बैंकको उच्च तहको जागिर छाडेर कृषि र रेस्टुरेन्ट व्यवसायमा लाग्दा पछुतो त भएको छैन नि— काठमाडौं, जोरपाटीका विनोद घिमिरेलाई चिन्नेहरूले सोधिरहन्छन्।

उनी जबाफ दिन्छन्, 'कुनै पछुतो छैन। जगिर नछाडी फार्म चलाउन सक्ने थिइनँ। आफ्नो रूचिको काम गरेको हुँ। मानो रोपेर मुरी फलाउने त्यसै भनेको होइन। संसारको सबभन्दा दुःखी पेसा कृषि हो तर मेहनत गरेपछि शतप्रतिशत प्रतिफल पाइन्छ।'

विनोद विदेशी विश्वविद्यालयबाट विद्यावारिधि गर्ने सोच बनाउँदै थिए। प्रक्रिया पनि सुरू गरेका थिए। त्यही समय जागिरका लागि केही बैंकमा आवेदन पनि गरेका थिए।

आवेदन गरेकामध्ये एनसिसी बैंक (हाल कुमारी बैंक) ले बोलायो। बैंकमा जागिर पाएपछि विनोदले विद्यावारिधि गर्ने विचार त्यागे।

'पढ्न जान लागेको थिएँ। बैंकमा जागिर पाएपछि जान मन लागेन,' उनले हाँस्दै सुनाए, 'त्यतिखेर बैंकमा जागिर पाउनु ठूलो कुरा थियो।'

सन् २००९ मा उनी जुनियर असिस्टेन्ट टेलर पदमा नियुक्ति पएर बैंकको चितवन शाखा पुगे। बिस्तारै त्यहाँ चिनजान बढ्दै गयो, साथीहरू भए। कार्यालयको काम बिहान ९ बजेदेखि बेलुका ५-६ बजेसम्म चल्थ्यो। कामबाट फुर्सद हुँदा उनी कहिले साथीहरूसँग, त कहिले एक्लै घुम्न निस्किन्थे।

 

पहाडी जिल्ला रामेछापमा बाल्यकाल बिताएका विनोदलाई चितवनका हरिया फाँटहरूले लोभ्याउँथे। गाउँमा आमाबुबासँग खेतबारीमा गएको सम्झिन्थे।

एक दिन उनले सहकर्मीलाई कृषिप्रतिको आफ्नो मोह सुनाए। चितवनकै बासिन्दा ती साथीसँग उनको कुरा मिल्यो। दुवै साथीको जग्गामा खेती गर्ने निधो भयो।  

sunita-gothale14-1724697760.jpg काउली र बन्दा रोप्ने सिजन थियो। दुई जना मिलेर सुरूमा ५० हजार रूपैयाँ जम्मा गरे। केही बिउ र मल ल्याए। दुवैजना कार्यालय बाहेकको समय खेतबारीमै खट्थे।

यसरी चार महिनामा उत्पादन निस्कियो।

'हामीले सोचेभन्दा राम्रो उत्पादन भयो। एउटै काउली तीन किलोसम्मको थियो,' विनोदले भने।

उनीहरूले उत्पादन बेच्न काठमाडौंको कालिमाटी तरकारी बजारका एक व्यापारीसँग सम्पर्क गरे। तर ढुवानी खर्चको लागत बढ्ने देखियो। उनीहरूले चितवनकै एक व्यापारीलाई तरकारी बेचे।

'हामीले बन्दा तीन रूपैयाँ किलोमा बेच्यौं। अरू तरकारी पनि त्यस्तै भयो,' विनोदले भने, 'यसै फ्याँक्नुभन्दा व्यापारीले जति दिन्छ, त्यतिमै बेच्न उचित ठान्यौं। पचास हजार लगानी गरेकोमा २८ हजार हात पर्‍यो।'

नसोचेको घाटा भएपछि उनीहरू तरकारी खेतीबाट पछि हटे।

'हाम्रो उत्पादन सिजनमा निस्कियो, अफसिजनमा निकाल्नुपर्ने रहेछ,' उनले अनुभव सुनाए, 'बजार टाढा भएर व्यापारीको मुख ताक्नु पर्दा घाटा हुँदो रेहछ।'

तरकारी खेती माया मारेर विनोद बैंकको काममा सीमित भए। 

चितवनमा करिब साढे चार वर्ष बसेर मुख्य कार्यालय काठमाडौं आए। एनसिसीमा साढे ६ वर्ष काम गर्दा जुनियर अफिसर तहमा पुगे। त्यही समय मेगा बैंकमा छनोट भएर क्रेडिट अफिसर तहमा एक वर्ष काम गरे। फेरि एनआइसी एसिया बैंकमा 'ब्रान्च म्यानेजर' भएर भैरहवा पुगे। केही वर्ष शाखाहरूमा काम गरेपछि उनी सिनियर अफिसर तहमा मुख्य कार्यालय, काठमाडौं नै आइपुगे।

विनोदले चितवनमा तरकारी रोपेर घाटा खानु परे पनि कृषिप्रतिको मोह कम भएको थिएन। खासमा एकपटक घाटा खाएका कारणले होइन, उनी लगानीका लागि पैसा नभएर पछि हटेका थिए।

'घाटा भयो भनेर त छाड्ने कुरा थिएन तर लगानी गर्ने पैसा भएन। जागिर खानु बाध्यता थियो,' उनले भने।

बैंकमा १२ वर्ष काम गरेपछि उनी आर्थिक रूपमा केही बलिया भए। उनले कृषि पर्यटन अवधारणामा फार्म खोल्ने योजना बनाए; भैंसी, बाख्रा र कालिज पाल्ने, तरकारी फलाउने, आफै रिसोर्ट चलाउने, दाजुभाइ मिलेर अघि बढ्ने।


सोहीअुनसार काठमाडौंको थलीमा आफूले चाहेजस्तै जग्गा पाए। फार्म र रिसोर्टको काम अघि बढाए। बैंकबाट दुई करोड १५ लाख रूपैयाँ ऋण लिए।

सबै बन्दोबस्त मिलेपछि २०७७ सालको अन्त्यतिर स्थानीय एक मन्दिरको नाम राखेर कुलमतेश्वर एग्रिकल्चर फार्म दर्ता गराए। कोरोनाकै बीचमा काम गरे। सुरूमा बाख्राको खोर बनाए। बाख्रालाई खुवाउन नेपियर प्रजातिको घाँस खेती गरे। धान, गहुँ र मौसमी तरकारी पनि लगाए। अनि काभ्रेबाट ६० वटा माउबाख्रा र ४० वटा पाठा ल्याए।

'त्यसपछि भने बैंकको जागिर छोड्ने टुंगोमा पुगेँ। जागिर छोडेपछि खुला आकाशमा उड्ने चराजस्तो अनुभव गरेँ,' विनोदले भने, 'यसपछि मेरो सबै समय फार्मलाई नै दिएँ।'

उनले काम सघाउन तीन जना कर्मचारी राखे। बाख्रापछि लोकल कुखुरा, भैंसी र कालिज पनि पाले।

विनोदले फार्म सुरू गर्नासाथ फेसबुक पेजबाट प्रचार सुरू गरेका थिए। कालिजको परिकार खान चाहने ग्राहक फार्ममै आउन थाले। यसपछि उनले एक जना कुक पनि राखे।

एक वर्षमै उनले फार्म परिसरमै एउटा रेस्टुरेन्ट खोले। रेस्टुरेन्ट चलाउन 'गोठालो फार्म हाउस दर्ता' गराए।

'बाख्रा पाल्नेलाई गोठालो भन्नु नै ठीक हुन्छ जस्तो लागेर यो नाम राखेको हुँ,' उनले भने।

उनको फार्मबाटै लोकल कुखुरा र खसी बिक्थ्यो। कालिजको परिकार खानेहरू पनि फार्ममै आउँथे। तर कालिज अन्यत्र गाह्रो भयो। नगरकोटका होटलहरूसम्म आफै पुग्थे। तैपनि कसैले किन्दैन थियो।

विनोदले उपाय फुराए। 

'पोषणविदलाई सोधेर कालिज खानुका फाइदाबारे फेसबुक पेजमा प्रचार गर्‍यौं। त्यति गरेपछि अनलाइनमा अर्डर आउन थाल्यो। सिंगो कालिज दुई हजार रूपैयाँमा दिँदा पनि बिकेको थिएन, अनलाइनमा ३५ सयसम्ममा बेच्यौं,' उनले भने, 'अहिले कालिजकै माग धेरै छ।'

त्यस्तै सुरूका दिनमा विनोदले पालेका सय वटा बाख्रा मरेका थिए। डेढ वर्षअघि बर्डफ्लुले माउ र चल्ला गरी पाँच हजार कालिज मरे। तैपनि विनोद निर‍‍ाश नभई काम गरिरहे।

कुल २७ रोपनी क्षेत्रफलमा फैलिएको गोठालो फार्म हाउस कागेश्वरी मनोहरा–४, सिंखडा गाउँमा छ। फार्म घुम्दा 'मिनी जू' को झल्को मिल्ने विनोद बताउँछन्। काठमाडौंबाट नजिकै भएकाले पनि ग्राहकको आकर्षण रहेको उनको भनाइ छ।

यहाँ रात बिताउने राम्रो सुविधा छ। पारिवारिक वातावरण भएकाले सबै उमेर समूहका ग्राहकले यो ठाउँ रूचाएको विनोद बताउँछन्। त्यस्तै स्कुल र कलेजका विद्यार्थी फार्म अवलोकन गर्न पनि आउँछन्। फार्ममा हाल ११ जना सहयोगी कामदार छन्।

'विद्यार्थीहरूलाई गाईंभैंसी र कृषिबारे जानकारी गराउँछौं,' विनोदले भने, 'कतिपयलाई त गाईभैंसीले कसरी दूध दिन्छ भन्ने पनि थाहा नहुँदो रहेछ।'

sunita-gothale11-1724697759.jpg
यहाँको विशेषता कालिजको परिकार र कोदोको ढिँडो हो। ढुंगामा पोलेर बनाइने बँदेलको बार्बिक्यु पनि धेरैले रूचाएका छन्। धेरैजसो परिकार फार्मकै उत्पादनबाट तयार हुन्छ। नपुग जति स्थानीय किसानबाट किनिन्छ।

'फास्ट फुड बाहेक थालीमा पस्किने खानेकुरा सबै दाउरा चुह्लोमा पकाउँछौं। अर्गानिक उत्पादन दाउरा चुह्लोमा पकाउँदा परिकार स्वादिष्ट बन्छ,' उनले भने, 'हामी कुनै परिकारमा तयारी मसला प्रयोग गर्दैनौं। तत्कालै सिलौटोमा पिसेको मसला मात्र प्रयोग हुन्छ।'

यहाँ आउने ग्राहकले बागमती नदी किनारमा बसेर खान पाउँछन्। यसरी बस्न खरले र जस्तापाताले छाएका अलग अलग तीनवटा टहरा छन्। खुला आकाशमुनि बसेर खाने सुविधा पनि छ।

आजकाल फार्म हाउसमा जाने ग्राहकका लागि हाइकिङ परीक्षण पनि सुरू भएको छ। यहाँबाट सुन्दरीजल, तारेभिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, गोकर्ण मन्दिर र उत्तरबाहिनी मन्दिरसम्मको हाइकिङ जाने सुविधा छ।

'हालसम्म साढे तीन करोड रूपैयाँ लगानी पुगेको छ। कारोबार मासिक औसत १० लाख रूपैयाँको भइरहेको छ,' विनोदले भने, 'अहिलेको कारोबारले फार्मको सञ्चालन खर्च धाने पनि प्रारम्भिक लगानी उठेर फाइदामा जान अझै तीन वर्ष लाग्छ।'

तर विनोदलाई आफूले सुरू गरेको व्यवसायमा भरपूर विश्वास छ।

उनी भन्छन्, 'कृषि पेसामा उतारचढाव हुन्छ तर पूर्ण असफलता हुँदैन।'

सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी