Latest From our Blog
अर्ग्यानिक खेतीको प्रमाणीकरण (Organic Certification) : कहाँ गर्ने? कसरी गर्ने?
जैविक खेतीको प्रमाणीकरण भनेको के हो?
जैविक (खेती) को प्रमाणीकरण भनेको जैविक प्रक्रियाबाट कृषिजन्य वस्तु वा खाद्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई प्रमाणित गर्ने प्रक्रिया हो । जैविक प्रमाणीकरणले बिउ बिजनका आपूर्तिकर्ता, कृषक, खाद्यान्न प्रशोधन कर्ता, होटल तथा खुद्रा पसलहरूलाई प्रमाणित गर्दछ।
प्रमाणीकरण कसले गर्छ?
प्रमाणीकरणको काम देश अनुसार कि त सरकारले कि निजी संस्थाहरूले गर्छन् । नेपालमा भने थुप्रै निजी संघसंस्थाहरूले जैविक प्रमाणीकरणको काम गर्दछन्।
जैविक प्रमाणीकरणका मापदण्डहरू के के हुन्?
सामान्यतया निर्धारित मापदण्डहरूले प्रमाणीकरणलाई निर्देशित गर्दछन् । जस अन्तर्गत उब्जाउने प्रक्रिया, भण्डारण, संशोधन, प्याक गर्ने तरिका र ढुवानी आदि पर्दछन्। जैविक प्रमाणीकरणका लागि ध्यान दिइने अन्य महत्त्वपूर्ण तत्त्वहरू यस प्रकार छन्:
- उत्पादन बढाउन र पशुपन्छीलाई खुवाउनका लागि मानवीय मल/मूत्रजन्य फोहोरको प्रयोग नगर्ने
- कृत्रिम रासायनिक वस्तुहरू ( रासायनिक मल, कीटनाशक औषधि, किटाणुनाशक (प्रतिजैविक) वस्तु, खाद्यपदार्थलाई स्वादिष्ठ बनाउन प्रयोग गरिने वस्तुहरू), प्रजननात्मक किसिमले रूपान्तर गरिएका जीवहरू तथा अत्यधिक प्रकाशको प्रयोग नगर्ने
- तिन वर्षभन्दा अघिदेखि कृत्रिम रासायनिक वस्तुहरू प्रयोग नगरिएको जमिनलाई कृषि उत्पादनका लागि उपयोग गर्ने ।
- उत्पादन र बिक्रीको हिसाब लिखित रूपमा राख्ने
- समयसमयमा स्थलगत निरीक्षण तथा पर्यवेक्षण गर्ने
- उत्पादन, भण्डारण, प्रशोधन, प्याकिङ तथा ढुवानी गर्दा जैविक उत्पादनहरूलाई अन्य उत्पादन (अजैविक) सँगसँगै नराख्ने ।
जैविक उत्पादन प्रमाणीकरण किन?
जैविक उत्पादन प्रमाणीकरणले उच्चतम गुणस्तरीय जैविक उत्पादनको उपभोग गर्न पाउने उपभोक्ताहरूको अधिकारलाई सम्बोधन गर्नुका साथै गलत अभ्यास र जालझेललाई रोक्ने हुँदा यसले जैविक उत्पादन सम्बन्धी स्वस्थ व्यवसायलाई प्रोत्साहित गर्दछ ।
प्रमाणीकरणको सामान्य प्रक्रिया
स्थानीय/स्वदेशी तथा विदेशी प्रमाणीकरण नियोगहरूबाट जैविक प्रमाणीकरण प्राप्त गर्नका निम्नलिखित आधारभूत निर्देशिकाहरूको पालना गर्नु पर्ने हुन्छ ।
पहिलो चरण: दर्ता तथा आवेदन
सर्वप्रथम कुनै पनि प्रमाणीकरण संस्थामा आवेदक दर्ता हुनुपर्छ । त्यसपछि उक्त संस्थाले प्रदान गर्ने आवेदन प्याकेज अन्तर्गत निम्नलिखित कागजात प्राप्त हुन्छन्:
- आवेदन फारम
- सहमति पत्र
- जैविक पद्धतिको योजना
- यसपछि निम्नलिखित क्रियाकलापबारेको जानकारी आवश्यक हुन्छ
- रेकर्ड राख्ने
- उत्पादन विवरण
- प्रयोग गरिएका निवेश (inputs) हरूको विवरण (उत्पादकत्व, महामारी नियन्त्रण तथा रोग व्यवस्थापन)
- अवलम्बन गरिएका नियन्त्रणात्मक उपायहरू
- दूषित हुनबाट रोक्न अपनाइएका तौरतरिकाहरू
- माटो तथा पानी परीक्षण गरिएको प्रतिवेदन
- खेती गर्ने सहजतासम्बन्धी नक्सा
- प्रयोग गरिने उत्पादन चिन्ह
- स्थलगत विवरण पर्चा (बालीको फेहरिस्त, उत्पादक समूह र जङ्गली बालीका लागि)
- सूचि पत्र र कृषि उत्पादनहरू
- जैविक उत्पादनको रूपरेखा
- उत्पादक समूहका लागि प्रश्नावली (अन्न उत्पादक समूहका लागि मात्र)
- यसपछि निम्नलिखित क्रियाकलापबारेको जानकारी आवश्यक हुन्छ
दोस्रो चरण: जैविक प्रमाणीकरण प्राप्त गर्नका लागि दिइने आवेदनको समीक्षा
- प्रमाणीकरण गर्ने निकायमा समग्र रूपमा भरिएको आवेदन बुझाइसकेपछि आवेदन पूरा भए नभएको जाँच्नका लागि यसको पुनरावलोकन गरिनुका साथै निर्देशन अनुसार भए नभएको जाँच गरिन्छ । आवेदनको स्तर र मापदण्ड पूरा भएका अवस्थामा स्थलगत लेखा परीक्षण र पारस्परिक सम्झौताका लागि आवेदकसँग सम्पर्क गरिने छ ।
तेस्रो चरण: निरीक्षण
- निरीक्षकले निर्धारित मितिमा सम्बन्धित उद्योग क्षेत्रको निरीक्षण गर्छन् । निरीक्षणका क्रममा निरीक्षकले निवेदनमा उल्लेख गरिए अनुसार उद्योग क्षेत्रको सत्यापन गर्नुका साथै सम्भाव्यता र जैविक स्तर अनुसार भए नभएको मूल्याङ्कन गर्दछन् । निरीक्षकले आवेदकबारे थप जानकारी प्राप्त गर्नका लागि अन्तर्वार्ता पनि लिन्छन् ।
- कारबाहीका लागि निरीक्षकले अपनाउने पद्धतिका आधारमा निरीक्षणका लागि आधा दिन देखि तिन दिनसम्म लाग्न सक्छ ।
- निरीक्षकले मूल्याङ्कन प्रतिवेदन बुझाएपछि सम्बन्धित प्रमाणीकरण निकायबाट उक्त प्रतिवेदनको मूल्याङ्न गरिन्छ ।
चौथो चरण: सहायक समीक्षा
- निवेदकबारे अन्य अतिरिक्त सूचना प्राप्त गर्नुपर्ने देखिएमा सहायक समीक्षा पनि गरिन्छ ।
- निरीक्षकले प्रतिवेदन बुझाइसकेपछि गरिने सहायक समीक्षाका लागि दुई दिनदेखि चार दिनसम्म लाग्न सक्छ ।
पाचौं चरण: प्रमाणीकरणबारेको निर्णय
- अन्तिम निर्णयका लागि सहायक समीक्षाको प्रतिवेदनसहित निरीक्षकको प्रतिवेदनलाई प्रमाणीकरण निकायको प्रधान कार्यालयमा पठाइने छ।
- प्रधान कार्यालयबाट जारी गरिएको प्रमाणीकरण प्रमाणपत्रका साथमा प्रमाणीकरणका सर्तहरू उल्लेख गरिएको पत्रसमेत संलग्न हुन्छ ।
- जैविक प्रमाणपत्रमा आवेदकको कम्पनीको विवरण, प्रदान गरिएको प्रमाणपत्रको वर्ग तथा प्रमाणित जैविक उत्पादनहरूको सूचि समेत समाविष्ट हुन्छ ।
- प्रमाणीकरणको समग्र प्रक्रिया पूरा हुनका लागि निवेदनका साथमा संलग्न कागजात तथा निरीक्षणका क्रममा गरिएको सहयोग आदिका आधारमा चार हप्तादेखि बार्ह हप्तासम्म लाग्न सक्छ।
यसरी प्रमाणीकरण निकायले प्रदान गरेको प्रमाणपत्रले जैविक उत्पादनको गुणवत्ताको निर्धारण गर्ने हुँदा यसले उत्पादक तथा उपभोक्ताका बिचमा विश्वासको वातावरण निर्माण गर्न मदत गर्दछ।
थप जानकारीको लागि अर्ग्यानिक बिज्ञ डा. राजेन्द्र देवकोटालाइ सम्पर्क गर्न सकिन्छ: 9851194227