कहिले पनि गरिन भनेपछि नसकेकै होला; त्यो पनि मानें। साथीहरूको लागि म “बिचरा!!!!”। यस भन्दा पहिलेको जागिर राम्रै थियो; आम्दानीले पुगेकै थियो छोडें; खेतीपाती गर्न थालें। त्यसपछि त घरको लागि पनि म “बिचरा!!!!”। पाल्पाको फार्मबाट सिन्धुपाल्चोक फर्कें गाँउमै खेती गर्न थालें; अव गाँउलेको लागि म “पढेर विग्रेको” “बिचरा!!!!”। विविध कारणले अहिले जागिरमा छु; आर्थिक रूपमा म सन्तुष्ट छु तर मानसिक रूपमा कसैले सोधेको पनि छैन र सोधेमा म उत्तर पनि दिन्न।
सबै कुरा सोच्दा, मनन गर्दा मलाई कृषिमा क्रान्ति गर्ने कुरा हाँसो उठ्दो लागेर आउछ। क्रान्ति गर्नु पर्छ; म पनि सहमत छु तर कसरी? मैले त सोच्न सकेको छैन। म त क्रांन्ति गर्न पहल गर्ने निकायले यि कुराहरूको जवाफ दिए हुन्थ्यो भन्ने चाहन्छु तर विचराहरू कसरी दिउन? उनीहरू पनि कृषि गर्ने आँट भएको भए किन क्रांन्तिका पक्षधर हुन्थे र?
अन्तमा केहि रमाईला प्रसंगहरू जोड्न चाहन्छु:
“कृषिमा क्रान्ति नगरे बढ्दो जनसंख्याको खानाको माग पुर्याउन सकिदैन” मेरो विचारमा संसारको जनसंख्या अहिलेको भन्दा दोब्बर हुदा पनि खाद्य संकट हुनेवाला छैन, त्यो पनि हाल खेती गरिरहेको वा खेती गर्न छोडेको जमिनको प्रयोग गर्दा। उदाहरणको लागि खेति गर्ने जमिनको अनुपातमा इजराईलको खाद्य उत्पादन र उनीहरूको निर्यातले कति जनसंख्या धानेको छ हेरे हुन्छ।
“धेरै डाक्टरले निजी क्लिनिकमा काम गर्छन् र एक दिन आफ्नै हस्पिटल खोल्ने सपना देख्छन्”। कृषि पढेकाले जागिर खादै आफ्नो पनि खेतिपाती गरेको वा रिटायर्ड भएपछि आफैले फार्म खोलेर व्यवसाय गरेको कसैले देखेको छ? छ नै भने पनि कति जना ले?
अन्तमा जो क्रांन्तिका पक्षधर छन्; उनीहरूलाईनै यो क्रांति सफल हुन्छ भन्ने कुरामा विश्वास छैन। छ भने खोलुन आफ्नो फार्म, व्यवसायी बनुन्, गरिव किसानलाई त बजार थाह छैन, बजार थाह भएकोले बजार व्यवस्थापन गरुन्, निर्यात गरुन र नमुना बनुन् जस्ले गर्दा यो पेशाले ईज्जत पाओस्। विदेश गएका फर्किन्छन् र गाँउमा भएकाले भारी बोकेर नगद् कमाउनुको सट्टा बारी खोस्रेर नगद कमाउन तम्सिन्छन्।
जय होस!!