मोरङ । झापा पुगेर सुपारी उत्पादनको प्रक्रिया सिकी आएका भुवनीशंकर आचार्यले मोरङको लेटाङ नगर क्षेत्रमा खेती थालनी गरे ।

सुरुवात सुपारीको नर्सरीबाट गरेका थिए उनले । पहिले भुवनीशंकर सुपारीका बिरुवा उमारेर किसानलाई वितरण गर्थे । अहिले भने उनले १२ कट्ठा जमिनमा सुपारी खेती गरेका छन् । उनको बारीमा ५५ बोट सुपारी त फलिपनि सके ।

हाल एक बोटमा २५ देखि ४५ किलोसम्म सुपारी फल्ने गरेको भुवनीशंकरको अनुभवले भन्छ । उनी भन्छन्, 'बिरुवा राम्ररी हुर्किँदै आएको छ । यसले अबको २ वर्षमा पूर्ण आम्दानी दिन्छ भन्नेमा म ढुक्क छु ।'


मोरङ क्षेत्रमा अहिले ६० रुपैयाँ प्रतिकिलोका दरले सुपारी किनबेच हुन्छ । यहाँ बारी र बोट हेरेर 'हुण्डामुण्ड' को रूपमा पनि सुपारी बेच्ने चलन छ । भुवनीशंकरले फलेका ५५ वटा सुपारीका बोट हुण्डामुण्डको रूपमा ४० हजार रूपैयाँमा बेचिपनि सके ।

सुपारी खेतीलाई राज्यका निकायले नचिनेको भुवनीशंकरको गुनासो छ । केन्द्र सरकार त परै जाओस स्थानीय तहले पनि सुपारी किसानलाई कुनै सहयोग नगरेको उनको भनाइ छ । ‘अन्तको देखेर हामीले यहाँ सुपारी खेती थालनी गरेका हौँ ।’ उनी भन्छन्, ‘यहाँ सुपारी चाहिँ खेती नै होइन, बाली नै होइन । सुपारी केही पनि होइन भन्ने सोचाइले राज्यले किसानलाई कुनै सहयोग पुर्‍याएको छैन ।’

लेटाङबासीहरू राज्यको सहयोग पाइएन भनेर निराश भने छैनन् । अबको २० वर्षमा लेटाङलाई सुपारीमय बनाउने उनीहरूको योजना छ । अहिलेकै उत्पादनले पनि नगरपालिकामा सुपारी आम्दानीको ठूलो स्रोत बनेको भुवनीशंकरको भनाइ छ । अन्य बालीबाट आम्दानी हुनु भन्दा खर्च पनि उठ्न छोडेपछी सुपारी खेती रोजेको उनले बताए । सुपारी खेतीमा खर्च र मिहेनत कम लाग्ने र आम्दानी राम्रो हुने उनी बताउँछन् ।


राज्यसँग सुपारी किसानका गुनासा भने धेरै छन् । सुपारी खेतीमा सहयोगको साटो बालीकै रूपमा राज्यका निकायले नलिएको उनीहरू बताउँछन् । 'हामीलाई कुनै प्राविधिक सहयोग पनि छैन । कुनै तालिम पनि छैन । यसलाई बालीकै रूपमा सरकारले नलिएको अवस्था छ । यो सरकारको कुन खालको सोच हो ?' भुवनीशंकर नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई प्रश्न तेर्स्याउँछन् ।