आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । आत्मविश्वास, सफलता र कार्यक्षमताबीच नजिकको सम्बन्ध पनि छ । सफल मानिसहरू आत्मविश्वासले भरिपूर्ण हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लैजान सक्छ ।
यस्तै आत्मविश्वासी व्यक्ति हुन्, कालिकोटको तिलागुफा नगरपालिकामा जन्मिएका डा. लोकेन्द्र न्यौपाने । न्यौपाने हाल कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कार्यरत छन् ।
अचानक दुवै कानको श्रवण शक्ति गुमे पनि उनको आत्मबलले भने उनलाई नेपाल कृषि सेवा भेटेरिनरी समूह राजपत्राङ्कित तृतीय श्रेणीअन्तर्गत पशुचिकित्सक बनाएको छ ।
सङ्घीय लोकसेवाले लिएको परीक्षामा खुलातर्फबाट पहिलो नम्बरमा सिफारिस हुन सफल न्यौपाने आफू कालिकोट जिल्लाबाट नै पहिलो भेटेरिनरी डाक्टर भएको दाबी गर्छन् ।
श्रवणशक्ति गुमे पनि आत्मविश्वास घटेन
न्यौपानेले स्नातक तह चितवनमा पढेका हुन् । स्नातक सकिएपछि नेपाल पशु चिकित्सा परिषद्को लाइसेन्स प्राप्त गरेको २ महिना नबित्दै २०७६ सालमा एक्कासि उनका दुवै कानले सुन्न छाड्छन् । सामान्य स्वास्थ्य अवस्थाका न्यौपानेले एक्कासि आफ्नो सुन्ने क्षमता हराउँदा एक्लो र विनाकामको महसुस गरेको बताए ।
आफूभित्रको आत्मविश्वास, आफूप्रति भरोसा र माया अनि परिवारको साथ-सहयोग गर्दा त्यस समयमा आफूले कुनै पनि नराम्रो कदम नचालेको उनी बताउँछन् । "मलाई आफ्नो सुनौलो भविष्यको कल्पना गर्न मेरो समस्याले छेक्दै छेकेन । स्नातक पास हुनेबित्तिकैको लोकसेवा उनले बिरामी भएका कारण दिन पाएनन् ।
त्यसपछि उनी उपचारका क्रममा काठमाडौँ आए । महाराजगञ्जमा कक्लियार इप्लान्ट नामक अपरेसद्वारा उनको उपचार सुरु भयो । जब उनको कानमा लगाएको मेसिको अन गरियो तब उनी सुन्न सक्ने भए । तर अपरेसन गरे पनि त्यसको ९-१० महिनासम्म कत्ति पनि नबुझिने आवाज आउने उनी बताउँछन् । "अहिले त्यो समस्या रहेन, कुराकानी मज्जाले गर्न सकिन्छ, संवादमा बस्न सकिन्छ, बोलेका सबै शब्द नबुझे पनि केका बारेमा बोलिँदै छ भनेर अड्कल काट्न सकिन्छ ।" उनी भन्छन्, "जे होस्, सुन्न सक्ने भएँ । तर कृत्रिम आवाज प्राकृतिक आवाजसँग मेल नखाने रहेछ ।" यति हुँदा पनि आफूलाई यसमा कुनै दुखेसो र पीरको महसुस नभएको उनी बताउँछन् ।
"मेरो श्रवण ह्रास भए पनि मैले मेरो आँटचाहि मारेको थिइनँ । म एकदमै आत्मविश्वास भएको मान्छे छु । मलाई आफूप्रति भरोसा र माया पनि थियो । अनि परिवार पनि एकदमै साथ सहयोग गर्ने थिए ।" उनले भने ।
सुनौलो भविष्यको कल्पना गर्न समस्याले छेकेन
आफूभित्रको आत्मविश्वास, आफूप्रति भरोसा र माया अनि परिवारको साथ-सहयोग गर्दा त्यस समयमा आफूले कुनै पनि नराम्रो कदम नचालेको उनी बताउँछन् । "मलाई आफ्नो सुनौलो भविष्यको कल्पना गर्न मेरो समस्याले छेक्दै छेकेन । स्नातक पास हुनेबित्तिकैको लोकसेवा उनले बिरामी भएका कारण दिन पाएनन् ।
आफूप्रतिको विश्वास, माया, घरपरिवार तथा आफन्तको सहयोग र त्यस्तै साथीहरूको बीचमा भएर पनि होला, मैले कहिल्यै सानो महसुस गर्नुपरेन ।" उनले हलोखबरलाई सन्देश लेख्दै जानकारी दिए । उनको उपचार पनि नभएका वेला कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट न्यौपानेले भेटेरीनरी प्याथोलोजी विषयमा मेरिट लिष्टमा नाम निकालेर छात्रवृत्तिमा स्नातकोत्तर पढ्न थालेका थिए । समस्या छ भन्दै जाँदा केही पनि प्राप्त नहुने तर त्यससँग भिड्न सके सबै कुराको चाँजोपाँजो मिल्दै जाने उनको अनुभव छ ।
विदेश जाने सोचमा परिवर्तन : अध्यापनसँगै सरकारी सेवामा प्रवेश
सुरुमा पढ्ने वेला उनको सरकारी सेवातिर खासै मतलब थिएन । त्यस वेला आफ्नै कुनै व्यवसाय गर्ने अर्थात् विदेश नै होमिने सोच थियो उनको । श्रवण अपाङ्गता हुँदा सुर्खेतमा रहेको पशुपन्छी निर्देशनालय कर्णाली प्रदेशमा प्रदेश सरकारले दरखास्त खोलेको करार सेवामा छानिएर जब उनले काम गर्ने अवसर पाए । त्यसपछि भने उनलाई सरकारी सेवाको महत्त्व थाहा हुन थाल्यो । एउटा प्राविधिक विषयमा दक्षता हासिल गरेको मानिस यदि राम्रोसँग काम गरेर सेवा प्रदान गर्छ भने उसले ठूलो क्षेत्रलाइ फाइदा दिन सक्छ भन्ने महसुस भएको उनी भन्छन् । त्यसपछि उनले आफ्ना ती अन्य योजना असरल्ल छाडिदिए ।
तर एउटा समस्या भने आइलाग्ने भयो, पढ्नचाहिँ कसरी पढ्ने ! "तयारी कक्षाहरू अनलाइनबाट भइरहेका थिए । त्यता उपस्थित होऊँ भने बोलेको कत्ति पनि नबुझिने, अरू कोही अग्रजसँग बुझौँ भने श्रमण क्षमता गुमेकाले त्यस वेला फोनमा कुरा गर्दा नबुझिने ।" उनी अगाडि भन्छन्, "बोलेको कुरा आफूले नसुन्ने भएर दिमागमा नबस्ने, ध्यान एकाग्रता भएर पढ्न पनि नसकिने । सबैकुराबाट टाढा भए जस्तै लाग्यो र तयारी गर्न पनि छोडियो, मन पनि लागेन ।"
"पहिलो नम्बर मै नाम निकालेको भएर मैले काठमाडौँका राम्रा-राम्रा ठाउँहरू छान्ने अवसर पाएको थिएँ, तर मेरो मन भने सुगम ठाउँमा बसौँभन्दा पनि टाढा-टाढा दुर्गममा गएर सेवा गर्न पाऊँ भन्ने थियो ।" उनी भन्छन्
कर्णाली प्रदेशमा ९ महिनासम्म करारमा काम गरेर २०७७ सालको माघमा उनले त्यो ठाउँ छोडे । त्यसपछि नेपाल पोलिटेक्निक ईन्स्टिच्युटमा आएर अध्यापन गराउन थाले । सँगै उनले लोकसेवाको पनि तयारी गरिरहेका थिए ।
पछिल्लो पटक खुलेको विज्ञापनमा तयारीविना जाँदा पनि उनी अन्तरवार्तासम्म पुगेका थिए । त्यसले उनलाई थप हौसला दिइरहेको थियो ।
पहिलो नम्बरमा सिफारिस भएपछि काठमाडौँ छाडेर दुर्गम गाउँ रोजे
चालू वर्षकै असोज २ गते उनले दिएको परीक्षाको नतिजा सार्वजनिक भयो । पहिलो नम्बर मै उनको नाम आयो । "खुसी पनि लाग्यो, सबै विगत एक्कासि आँखाअगाडि आयो ।" उनले भने, सुन्ने वेलाको समय, नसुन्ने बेलाको समय, त्यस बीचका क्षण, आफ्नो संघर्ष सबै आँखैअघि आउने रहेछ ।" त्यसपछि शारीरिक अपाङ्गताले मानसिक स्थितिमा कुनै असर गर्दैन भन्ने छर्लङ्ग भएको उनको अनुभव छ ।
"पहिलो नम्बर मै नाम निकालेको भएर मैले काठमाडौँका राम्रा-राम्रा ठाउँहरू छान्ने अवसर पाएको थिएँ, तर मेरो मन भने सुगम ठाउँमा बसौँभन्दा पनि टाढा-टाढा दुर्गममा गएर सेवा गर्न पाऊँ भन्ने थियो ।" उनी भन्छन्, "भेटेरीनरीको विकास नभएको ठाउँमा भेटेरीनरी पेसाको महत्त्व बुझाऊँ भन्ने थियो । त्यसैले मैले सबैभन्दा टाढा, काठमाडौँका लागि दुर्गम, सुदूरपश्चिम आएँ । यहाँ राम्रो काम गर्न सकूँ, सरकारी पेसामा किन जानुपर्छ भन्ने कुरालाई व्यवहारमा उतार्न सकूँ र आफ्नो उत्तरबाट आफैलाई सन्तुष्ट पार्न सकूँ ।"