एक रोपनी जमीनमा लगाएको स्याउ र तरकारी खेतीले परिवार नधानेपछि मुस्ताङको मार्फाका सुवबहादुर परियार पाँच वर्षअघि कतार पुगे। त्यहाँ पनि भने जस्तो काम पाएनन्। त्यसपछि स्वदेश फर्किएर आम्दानीको नयाँ बाटो खोजिरहेका उनलाई घर नजीकैको शीतोष्ण बागवानी विकास केन्द्रले फेरि तरकारी खेती गर्न सुझायो।
उनले थप चार रोपनी जमीन भाडामा लिएर पहिल्यैदेखि रोप्दै आएका रायो, बन्दा र काउली लगाए। तर यस पटक चकित परे। वैशाख पहिलो साता लगाएको रायो अन्तिम सातामै बेच्न योग्य भयो। फल्यो पनि झन्डै तीन हजार केजी। “यति धेरै तरकारी पहिले दुई सिजनमा पनि फलेको थिएन,” परियार भन्छन्, “एकै सिजनको बालीले मलाई उकास्यो।”
परियारले २०७९ जेठमा फर्सी र फागुनमा लौका पहिलो पटक रोपे। यो देखेर उनी मात्र होइन, मार्फाका पूरै किसान चकित थिए। “बुबाको पालादेखि लगाउँदा पनि यी तरकारी फलेका थिएनन्। अहिले त गट्टा लाग्छन्,” गत वैशाख १२ मा उनले बारीतिर देखाउँदै भनेका थिए।
मार्फा एप्पल प्याराडाइज होटलकी सञ्चालिका कमला लिन्चिन अहिले होटलका पाहुनालाई आफ्नै बारीमा फलेका फर्सी र लौका खुवाउँछिन्। लिन्चिनका अनुसार यी तरकारी मार्फामा पाँच वर्षयता फल्न थालेका हुन्। उनी भन्छिन्, “पहिले यी तरकारी रोप्दा लहरासम्म हाले पनि फल लाग्दैनथ्यो।”
कागबेनीस्थित जनशान्ति माविका प्रधानाध्यापक रामचन्द्र पराजुलीले त मार्फा आएको ४० वर्षमा पहिलो पटक करेला र भिन्डी फलेको देखेका छन्।
शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार मुस्ताङमा पहिले नफलेका करेला र काँक्रा चार वर्षयता निरन्तर फलिरहेका छन्, त्यो पनि बेमौसममा। जेठ महीनामा रोपिन्छन्, असार अन्तिमतिर फल्छन्। “खासगरी लहरे बालीको उत्पादन बढेको छ। गोलभेंडा, भेडे खुर्सानी, पिरो खुर्सानीको उत्पादन पनि राम्रो छ,” आत्रेय भन्छन्।
मार्फामा फल्न थालेका प्याज र लसुन।
उच्च पहाडी क्षेत्र मानिने मार्फाको उचाइ दुई हजार ६५० मिटर, जोमसोमको दुई हजार ७०० मिटर र कागबेनीको दुई हजार ८०० मिटर छ। तरकारी बाली विकास केन्द्र, खुमलटारको तरकारी खेती प्रविधि पुस्तक-२०७८ ले पनि मुस्ताङको वातावरण अहिले यी तरकारी फल्न अनुकूल बनेको औंल्याएको छ। केन्द्रको अनुसन्धान अनुसार करेला चैत-वैशाखमा लगाउँदा साउन-भदौमा र काँक्रा वैशाख-जेठमा लगाउँदा भदौ-असोजमा फल्नुपर्ने हो, तर मुस्ताङमा चाँडै फल्न थालेको छ।
यो उच्च पहाडी भेगमा केही वर्षयता लसुन-प्याज पनि फलिरहेका छन्। जबकि विकास केन्द्रकै अध्ययन अनुसार यी मसला तराई, बेंसी, खोंच, मध्यपहाडमा मात्र फल्नुपर्ने हो। मार्फाका किसान परियारले दुई वर्षयता प्याज र लसुन फलाइरहेका छन्।
शीतोष्ण बागवानीका प्रमुख आत्रेयका अनुसार पनि १२ वर्षअघि मुस्ताङमा प्याज र लसुन खेतीबारे अध्ययन गर्दा सम्भव देखिएको थिएन। “आठ-दश वर्षअघि सिसाको घरमा रोप्दा पनि बोट फस्टाउँदैनथ्यो। तर अहिले खुला क्षेत्रमै फल्छ,” उनी भन्छन्।
तरकारी बाली विकास केन्द्रका प्रवक्ता डोलराज पाण्डे मुस्ताङमा ‘क्रप्स शिफ्टिङ’ देखिएको बताउँछन्। “मुस्ताङमा अहिले फलेका भनिएका तरकारी तराई, बेंसी, खोंच, मध्यपहाडी र उच्च पहाडी क्षेत्रसम्मै फल्न सक्ने हुन्,” प्रवक्ता पाण्डे भन्छन्, “तर मुस्ताङमा तोकिएको भन्दा फरक मौसममा फल्न थालेको छ। यसलाई ‘क्रप्स शिफ्टिङ’ भनिन्छ। यस्तो परिवर्तन अन्य बालीमा पनि देखिन थालेको छ।”
उनका अनुसार जुम्लाको एक हजार ५०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा फल्ने ओखर अहिले दुई हजार २०० देखि दुई हजार ७०० मिटरसम्ममा फल्छ। पाण्डे यसमा विभिन्न कारण हुन सक्ने औंल्याउँछन्। उनी भन्छन्, “यो वर्षा र तापक्रम असन्तुलनको प्रभाव हुन सक्छ। अर्को कुरा, मौसम सुहाउँदो बीउबीजन पनि उत्पादन हुन थालेका छन्।”
पाण्डेका अनुसार अहिले काठमाडौं उपत्यकामै पनि बोटबिरुवामा बेमौसममा फूल-फल लाग्ने गरेको देखिइसकेका छन्। पहिले चिसो मौसमका कारण आँप नफल्ने काठमाडौंमा अहिले फागुन अन्तिमतिरबाट आँपका बोट फुल्नै शुरू गरिसक्छन्। विगतमा वैशाख लागेपछि बल्ल फूल लाग्न थाल्थ्यो। “यस पटक त केही बोटबिरुवामा विगतभन्दा २५ दिन अगाडि नै फूल लागे,” उनी भन्छन्, “यो परिवर्तनमा बढी प्रभाव चाहिं जलवायु परिवर्तनकै हुनुपर्छ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका मौसमविद् राजेन्द्र शर्मा बालीमा आएको परिवर्तन जलवायु परिवर्तनकै असर रहेको र अझै बढ्दै जाने बताउँछन्। शर्माका अनुसार अहिले नेपालको तापक्रम बर्सेनि ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको र सन् २०३० सम्म यो दर १.७ डिग्री सेल्सियस पुग्ने आकलन छ।
अन्तर्राष्ट्रिय मौसम वर्ष २०१० को तथ्यांक अनुसार विश्वको तापक्रम ०.५३ डिगी सेल्सियसले बढिरहेको छ। “यसको असर नेपाल जस्तो भौगोलिक विविधता भएको मुलुकमा बढी पर्छ,” शर्मा भन्छन्, “हिमतालदेखि कृषिमा प्रभाव पर्ने, सिंचाइ, जलविद्युत्, पिउने पानीको अभावसम्म हुने वैज्ञानिकले बताएका छन्।”
यूएनडीपीले निकालेको मानव विकास रिपोर्ट २००७/०८ ले पनि नेपालमा जलवायु परिवर्तनले तापक्रम बढाएको र यसले मौसममा असामान्य परिवर्तन ल्याउने जनाएको छ। यही कारणले हिमाली क्षेत्रमा धेरै सकारात्मक परिवर्तन देखिने भन्दै प्रतिवेदनले मुस्ताङ र मनाङमा स्याउको आकार बढ्ने समेत उल्लेख गरेको छ। ‘हिमाली क्षेत्रमा नयाँ तरकारी काउली, बन्दा, टमाटर, काँक्रा, खुर्सानी पनि फल्नेछन्। कम उचाइमा पाइने बोटबिरुवा पनि यी स्थानमा पाइनेछन्। हिमाली जिल्ला अघिल्ला दशकमा भन्दा हरियालीयुक्त हुन थालेका छन्,’ प्रतिवेदनमा छ (पृष्ठ ९ र १०)।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पछिल्ला वर्ष उच्च पहाडी भेगमा वर्षा र तापक्रममा घटबढ भइरहेको देखाउँछ। २०६७ सालमा जोमसोममा वार्षिक २८६.२ मिमि वर्षा हुँदा यो अनुपात बढ्दै २०७५ सालमा ३०१.१ मिमि, २०७७ मा ४०३.०१ मिमि र २०७८ मा त अहिलेसम्मकै बढी ६६५.७९ मिमि वर्षा भएको छ।
मुस्ताङको थाकमार्फामा पनि २०६७ सालमा वार्षिक वर्षाको आँकडा ४३५.९ मिमि रहेकामा २०८० सालमा त्यो ४८८.४२ मिमि पुगेको छ। यस्तै, २०६८ सालमा जोमसोमको वार्षिक तापक्रम १७.६८ डिग्री रहेकामा २०८० मा बढेर १८ डिग्री पुगेको छ। थाकमार्फामा पनि २०६८ सालमा १७.२२ डिग्री रहेको तापक्रम २०८० मा १७.३८ डिग्री पुगेको छ।
कृषि तथा जलवायुविज्ञ मेलिना खरेलका अनुसार तापक्रम र वर्षामा आउने ०.१ प्रतिशतकै परिवर्तनले पनि वातावरणमा अत्यधिक प्रभाव पारिदिन्छ। त्यसैले उच्च पहाडी जिल्लामा नयाँ तरकारी फल्नु र पहिलेकै तरकारी पनि पहिलेभन्दा बढी फल्नुलाई तापक्रम र वर्षामा भएको वृद्धिलाई कारण मान्छिन् खरेल। “सुक्खा स्थानमा पानी परेपछि माटो मलिलो बन्छ, माटोमा आर्द्रता वा सिंचाइ पुग्छ। अनि तापक्रमले फल लाग्ने तत्त्व पुर्याउँछ। यस्तोमा नयाँ तरकारी र फल पनि लाग्छन्,” उनी भन्छिन्।
नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख बालकृष्ण जोशीका अनुसार बालीमा फल र फूल लाग्नमा दिन र रातको तापक्रमको पनि प्रभाव रहन्छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि नेपालमा पछिल्लो एक दशकमा तापक्रम र वर्षा बढेको देखाउँछ। वार्षिक औसत वर्षाको आँकडा २०६९ सालमा १३२३.३ मिमि, २०७० मा १५०४.८ मिमि, २०७७ मा १६७७ मिमि र २०७८ मा १६४२.१ मिमि छ।
वर्षा र तापक्रम वृद्धिले फल-फूल लाग्ने मौसम परिवर्तनसँगै नयाँ प्रजातिका बाली लाग्नु स्वाभाविक रहेको काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सकी पानी तथा वातावरण अनुसन्धानविज्ञ हेमु काफ्ले बताउँछिन्। “यो जलवायु परिवर्तनकै असर हो,” काफ्ले भन्छिन्, “अहिले उष्ण प्रादेशिक जलवायु भनी छुट्याइएको क्षेत्रमै परिवर्तन भएको छ। पहिले पनि मनाङमा असम्भव ठानिएको स्याउ खेतीपछि सम्भव भएको हो। त्यसैले अब जलवायु अनुकूल कृषि अपनाउनुको विकल्प छैन।”
जलवायु परिवर्तनका अनेक प्रभावमध्ये क्लाइमेट जोन शिफ्टिङ (बाली हुने क्षेत्र बिस्तारै सर्दै जाने क्रम) धेरै देखिन थालेको छ। जस्तो- मनाङ, मुस्ताङको तल्लो भेगमा हुने स्याउ अहिले माथि माथि सरिरहेको छ। तर मुस्ताङको कुन्जो, कोवाङ लेतेतिर अहिले दुई दशकअघि जस्तो स्याउ फल्न छाडेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका प्रमुख आत्रेय बताउँछन्। भन्छन्, “जोमसोम, कागबेनी र माथिल्लो मुस्ताङतिर पनि यही समस्या सर्दै छ। तलतिर फल्ने फलफूल माथिल्लो भेगमा फल्न थालेका छन्।”
रोग पनि बढे
फेरिएको जलवायुले हिमाली क्षेत्रमा नयाँ नयाँ बालीसँगै रोग-कीरा पनि भित्रिन थालेका छन्। “जब जब तापक्रम बढ्छ, स्याउ र तरकारीका बोटमा कीरा पनि दोब्बर-तेब्बर हुँदै गएका छन्, पहिले पुस-माघमा लाग्ने कीरा अहिले जेठ-असारमै लाग्छन्,” आत्रेय भन्छन्। उनका अनुसार सान जोस स्केल, लाई, टेन्ट क्याटरपिलर, झुसुले जस्ता कीरासँगै जरा कुहिने, फंगस, बोक्रा खुइलिने, एरिथ्रिसियम साल्मोनिकलर फंगल जीवाणुका कारणले लाग्ने गुलाबी रोग आदि देखिएका छन्।
कृषि तथा जलवायुविज्ञ खरेल पनि पानी धेरै परेपछि बिरुवामा लाईको प्रकोप शुरू हुने र तापक्रम बढेपछि त्यसबाट अनेक रोग फैलने बताउँछिन्। उनी भन्छिन्, “यिनै कारणले अब हिमाली जिल्लामा पनि औषधि र विषादीको प्रयोग बढेको छ। बिस्तारै विषादी नहाली उब्जनी नै नहुने स्थिति आउन सक्छ।”
नयाँ बालीप्रतिको आकर्षणले हिमाली जिल्लाका पुराना बाली भने हराउने जोखिम बढेको छ। आत्रेयका अनुसार पछिल्ला वर्ष काउली, बन्दा, रायो, फर्सी, लौका, गोलभेंडा लगायत तरकारीको बीउबाट मार्फामा मात्र तीन लाख रुपैयाँसम्म राजस्व उठ्छ। पुराना बाली उहा र फापरको बीउ लिन आउने कम छन्।
मार्फा, कागबेनी र जोमसोममा चिसो स्थानमा फल्ने स्याउका पुराना प्रजाति लगाउनै छाडिएका छन्। “जलवायु परिवर्तनले नयाँ बाली फलाउने मात्र होइन, पुराना बाली विस्थापन पनि गराउन सक्दो रहेछ,” आत्रेय भन्छन्, “अब पहिला जस्तो औषधि नहालेको स्याउ पाउन पनि गाह्रो हुने भयो।”