Latest From our Blog

कौशी खेतीमा कस्तो भाँडाहरु प्रयोग गर्न उपयुक्त हुन्छ??

कौशी खेतीका लागि यही नै भाँडा प्रयोग गरिनुपर्छ भन्ने छैन । अहिलेसम्म कौशी खेती गरेकाको छत, बरान्डा अनि कौशी हेर्ने हो भने, ठूलोमा बाथ टबदेखि सानोमा अन्डाको बोक्रासम्ममा विरुवा राखेको देख्न सकिन्छ ।

पछिल्लो समयमा थर्मोकोल (माछा राख्ने भाँडा) को बढी प्रयोग भएको देखिन्छ ।

तर, कौशी खेती गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि, पहिले सित्तैमा अनि पछि पाँचदेखि दश रुपैयाँमा पाइने यो भाँडो अहिले सय रुपैयाँ तिर्दा समेत किन्न नपाउने अवस्था छ । तर, कौशी खेती कम खर्चमै, सकेसम्म बढी लाभ उठाउन सकिने गरी गरिने काम हो । यसैले कौशी खेती गर्नलाई कुनै निश्चित भाँडो वा निश्चित रकम खर्च गर्नु पर्छ भन्ने छैन ।

हिजो आज थर्मोकोलको भाँडोसँगसँगै, सिमेन्टको बोरा, टुटेफुटेका प्लास्टिकका बाल्टिन, बाटा, माटोको गमला, तेलका प्लास्टिक, पुराना हेल्मेटलगायतका भाँडोमा समेत तरकारी रोपेको देख्न पाइन्छ ।

यसमध्ये सिमेन्टको बोरा सबैभन्दा सुलभ र उपयुक्त मानिएको छ ।

त्यसमा पनि बोराको माथिल्लो भागमा ढलान गर्ने तारको गोलो चक्का बनाई त्यसमा बोरा विस्तारै बेर्दै आफूलाई चाहिएको उचाइको बनाएर प्रयोग गर्दा आकर्षक पनि देखिने अनि लामो समयसम्म नबिग्रिने अनुभवीहरु बताउँछन् ।

कौशी खेती गर्नेहरुको अनुभव छ । थर्मोकोलको भाँडो बढी उपयुक्त देखिए पनि काग, बकुल्ला र अरु चरा आउने ठाउँमा भने ती पंक्षीले यसलाई नाश गरिदिने सम्भावना हुन्छ ।

केही घरहरुमा त कागजको बाकस (कार्टून) को पनि प्रयोग भएको देखिन्छ । कागजको बाकसलाई प्लास्टिकले पानी नछिर्ने गरी बेरेर, कौशी खेतीका लागि प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गरिएको बाकस वर्ष दिनभन्दा बढी टिक्ने गरेको अनुभव कौशी खेती गर्नेहरुको छ ।

कागजको बाकस एउटाको पाँच, छ रुपैंयाँ मात्रै पर्ने र काम नलाग्ने प्लास्टिकले बेरेर बनाइने हुनाले कौशी खेतीका लागि यो भाँडो विस्तारै मनपराइन थालिएको छ ।