प्रमुख खाद्यान्न बाली धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्द्धन गर्न २० औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइने घोषणा गरिएको छ । सरकारले यसवर्षको धान दिवस तथा रोपाईं महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरेको छ ।

औसत नेपालीको जीवन पद्दतिसँग जोडिएको धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने गरिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतिमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचारप्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरू सचेत र जागरुक बनाइ धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

यस वर्षको २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको उपलक्ष्यमा आषाढ १५ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको प्रमुख आतिथ्यमा सरोकारवालाहरू र स्थानीय कृषकहरूको सहभागितामा धान रोपाईं गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइने कार्यक्रम रहेको छ ।