तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए ।
उनी काठमाडौँलगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउँछन् । “स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ ।

जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भिड लाग्ने गरेको छ । हाम्रो सामुदायिक वनबाट मात्रै वार्षिक रु तीन करोडभन्दा बढीको निगुरो बाहिरिने गरेको छ”, उनले भने, “वर्षायाममा मात्रै दैनिक १० गाडीभन्दा धेरै निगुरो सङ्कलन हुन्छ, प्रत्येक गाडीमा पाँचदेखि छ हजार मुठा निगुरो निर्यात हुने गरेको छ ।” उनले धेरैजसो निगुरो काडमाडौँ जाने गरेको बताए ।

विगत १० वर्षदेखि बेलबारी १० भाउन्नेमा निगुरोको व्यापार गर्दै आएकी स्थानीय भद्रमाया भट्टराईले पहिले स्थानीयस्तरमा मात्र बिक्री हुने गरेकामा पछिल्लो समय काठमाडौँलगायत सहरबाट पनि माग आउन थालेको बताए । “निगुरो केही वर्ष पहिले अहिलेजस्तो काठमाडौँ निर्यात हुँदैनथ्यो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पु¥याउनुपर्ने बाध्यता थियो तर अहिले भने काठमाडौँको माग धान्नै सकिएको छैन । त्यसैले स्थानीयस्तरमा रहेका अन्य व्यक्तिबाट सङ्कलन गरेर हामीले काठमाडौँका व्यापारीलाई निगुरो बिक्री गर्ने गरेका छौँ”, भट्टराईले भने ।


६९ वर्षीया भद्रमायाले यसै व्यवसायबाट दश जनाको परिवारको गर्जो टारिरहेको बताए । भाउन्नेकी गीता दर्जी र मनमाया दर्जीलाई पनि हरेक वर्षायममा निगुरो टिप्ने भ्याइनभ्याइ हुन्छ । यसपटक पनि हरेक बिहान ७ बजे नै जङ्गल पसेर निगुरो टिप्नु उनीहरूको दिनचर्या नै भएको छ । “यसपटक पनि दैनिकजसो बिहान ७ बजेदेखि ११ बजेसम्म निगुरो टिप्छौँ, सङ्कलन गरिएको करिब ४० मुठा रु १५ का दरले सङ्कलन केन्द्रमा बिक्री गरिरहेकी छु”, गीताले भनिन् । गीता र मनमायाजस्तै यहाँका धेरै स्थानीयले वर्षायामभरी निगुरो टिपेर सङ्कलन केन्द्रलाई बिक्री गरिरहेकाछन् । केन्द्रले प्रतिमुठा रु दुई नाफा राखेर रु १७ का दरले अन्य व्यापारीलाई बिक्री गर्दछन् ।


कृषि विज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातीको वनस्पति भएकाले चिस्यान क्षेत्रमा बढी उम्रिने गरेको र निकै स्वस्थ्यकर तरकारी मानिने भएकाले अहिले माग बढ्दै गएको बताए । “निगुरोमा प्रोटिन, भिटामिन ‘ए’, क्याल्सियमलगायतका पोषक तत्व पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । त्यस्तै यसबाट पाइने भिटामिन ‘सि’ पनि पर्याप्त मात्रामा पाउने भएकाले आँखा र आइरनले रातो रक्तकोशिका वृद्धिमा पनि सहायता पुग्ने गरेको छ । पछिल्लो समय यो महत्व बुझ्न थालिएकाले सहरी क्षेत्रमा निगुरोको माग बढ्दैछ”, डा उप्रेतीले भने ।

पूर्वपश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा जङ्गलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन् । यसबाट यहाँका सयाँै परिवारको गुजारा चलेको बताउँछन् मोरङका
डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे । उनले निगुरो टिप्न आउनेको सङ्ख्यात्मक वृद्धि र माग बढेसँगै अब सामुदायिक वन उपभोक्ता समूहले त्यसललाई व्यवस्थित गर्नुपर्ने आजवश्यकता औँल्याए ।

“जङ्गली निगुरो टिपेर धेरैको गुजारा चलिरहेको छ, यो स्थानीको आम्दानीको स्रोत बन्नु राम्रो कुरा हो तर निगुरो टिप्दा जडीबुटीलगायत अन्य प्रजातीका बिरुवा नष्ट हुनसक्नेतर्फ सचेत रहँदै व्यवस्थापन र निगरानी बढाउनुपर्ने जरूरी छ”, उनले भने,“त्यसका लागि जङ्गल प्रवेश गर्ने व्यक्तिलाई स्थानीय सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहले परिचयपत्रको व्यवस्था गरेर मात्र प्रवेशाज्ञा दिनुपर्ने आवश्यकता छ ।”
मोरङमा एक सय ३६ सामुदायिक वन र चारवटा साझेदारी वन रहेका छन् । हाल साझेदारी वनको नवीकरण गर्दा वन कार्ययोजनामा निगुरोसम्बन्धी कार्यक्रम समावेश गर्न थालिएको वन अधिकृत घिमिरेले बताए ।

बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरीले दैनिक ४० किलोमिटर टाढाबाट समेत दर्जनौँको सङ्ख्यामा निगुरो टिप्न साझेदारी वन क्षेत्रमा आउने गरेको बताए । उनले अब कार्ययोजनामै समावेश गरेर निगुरो टिप्न जानेलाई अनिवार्य परिचयपत्रको व्यवस्था गरिने बताए । उक्त वन क्षेत्रबाट हाल दैनिक दुईदेखि तीन लाखको निगुरो निर्यात हुने गरेको जनाइएको छ ।