नेपालमा धानको खेती प्राचीन धर्मग्रन्न्थ वेद लेखिनुपूर्व नै हुने गरेको कुरा स्वयं वेदले उल्लेख गरेको छ । चार वेद मध्येको ऋग वेदमा शाली व्रीही शुक शिम्वी क्षुद्र धान्या गरी पाँच धानका नामहरू उल्लेख छन । हजारौं बर्षदेखि नेपालको संस्कृति र सभ्यतामा धानको अत्यन्त महत्वपुर्ण स्थान भएकोले हाम्रो लागि धान केवल खाना वा उपभोग्य बस्तु मात्र नभएर यो आर्थिक सामाजिक सांस्कृतिक र इतिहाससँग जोडिएको विषय पनि बनेको छ । यसको महत्वलाई आत्मसात गरेरनै किसान समुदायले उतिवेला देखिनै असार १५ लार्इ बिषेश पर्वको रूपमा मनाउने चलन चलाएको हुनुपर्छ जसको सान्दर्भिकता आजपनि उत्तिकै छ । औपचारिकताका हिसाबले भने आजभन्दा २० बर्ष पहिले विसं २०६१ अर्थात सन २००४ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयले विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एउटै मात्र देश हो।विश्वको जनसङ्ख्याको आधा अर्थात् चार अर्ब मानिसको मुख्य खाना नै चामल हो । यद्यपि नब्बे ९० प्रतिशत धान उत्पादन र उत्पादनको ५० प्रतिशत खपत एसियामै हुने गरेको छ ।
हाम्रो देशको सन्दर्भमा समुद्री सतहबाट ६० मिटर उचाइमा रहेको झापाको केचनाकवल देखि ३०५० मिटर उचाइमा रहेको संसारकै उच्च स्थान जुम्लाको छुमाचौर सम्म धानखेती हुनेगरेको छ ।
सन साठीको दशकमा वर्तमानको सबैभन्दा ठूलो धानचामलको निर्यातक देश भारतले चामल आयात गरेर आफ्नो आवश्यकता पुरा गरिरहदा नेपाल चामल निर्यात गर्ने मुख्य देशहरु मध्येमा पर्थ्यो । बि सं २०१८ अर्थात् सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धानचामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको गर्विलो इतिहास छ । जसको त्यो बेलाको मुल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । अन्त्यमा यो क्रम घट्दै गएर बि सं २०४२ अर्थात सन् १९८५ को मध्यसम्म नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । किसानले गर्दै आएको उत्पादन प्रणालीमा कृषि बिकासको नारा सहित धान उत्पादनमा सरकारको सक्रियता बढे संगै बढ्न शुरु गरेको आयातका कारण तत्कालीन समयमा धान चामल निर्यात गर्न खोलिएका आठवटा कम्पनीहरू १० वर्ष नपुग्दै बन्द हुन पुगेका थिए ।

वर्षैभरि सिँचाइ हुने जमिन मुस्किलले ३५ प्रतिशत मात्रै छ । आकासे पानीकै भरमा धान खेती गर्नुपर्ने किसानहरू सिंचाई लगाएत अन्य अनगिन्ती समस्या हरूले थिचिएका छन।‌ राज्य भन्छ यस वर्ष मलको अभाव हुँदैन तर किसानले आज पनि सहज रुपमा मल प्राप्त गर्न सकेको छैन । धेरै उत्पादनको लोभमा विदेशी बिउहरू प्रयोग गर्दा किसानहरूसँग भएका बिउहरू लोप भइसकेका कारण बजारसँग भरपर्नुको विकल्प सकिदै गएको छ । बजारबाट महँगो मूल्य तिरेर ल्याएको बिउमा चामल पस्छ कि पस्दैन त्यो पनि यकिन छैन । रोग किरा प्रकृति प्रकोप र बजारले दिने पिडा भोग्नु किसान मात्रैको नियती बनेको छ ।
२०६८मा २५ लाख २५ हजार हेक्टर खेती योग्य जमिन रहेकोमा २०७८ को तथ्याङ्कले २२ लाख १८ हजार हेक्टर मात्र खेतीयोग्य जमिन बाँकी रहेको देखाएको छ । हरेक १० वर्षमा तीन लाख हेक्टर जमिन घडेरीकरण हुँदै जाने हो भने हाम्रो कृषिको अवस्था के होलारु धान फल्ने खेतलाई टुक्रा टुक्रा पारेर बेचबिखन गरेपछि प्राप्त भएको राजस्व बाट कृषिको बिकास गर्छु भन्ने सरकारहरूले वर्षको एक दिन हरिया सरकारी टिसर्ट लगाएर हिलोमा मनोरञ्जन गरेरमात्रै कसरी धान र किसान माथि न्याय हुनसक्छरु बिगतका बर्षहरुमा असार १५ को अवसरमा गरिएका प्रतिवद्धताहरू कति पुरा भए अथवा त्यसको जवाफ नदिइकनै किसानहरूले आवधिक मठाधिशहरूको धानको बारेमा फेरि अर्को असफलता उन्मुख भाषण र आरण्य रोदन सुनिदिनु पर्ने नियती कहिलेसम्म दोहोरीरहने हो ?
चालु आर्थिक वर्षको कुरा गर्दा २०८० चैत १५ गते को मन्त्रिपरिषद्को निर्णयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २७०० तोकेको थियो। ब्यापारिले सुरूमा ३१ सय मुल्य राखे जतिखेर धान पाकेकै थिएन । आज धान पाकेर बोटमै झरिसक्यो १२०० मा पनि कसैले किन्दैन । झापा केचनाकवलका किसान टिकाराम लिम्बू भन्छन प्रति क्विन्टल ५०० मा दिन खोज्दा पनि नबिकेर पनि मेरो ५० मन धान कुहिएर खेर गयो। घट्दो खेतीयोग्य जमिनका कारण १ लाख २५ हजार हेक्टरमा भइरहेको चैतेधान खेतीलाई विस्तार नगरी धान उत्पादन वृद्धि गर्न लगभग असम्भव जस्तै छ। तर जोखिम मोलेर चैते धान खेती गर्ने किसानहरूको उत्पादन आफैंले तोकेको मुल्यमा खरिद गर्ने नैतिक दायित्व समेत सरकार संग देखिदैन । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ४५ अर्ब ३० करोड रुपैयाँको धान/चामल आयात भएको भन्सार विभागको तथ्यांक छ । यसमा २८ अर्ब ५० करोड रुपैयाँको चामल र १५ अर्ब ९२ करोडको धान आयात भएको छ ।
आज भोली अनुसन्धान केन्द्रहरू अनुसन्धान गर्दैनन् । थोर बहुत अनुसन्धान भएका बिउहरू किसान कहाँ पुग्दैनन् । संविधानतः कृषि विकासको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त पालिकाका कृषि शाखाहरू बीज वृद्धि भन्दा एग्रोभेट सम्म आइपुगेको विदेशी हाइब्रिड बिउहरूको प्रसार गर्न ब्यस्त छन । यसो गर्दा हाकिम व्यापारी उत्पादक कम्पनी सबै खुसी हुने र अन्त्यमा बोटैमा घुन लागेर समयमा ननिस्किएर भुसभित्र चामल नपसेर कतैवाट क्षतिपूर्ति नपाएर रुनुपर्ने चाहिँ किसानले मात्रै हो । यो मार्गबाट कृषिको बिकास कसरी हुन्छ ?
देशभित्र रहेका पुनरुत्पादनशील बिउहरूलाई नजरअन्दाज गर्दै उत्पादन वृद्धिका नाममा विदेशी नपुङ्शक बिउको पञ्जीकृत गर्ने तर देशभित्रको जलवायु अनुकुलित बिउलाई बेवास्ता गर्दै प्रोजेक्टको लोभमा ९५ प्रतिशत बिदेशी अनुवांशिक स्रोतहरू माथि अनुसन्धान गर्ने कार्यलाई तत्काल बन्द गर्नुपर्छ ।
रैथाने धानहरूको जातीय सुधार मार्फत ४०५सम्म उत्पादन वृद्धि भएको तथ्याङ्कहरू छन् । तर अनुसन्धान र प्रसारको अभावमा महँगो किन नहोस् हाम्रो ध्यान भने बहुराष्ट्रिय निगमहरूको झिलिमिली प्याकेटले खिचिरहेको छ ।
प्रकृति बाट प्रयोशालामा पुर्याइएका बिउ हरूलाई हरित क्रान्तिले महत्वपूर्ण उपलब्धि मानेको छ तर द्रुतगतिमा परिवर्तित जलवायु सँग जुध्नका लागि विश्वकै चौथो जलवायु जोखिमयुक्त कृषिप्रधान मुलुकको कृषिलाई बहुराष्ट्रिय निगमहरूको एकाधिकार रहने नपुंशक बिउहरूले हाम्रो खाद्य सम्प्रभूता जोगाइदेलान् भन्ने भ्रमबाट बाहिर आउन जरुरी छ ।
जलवायु परिवर्तनको कारण किसानहरूले अतिवृष्टि अनावृष्टि खण्डवृष्टिको मार खेप्न परिरहेको छ । ताप्लेजुङ ओखलढुङ्गा लमजुङ लगायतका जिल्लाहरूमा असारको सुरुवातमै अतिवृष्टिका कारण भौतिक क्षति संगै १० जनाले मृत्युवरण गरिसक्दा देशका अन्य भूभागहरूमा असारको १५ सम्म सामान्य बर्षा समेत हुन सकेको छैन । नचाहिदा बाढी चाहिदा खडेरीले किसानलाई थप पिडामा परिरहेको छ ।
सरकारका हरेक दस्तावेजहरू रोजगार सिर्जना गर्ने कुरा गर्छन् । तर कम्तिमा पुर्ण तथा अर्धबेरोजगार रहेको किसानलाई कृषि पेशाबाट गलहत्याएर पूर्ण बेरोजगार बनाउने वा विदेशमा बेच्ने दोहोरो नीतिले सरकारको चाहना अनुसार किसान उन्मुलन‌ त होला तर खाडिले काम र छिमेकीले माम बेच्न बन्द गरेको दिन आउने आंधिबेहेरी तपाइ हामिले कल्पना गरेभन्दा बाहिर हुनेछ ।