पकाउँदाको बास्नाले घर नै मगमगाउने र खाँदा नरम हुने कालानमक जातको मसिनो धानको उत्पादन ह्वात्तै घटेको छ।

अग्लो बोटमा कालो बाला लहलहाउने कालानमक कुनै समय रूपन्देही र कपिलवस्तुको दक्षिणी भेगका किसानको पहिचान बनेको थियो।

केही वर्षअघिसम्म कपिलवस्तु र रूपन्देही दुई जिल्लामा झन्डै ९ सय हेक्टर क्षेत्रफलमा रोपिने कालानमक अहिले कपिलवस्तुको साढे तीन सय हेक्टर क्षेत्रफलमा खुम्चिएको छ। अरू धानको चामलभन्दा मिठो र महँगोमा बिक्री हुने भए पनि पर्याप्त सिँचाइ, मल र स्याहारसुसार चाहिने कालानमकमा रोग–कीराको प्रकोप बढी हुने गर्छ।

बोट अग्लो हुने भए पनि छोटो बाला लाग्ने भएकोले यसको उत्पादन तुलनात्मक रूपमा कम हुन्छ। नरम र मिठो हुने भए पनि उत्पादन कम हुने भएकाले किसानहरूको आकर्षण घट्दै गएको छ।  

कृषि ज्ञान केन्द्र कपिलवस्तुका सूचना अधिकारी चन्द्रप्रकाश गुप्ताका अनुसार मेहनत धेरै हुने र उत्पादन कम हुने भएकाले किसानहरूले कालानमकको खेती घटाउँदै लगेका हुन्।

गत वर्ष कपिवस्तु जिल्लाका कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकामा ३५० हेक्टर क्षेत्रफलमा कालानमक खेती गरिएको थियो।

 

यसबाट कुल ७३५ मेट्रिक टन धान उत्पादन भएको थियो।

कपिलवस्तुमा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार हेक्टरमा धान खेती हुने गरेको छ।

नवलपरासीमा पनि कालानमक खेती हुने गरेकोमा हाल शून्य जस्तै छ। असारमा रोपेको कालानमक मंसिर अन्तिम सातासम्ममा मात्रै काट्न तयार हुन्छ। करिब छ महिना लाग्ने भएकाले रोग–कीराको जोखिम बढी हुन्छ।

असारमा रोपेको छिटो पाक्ने धान असोज–कात्तिकमा उठाएपछि कीरा कालानमकतिर सर्छन्। फट्यांग्राले डाँठ र पात काटेर नष्ट गर्छ। पतेरो लागेर बालामा चामल पस्न पाउँदैन। यस्ता कारणले गर्दा उत्पादन कम हुन्छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गुप्ता कालानमक बुद्धकाली धान भएकोले किसानहरूलाई आकर्षित गरी उत्पादन बढाउन प्रवर्द्धधनात्मक कार्यक्रम लागू गरिएको बताउँछन्।

‘मसिनो तथा बास्नादार धान प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत किसानलाई बिउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको उनले बताए।

मोटो र अग्लो डाँठ हुने भएकोले कालानमकलाई सिँचाइ पनि धेरै चाहिन्छ।

कपिलवस्तुमा सिमसार र दलदल खेत प्रशस्त हुँदा र परम्परागत सिँचाइको राम्रो व्यवस्था हुँदा पहिले धेरै क्षेत्रफलमा खेती हुन्थ्यो। उत्पादन पनि राम्रो हुन्थ्यो।

सिँचाइका स्रोतहरू मासिँदै गएपछि खेतमा सुख्खापन गड्यो। कालानमकको खेती पनि घट्दै गयो। कपिलवस्तु नगरपालिकाका किसान रामसमुज कलवार तराईमा फल्नेमध्ये सबभन्दा मिठो धान कालानमक नै भए पनि मेहनतअनुसार उत्पादन नहुने बताउँछन्।

उनी भन्छन्, ‘कालानमकको बोट अरू धानको भन्दा झन्डै दोब्बर अग्लो हुन्छ। अग्लो बोटलाई पानी, मल र स्याहार धेरै चाहिन्छ। उत्पादन चाहिँ अरू धानभन्दा आधाजति मात्रै हुन्छ।’

गुप्ताका अनुसार अन्य जातको धान प्रतिहेक्टर पाँच मेट्रिक टनसम्म उत्पादन हुँदा कालानमकको औसत उत्पादन प्रतिहेक्टर २ दशमलव १ मेट्रिक टन मात्रै छ।

बुद्धकालमा तिलौराकोटको राजप्रासाद बाहिर असार पूर्णिमामा कालानमक रोपेर ‘धान मंगलोत्सव’ गरिएको इतिहास छ।

बुद्धकालीन धान भएकोले यसको संरक्षण गर्नुपर्ने बौद्ध अनुयायीहरूको धारणा छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी पुराना र रैथाने धानमध्ये कालानमक बुद्धकालीन भएकोले यसको संरक्षणका लागि खेती बढाउनुपर्ने बताउँछन्।

बुद्धकालीको भएकोले लुम्बिनी र तिलौराकोट आउने कतिपय विदेशी पर्यटकले कालानमक चामल कोसेली लैजाने गरेका छन्।

खेती बढाएर लुम्बिनी र कपिलवस्तु आउने पर्यटकहरूलाई एक छाक भए पनि यसको भात खुवाउन सके लुम्बिनीको महत्व बढ्ने त्रिपाठीको भनाइ छ।

रूपन्देहीमा कालानमकको उत्पादन नगण्य छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका बागवानी विकास अधिकृत मानदेवप्रसाद चौधरीका अनुसार रूपन्देहीमा कालानमकको उत्पादन रेकर्डमै आउन छोडेको छ।

‘लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही किसानहरूले एक दुई कट्ठा गरेर एक दुई बिघामा मात्र खेती गर्ने गरेका छन्,’ उनले भने, ‘तीन चार वर्षयता रूपन्देहीमा कालानमक रेकर्डमै देखिन छोडेको छ।’

छिटो र कम सिँचाइमा पनि राम्रो उत्पादन हुने धानका विकासे प्रजातिका कारण किसानहरू त्यतै लागेको उनको भनाइ छ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाका किसान राहुल कहार कालानमक नेपालको प्राचीन धान भएकोले यसको बिउ बचाउन सरकारले ध्यान दिनुपर्ने बताउँछन्।

उत्पादन थोरै हुने भए पनि कालानमक निकै महँगो मूल्यमा बिक्री हुने गरेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गुप्ताका अनुसार कपिलवस्तुमा कालानमक चामल प्रतिकिलो १५० देखि १६० रुपैयाँमा बिक्छ।

विज्ञहरूका अनुसार कालानमकमा पोटासियम, प्रोटिन, फाइबर, आइरन, भिटामिन बी र एन्टिअक्सिडेन्ट हुने भएकोले स्वास्थ्यको लागि पनि लाभदायक छ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले पनि केही वर्षअघि ‘शुद्धोधन कालानमक’ उन्नत जातको बिउ विकास गरेको थियो।

कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार

हालै कम्बोडियाका प्रधानमन्त्रीलाई लुम्बिनीबाट कालानमक चामल उपहार पठाइएको छ।

२५६७ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल पठाएका हुन्। प्रधानमन्त्री हुन सेनकै चाहनाअनुसार बुद्धजयन्तीमा बुद्धजन्मस्थल लुम्बिनीको रैथाने कालानमक चामल उपहार पठाइएको त्रिपाठीले बताए।

त्रिपाठीले बुद्ध जयन्तीका अवसरमा कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्व झल्केको बताए।

‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमकको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुसीको कुरा हो’, उनले भने, ‘प्रधानमन्त्रीको माग बमोजिम उपहार पठाएका छौं।’

यो उपहारबाट कम्बोडियामा पनि बुद्धकालीन कालानमकको प्रचार हुने त्रिपाठीको विश्वास छ।

उनले कम्बोडियाका प्रधानमन्त्रीसँग लुम्बिनीको विकासका बारेमा छलफल गर्ने पनि बताए।

उपाध्यक्ष त्रिपाठीलाई ‘लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टर’ का तर्फबाट चन्द्रप्रकाश पाठकले कालानामक धानको चामल हस्तान्तरण गरेका थिए।

सेन्टरले चार वर्षयता लोपोन्मुख कालानमक धानको संरक्षण र बजारीकरणको काम गर्दै आएको छ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई कालानमकको स्वाद चखाउन सके यसको संरक्षण हुने र कम उत्पादनबाट पनि किसानले लाभ लिन सक्ने विश्वास छ।