कर्णालीको झोलुंगे पुलमा फसेका १३ खच्चड मध्ये ८ वटाको उद्धार गरिएको छ । दुई वटा खच्चड मरेका छन् ।
उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए । अध्यक्ष शर्माका अनुसार एउटा खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेका हुन् । ८ वटा खच्चडको उद्धार गरिएको छ ।

आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड जालीमा फसेका थिए ।
फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो । नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ ।

बाँकी तीन वटा खच्चडलाई उद्धार गर्ने काम चलिरहेको वडाध्यक्ष शर्माले जानकारी दिए । अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन् ।


आज बिहान भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको दाँहिने तर्फको जाली लत्रिएको बताइएको छ । खुट्टा जालीभित्र पसेपछि खच्चड बीच पुलमैं फसेका थिए ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए ।