Latest From our Blog
महँगो केसर खेती कसरी गर्ने त?
केशर संसारकै सबैभन्दा महंगो मसला बाली हो । यो ।।।रातो सुन’ को नामले प्रसिद्ध छ । यो धेरै महंगो हुनुको कारण यसलाई लगाउन गाह्रो भएकाले नभई यसको उत्पादन लिने बेलामा लाग्ने मेहनतले गर्दा हो ।
यो एउटा गानोबाट खेती गरिने बैजनी रङ्गको १५ देखि २० से. मि. उचाइ हुने वहुबर्षे फूल हो र यसको व्यावसायिक रुपमा प्रयोग गरिने भाग रातो रङ्गको पोथि अंग (स्टिग्मा) हो । युरोपको रैथाने यो बाली इरान, स्पेन, अष्ट्रिया, फ्रान्स, ग्रीस, बेलायत, टर्की र भारतको जम्मू कश्मिर र हिमाञ्चल प्रदेशमा लगाइएको पाईन्छ ।
नेपालमा पनि जुम्लामा यसको व्यावसायिक खेति सुरु गरिएका छ । यसको अन्तर्राष्ट्रिय बजार मुल्य १२ सय देखी १८ सय डलर सम्म रहेको छ । यसलाई मसला , सौन्दर्य सामाग्रीका साथै अौषधिको रुपमा पनि प्रयोग गरिन्छ ।
केशरको व्यावसायिक खेतीका लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ । हावापानी र माटोसमुद्री सतहबाट २००० मी. सम्मको उचाइमा यसको सफल खेती गर्न सकिन्छ । घाम लाग्ने ठाउँ चाहिने यसको लागि बलौटे माटो आवश्यक पर्दछ । चिम्टाइलो माटोमा यसको खेती राम्रो हुदैन । राम्रो निकास भएको ६–८ पी.एच भएको अम्लिय दखि तटस्थ माटोमा यसको सफल खेती गर्न सकिन्छ ।
केशरखेती प्रसारण
यसको प्रसारण जमिन मुनीको गानो (कोर्म) बाट गर्ने गरिन्छ । यसको एक गानोबाट ५ वटा गानो बन्न ३ बर्षको समय लाग्ने गर्दछ । यसका ठुला र साना गाना हुन्छन् । ठुला गानाबाट उम्रिएको बिरुवाबाट बढी आम्दानी लिन सकिन्छ । हाल यसको बढ्दो अन्तर्राष्ट्रिय माग र कोर्मको अभावलाई पुरा गर्न तन्तुप्रजनन् पनि गर्ने गरिन्छ ।
जमिनको तयारी र रोपण
जमिनलाइ राम्रोसंग खनजोत गरी भmारपात हटाइ आवश्यक मल दिनु पर्दछ । यसलाइ लगाउने उपयुक्त समय असार देखी असोजसम्म हो, र लगाएको एक बर्ष पछि यसको असोज कार्तिकमा फुल पूmल्दछ । यसको एक गानोबाट अर्को गानोको दुरी १० देखी १५ से.मी हुने गरी र माटोमा गानोलाइ १० से.मी गहिरो हुने गरी रोप्नु पर्दछ । यसलाई मुसा र खरायोले नोक्सान गर्ने भएकाले तिनको नियन्त्रण गर्नु पर्दछ ।
मलखाद
बर्षेनी २० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र ८० केजी पोटासको साथमा राम्ररी कुहिएका २०–३० टन गोबरमल प्रति हेक्टर दिनु पर्दछ । झार नियन्त्रण गर्न काठको धुलोले मल्चिंग गर्नु पर्दछ र झारनासकको पनि प्रयोग गर्न सकिन्छ ।
उत्पादन लिने
८० प्रतिसत जति फूलहरू फुलेपछि असोज–कार्तिकको महिनामा विहानको समय फुल टिप्नु पर्दछ । त्यसपछि फुलबाट रातो रंगको पोथी भागलाइ निकाली ४५–६० डी.से तापक्रममा १५ मीनेट सुकाउनु पर्दछ । ताजा केशरको कुनै स्वाद हुदैंन । त्यसैले यसलाइ हावा नछिर्ने भाडोमा १ महिनासम्म राखी पिसेर धुलो बनाइ प्रयोग गर्न सकिन्छ ।
यसको एउटा फूलमा तिनवटा पोथी अंग (स्टिग्मा) हुन्छन र एक ग्राम केशर बन्न १५० देखी १६० वटा फुल आवश्यक पर्दछन ।
प्रस्तुति ः रमेश उप्रेती, कृषि तथा वन विश्वविद्यालय