सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् ।
सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । त्यसैगरि, सरकारले सिँचाई कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत महशुलमा सहुलियत दिने भएको छ।
आगामी आर्थिक वर्षभित्र सरकारले सबै स्थानीय तहका बालीलाई दर्ता गर्ने भएको छ । सबै बालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सबै स्थानीय तहमा पाइने बालीलाई दर्ता गर्ने सरकारले निर्णय गरेको हो ।
यसैगरी आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषि पशुपन्छी तथा माछा पालनलाई सूचना प्रविधिमा जडान गर्दै उत्पादकत्व बढाइने जनाइएको छ । एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयनका लागि स्थानी तहलाई प्रोत्साहन गरिनेछ ।
कृषियोग्य बाँझो जमिनमा पशुपालनसहित कृषिखेती गर्न प्रोत्साहन गरिनेछ । कृषि चक्र सुरु हुनु अगावै कृषि क्षेत्रलाई चाहिने आवश्यक वस्तुको व्यवस्थापन र आधार मूल्य तोक्ने समेत सरकारको घोषणा छ ।