कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा बेसार खेतीलाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो ।
व्यास नगरपालिका–८, सोतीबेँसीका २० कृषकले २०० रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रूपमा चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उनले भने, “यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ । बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ ।”
कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक वीउ खरिदका साथै कृषकले बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्री समेत खरिद गरिसकेका छन् । समूहमा आबद्ध सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात् धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अर्ग्यानिक बेसारका रूपमा बिक्री गर्नेछन् ।
व्यास नगरपालिका कार्यालयले व्यास–३, अनशन चौतारीनजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्ने सर्तमा कार्यालयले यस कार्यक्रमलाई अघि बढाएको हो । उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा ‘प्याक’ गरेर विदेश निर्यात गर्ने लक्ष्य छ ।
कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्द्धन कार्यलाई प्राथमिकता दिएको हो ।