पाँच महिनादेखिको खडेरी, माटोमा अम्लियपनाको वृद्धि र वनजङ्गलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढ्दा म्याग्दीका किसानले लगाएको तरकारी, फलफूल र मकै बालीमा रोग र कीराको प्रकोप देखिएको छ । लामो समयको खडेरीका कारण गहुँ बालीमा क्षति व्यहोरेका यहाँका किसान मकै बालीमा फौजी कीरा र तरकारी तथा फलफूल खेतीमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् ।
यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गबारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । अत्यधिक रासायनिक मलको प्रयोगका कारण ग्रामीण क्षेत्रका खेतबारीको माटोमा अम्लियपना वृद्धि हुँदा तरकारी, फलफूल र खाद्यान्न बालीमा रोग कीराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
फूल फुलेर बतिला लाग्न थालेका सुन्तलाबारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेंडालगायतमा औँसा, घोगा लाग्न थालेका मकैमा फौजी कीरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका कृषि प्राविधिकको भनाइ रहेको छ । प्राय : फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएको काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ । मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेंडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए । कीराको सङ्क्रणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेत गराइएको कृषि प्राविधिकले बताएका छन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी, गोलभँेडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको मालिका गाउँपालिका–६ उपल्लो दरवाङका किसान सुजन पौडेलले बताए । म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु¥याएको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप बढेको हो ।
घोवा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको बेनी नगरपालिका–२ का किसान भीमबहादुर रिजालले बताए । उनका अनुसार विषादीले समेत फौजी कीराको आक्रमण रोकिन सकेको छैन । बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायत स्थानका किसानले लगाएका सयौँ रोपनीको मकैबालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् ।
मङ्गला गाउँपालिकाका कृषि प्राविधिकजगत् बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्न परेको बताए । फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।
प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि फौजी कीराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पु¥याउने कृषि प्राविधिक बताउँछन् ।
यसैगरी, म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन् । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।
त्यसैगरी, डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिला समेत देखिन थालेको बगरफाँटका किसान खिमबहादुर कार्कीले बताए । बगरफाँटका किसान बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताए । यहाँको सिङ्गो गाउँका किसान केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ ।
करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए । हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए । “झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कदै आएको किसान थापाले जानकारी दिए ।
रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका खबराका अर्का किसान शोभित शर्माले बताए । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,” उनले भने । धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन् ।