सिन्धुलीका जुनार कृषकले परम्परागत कृषि प्रणालीलाई बिदाइ दिँदै वैज्ञानिक तरिकाले जुनार खेती गर्न थालेका छन् । एकीकृत कीट व्यवस्थापन आइ.पि.एम कृषक पाठशाला तालिम पाएपछि कृषकलाई कीट नियन्त्रण, मल व्यवस्थापन, बाली संरक्षण र जैविक उपायमा दक्ष बनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वय एकाइ सिन्धुलीले एक वर्ष सम्म सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ माझकुभिण्डेमा लालीगुराँस जुनार खेति आइ.पि.एम कृषक पाठशाला संचालन गरेको थियो । एक वर्ष सम्म संचालन भएको पाठशालामा २७ जना जुनार कृषकको सहभागिता रहेको थियो । तालिम पाएपछि कृषक प्राविधिक विषयमा दक्ष भएका हुन् । तालिममा कृषकले सैद्धान्तिक र व्यावहारिक दुबै ज्ञान लिएका थिए ।

गोलन्जोर गाउँपालिका – ४ मालिङ्गेमा ४ वर्ष देखि व्यवसायकि रुपमा जुनार खेति गदैँ आउनुभएको दिप्सीका आललेलाई जुनारको बोटमा कीरा लागेपछि के गर्ने भन्ने नै थाहा थिएन । तालिम पछि मलको मात्रा, कीरा पत्ता लगाउने तरिका र जैविक औषधिको प्रयोग गर्ने तरिका थाहा पाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले केहि थाहा थिएन, तालिमले धेरै कुरा सिकायो । अहिले उत्पादन पनि बढेको छ, बोटहरू पनि हरियाली छन् ।” उहाँ कीट–पातको जीवनचक्र, मौसमअनुसार खेती प्रणाली, जैविक मलको निर्माण र प्रयोग, झोल मल, फेरीमोन ट्र्याप जस्ता उपाय प्रयोग गरेर किसानी सुधार्न सक्षम हुनुभएको छ ।

सोहि स्थानकी अर्को कृषक नारायण कुमारी आलले भन्नुभयो, “तालिमले हामीलाई रासायनिक विषादीको सट्टा जैविक उपाय अपनाउन प्रेरित ग¥यो । जसले माटो पनि राम्रो बनायो र उपजमा गुणस्तर देखियो ।” जुनार बगैंचामा दीर्घकालीन रोग व्यवस्थापन, माटो स्वास्थ्य सुधार र उत्पादन वृद्धि गर्ने प्रविधिमा उहाँलाई तालिमले दक्ष बनाएको छ । उहाँले भन्नुभयो, “ तालिमले जुनार नर्सरी कसरी व्यवस्थित गर्ने, कलमी प्रविधि कसरी अपनाउने, रोपाइँको दूरी, मल व्यवस्थापन, गोडमेल, सिंचाइको प्रणाली र बगैंचाको समग्र व्यवस्थापन सम्बन्धी जानकारी दिएको छ । फल झर्ने समस्या तथा किराको संक्रमण नियन्त्रणका लागि रासायनिक मल÷औषधिमा निर्भरता घटाई जैविक विधि र घरेलु प्रविधिको प्रयोग गर्ने ट्राइकोडर्मा, निमको घोल, फेरोमोन ट्र्यापजस्ता जैविक विधिहरू प्रयोग गर्न सिकाएको छ ।” आलेले आइ.पि.एम तालिमले जुनार खेतीका लागि आवश्यक ज्ञान दिएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँ तालिम पछि आफ्नो बगैँचामा जुनार उत्पादन बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले हामी जुनारमा रोग लागेपछि औषधि छर्किन्थ्यौं, तर तालिमले हामीलाई रोग नलाग्ने बनाउने तरिका सिकायो । अब हाम्रो बगैंचा हरियो छ, फल राम्रो लागेको छ । पहिला मलको मात्रा र समय थाहा थिएन, अब त हरेक बोटको हेरचाह र पोषण तालिकामा गर्छौं । उत्पादन दोब्बर बढेको छ ।”

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वय एकाइ सिन्धुलीका प्रमुख यम कुमार श्रेष्ठका अनुसार तालिमको उद्देश्य कृषकलाई आत्मनिर्भर बनाउनु र वातावरणमैत्री खेती प्रणालीलाई प्रोत्साहन गर्नु हो । जुनार खेतीमा आइ.पि.एम प्रविधिको प्रयोगले दीर्घकालीन लाभ दिने उहाँले बताउनुभयो । गोलन्जोर गाउँपालिकाका २७ जना जुनार कृषकले तालिम प्राप्त गरिसकेका छन् । उनीहरू अब आफैंले अन्य कृषकलाई सिकाउने तहमा पुगेको उहाँले बताउनुभयो । तालिमले कृषकलाई दक्ष बनाएको उहाँले बताउनुभयो ।

मंगलबार आइ.पि.एम तालिमको समापन गरिएको थियो । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गोलन्जोर गाउँपालिकाका अध्यक्ष शकंर बरालले आइ.पि.एम तालिमले कृषकको उत्पादनलाई बृद्धि गर्ने बताउनुभयो । उहाँले पालिकाले पनि जुनार खेति विस्तार साथै उत्पादन वृद्धि गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।