बारा, ७ चैत । बाराको कलैया उपमहानगरपालिकाका तरकारी किसानहरू आन्दोलित भएका छन् । कलैया उपमहानगरपालिका कार्यालय घेराउ गर्दै किसानहरू प्रदर्शनमा उत्रिएका हुन् । 

झण्डै एक सयको सङ्ख्यामा भेला भएका किसानहरूले कलैया बजारमा किसानलाई शेड उपलब्ध गराउन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

 उनीहरूले आफूहरूले निर्माण गरेको शेड व्यापारीहरूले कब्जा गरेको कारण तरकारी बेच्न गाह्रो हुने गरेको र शेडको तल तरकारी राखेर बेच्दा नगर प्रहरीहरूले दुःख दिने गरेका कारण आन्दोलित हुनुपरेको बताएका छन् ।

लामो समयदेखि तरकारी किसानहरूले कलैया उपमहानगरपालिका १ कलैया बजारमा आफ्नो लगानीबाट निर्माण गरेको शेडमा व्यापारीहरूले कब्जा गरेर ठाउँ नदिएको दु:ख त छँदै छ। त्यसमाथि प्रहरीले समेत दु:ख दिएको तर कलैया उपमहानगरपालिकाले समस्या समाधान गर्नुभन्दा झन बल्झाउने काम गरेकोले आफूहरू आन्दोलित हुनुपरेको कलैया उपमहानगरपालिका ८ खपरताताका किसान विनोद कुशवाहाले बताए । प्रहरीले किसानको तरकारी जफत गरेको उनको गुनासो छ । जफत गरिएको तरकारी किसानलाई फिर्ता दिनुको साटो प्रहरीले कुहाएको कलैया उपमहानगरपालिका ११ का तरकारी किसान रामबहादुर बताउँछन् ।

किसानहरूका अनुसार चैत ३ गते प्रहरीले ५० जना किसानले बिक्रीका लागि राखेको तरकारी जफत गरेका थिए ।  किसानको मागको सम्बोधन नभए थप आन्दोलन गर्ने किसानहरू बताउँछन् । 

पटकपटक शेडलाई लिएर हुने गरेको झै झगडाका बारेमा कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएको छैन । कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले किसानहरूको माग चैत्र ६ गतेभित्र पूरा हुने बचन दिएका थिए । तर किसानहरूमाथि प्रहरीले दमन गरिरहेको बताइन्छ ।