हिमाल, पहाड र तराईका सबै भेगमा उत्पादन हुने मकै नेपालको प्रमुख अन्नबालीमध्ये एक हो । सरकारले मकैलाई खाद्य तथा पोषण सुरक्षाका लागि आधारभूत बाली भन्दै राष्ट्रिय महत्त्वको प्राथमिकतामा राखेको छ ।
चालू आवको पछिल्लो ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) ६ अर्ब ६० करोड मूल्यबराबरको मकै आयात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ७१ करोडको आयात भएको सरकारी तथ्यांक छ ।
तर आर्थिक वर्ष २०७७/०७८ मा नेपालले १६ अर्ब २ करोड मूल्यको मकै आयात गरेको थियो भने अघिल्लो वर्ष मात्र १९ अर्ब ६४ करोडको आयात गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो ६ महिनाको आयातको अवस्थालाई हेर्ने हो भने मकैको आयातदर २४ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ ।
आगामी वर्ष ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादनको लक्ष्य
मन्त्रालयले चालू आर्थिक वर्षमा ३ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर मकै उत्पादन गर्ने लक्ष्य लिएकामा हालसम्म ३ दशमलव १५ मेट्रिक टन प्रतिहेक्टर मकै उत्पादनमा भएको जनाएको छ । जसलाई मन्त्रालयले ठूलो प्रगति ठानेको छ । आगामी आर्थिक वर्षका लागि भने मन्त्रालयले ४ मेट्रिक टन प्रतिहेक्टर मकै उत्पादन गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को २ दशमलव ८४ मेट्रिक टन प्रतिहेक्टर उत्पादनलाई आधार मानेर यो विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देशका १५ जिल्लामा २२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ । जसमा पछिल्लो ६ महिनामा ९२ हजार १ सय २२ मेट्रिक टन मकै उत्पादन भएको छ । नेपालमा झापा, खोटाङ, सिन्धुपाल्चोक, पर्वत, गुल्मी, रोल्पा, बाँके, बैतडी, धादिङ, ताप्लेजुङ, सर्लाही, रुकुम पशचिम र सुर्खेतमा जोनअन्तर्गत मकै खेती गरिँदै छ भने दाङमा सुपरजोनअन्तर्गत खेती गरिँदै छ । देशभर ९ लाख, ७९ हजार, ७ सय ७६ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । परियोजनाका अनुसार जसमा उक्त अवधिमा २९ लाख ९९ हजार ७ सय ३३ मेट्रिक टन मकै उत्पादन भएको छ । मकैको राष्ट्रिय उत्पादनमा जोन तथा सुपरजोनले क्षेत्रफलमा २ दशमलव २ प्रतिशत र उत्पादनमा ३ दशमलव ३ प्रतिशत हिस्सा ओगटेको छ ।
पोषिलो अन्नदेखि घाँससम्म प्रयोग
खाद्यान्नका लागि मात्र नभई मकैबाली घाँस, इन्धनका साथै पशु र कुखुराको दानाको पनि प्रमुख स्रोत हो । यसमा विभिन्न पौष्टिक तत्वहरू (प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, भिटामिन ई) पर्याप्त मात्रामा उपलब्ध हुन्छ । मकैबाट ग्लुकोज, तेललगायत विभिन्न औद्योगिक उत्पादन पनि हुने गर्दछ । यसलाई पोलेर, उसिनेर, रोटी, च्याँख्ला÷दर्रे, आटो बनाएर, भुटेर खाजा तथा सातु बनाएर प्रयोग गर्नुका साथै खोया, ढोड बाल्ने काममा र खोसेलाहरू चकटी बनाइ प्रयोगमा ल्याइन्छ । जमराका रूपमा पनि प्रयोग हुने गर्दछ मकै । हाइड्रोपोनिक घाँसका रूपमा मकैको प्रयोग गर्ने प्रविधि पनि आएको छ । मकै वर्षैभरि वर्षा, हिउँद तथा वसन्तयाममा खेती गर्न सकिने बाली भएकाले सिंचाई सुविधा बढेमा मकै खेतीको क्षेत्रफल बढाइ उत्पादनसमेत बढाउन सक्ने प्रशस्त सम्भावना छ ।
मकैको खेती नेपालको समुद्री सतहदेखि ९००—१८०० मि. उचाइसम्म रहेको छ । मकै खेतीका लागि पानी नजम्ने, मलिलो, दोमट तथा पीएच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ । मकैको हिमाल, पहाड र तराईमा ठाउँअनुसार भिन्नाभिन्नै जातको बीउ लगाउन उपयुक्त हुन्छ । साथै मकैबालीका लागि गोडमेल, मलजल, रोग, रोप्ने विधिदेखि व्यवस्थापनसम्मको जानकारी हुन आवश्यक छ ।