आठ वर्षअघि एउटा तस्वीर पाएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्का वैज्ञानिक छक्क परे। नपरून् पनि किन? नेपालबाट लोप भइसकेको भन्ठानिएको सिरी गाईको तस्वीर ताप्लेजुङको साब्लाखुका स्थानीय बासिन्दाले पठाएका थिए। शारीरिक बनोट हेर्दा सोही जातको हो भन्ने लागेपछि वैज्ञानिकहरूको समूह त्यहाँ पुगेर केही गाई लिएर आयो। ललितपुरको खुमलटारमा राखेर तिनको आनुवंशिक अध्ययन थालियो। अध्ययनबाट ती सिरी गाई नै रहेको प्रमाणित भयो।

“झन्डै १० वर्ष जति त हामीले सिरी गाई लोप नै भइसक्यो भन्ने ठानेका थियौं‚” खुमलटारस्थित राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान अन्तर्गतको पशु प्रजनन महाशाखाकी प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. नीना अमात्य गोर्खाली भन्छिन्, “डीएनए स्तरमा गरिएको अध्ययनबाट पनि सिरी गाई नै प्रमाणित भएपछि हामीले केही गाई र गोरु ल्याएर यहाँ नै अध्ययन गरिरहेका छौं।”

प्रतिष्ठानले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक नेपालका रैथाने घरपालुवा जनावरहरू: एक परिचयमा सिरी गाईको शुद्ध नश्ल मुलुकबाटै लोप भइसकेकाले त्यसका ठिमाहा सन्तान मात्र पाइने उल्लेख गरिएको थियो। तर‚ अहिले खुमलटारस्थित अनुसन्धान केन्द्रको गोठमा सिरी गाई राखिएका छन् जहाँ तिनको नश्ल र उत्पादकत्व आदि पक्षबारे डा. गोर्खाली सहितको टोलीले अध्ययन गर्दै आएको छ। सिरी गाईको आनुवंशिक पहिचानका लागि भुटानमा व्यावसायिक रूपमा पालिएका सोही गाईको डीएनएसँग तुलना गरिएको थियो। 

“साब्लाखुबाट ल्याइएका गाईको डीएनए भुटानको सिरी गाईसँग मिल्यो। त्यसले नेपालमा पनि यो गाई अझै रहेको र यसमा थप अध्ययन गरी नश्ल विस्तार गर्न सकिने सम्भावना देखियो‚” डा. गोर्खालीले उक्त अनुसन्धानको निचोड सुनाइन्। उक्त निष्कर्षसँगै नेपालमा शुद्ध सिरी गाई छैनन् भन्ने मान्यता पनि बाँकी रहेन।

आखिर कठिन वातावरणमा पनि हुर्कन सक्ने काला, सेता, खैरो, खरानी, टाटेपाटे रङमा पाइने मध्यम कदका यी गाई लोप भइसकेका रहेनछन्। सजिलै हुर्कने र पाल्न सजिला यी गाई कञ्चनजंघा क्षेत्रको आसपास अर्थात पूर्वी नेपालका जिल्लाहरू ताप्लेजुङ, पाँचथर‚ इलाम तथा भारतको दार्जीलिङ, सिक्किम, आसाम र भुटानमा पाइन्छन्।


बढ्दो सम्भावना
खुमलटारस्थित प्रतिष्ठानको गोठमा पालिएका १० वटा गाई र दुई वटा बहरबाट प्राप्त नतीजाले वैज्ञानिक टोली उत्साहित छ। पशु प्रजनन महाशाखाको प्राविधिक शाखामा वरिष्ठ वैज्ञानिक डा. नीना अमात्य गोर्खालीको टोलीमा कार्यरत वैज्ञानिक डा. सरोज सापकोटाका अनुसार पछिल्लो आठ वर्षको अवधिमा गरिएका अध्ययनले सिरी गाई उत्पादकत्वका हिसाबले किसानका लागि निकै उपयुक्त हुने देखिएको छ।

“पहिलो बेतमा यहाँ पालिएका गाईबाट दैनिक अधिकतम आठ लिटरसम्म दूध उत्पादन भयो। दोस्रो बेतमा नौदेखि साढे नौ तथा तेस्रो बेतमा दैनिक अधिकतम १२ लिटरसम्म दूध उत्पादन भयो‚" डा. सापकोटाले सुनाए।

उनका अनुसार, यो आँकडाले सिरी गाईमा स्थानीय वातावरणमा अनुकूल हुने क्षमताका साथै दूध पनि अधिकतम मात्रामा दिने सम्भावना देखाउँछ।

खुमलटारमा पालिएका सिरी गाईले दैनिक रूपमा दिने दूधको मात्रा फरक छ। कुनै गाईले पाँच लिटर दिन्छ भने कुनैले १२ लिटरसम्म। डा. गोर्खालीका अनुसार, यो फरक फरक उत्पादन क्षमता आफैंमा अवसर हो। “यस्तो विविधता भएपछि नश्ल सुधार गर्दै जाँदा अधिकतम उत्पादन दिने गाईको समूह विकास गर्न सकिन्छ‚” डा. गोर्खाली भन्छिन्। डा. सापकोटाका अनुसार, धेरै दुध दिने गाई र तिनबाट जन्मिएका बहर प्रयोग गरेर नश्ल सुधार गर्न सकिन्छ।

“नश्ल सुधारका लागि गाई तथा बहर छनोट गर्ने वेला आठदेखि १२ लिटर दिएका गाई तथा तिनबाट जन्मिएका बच्छाबाच्छी छान्दा हामीसँग दैनिक १२ लिटरसम्म उत्पादन लिन सक्ने अवसर छ‚” डा. गोर्खाली भन्छिन्, “हामीले सानो संख्यामा गरेको अध्ययनले रैथाने सिरी गाईमा राम्रो नतीजा देखाएको छ। राम्रो उत्पादन दिनेलाई छनोट गर्दै जाने हो भने आठदेखि १२ लिटरसम्म उत्पादन दिने गाई विकास गर्न सक्ने देखियो।”

नेपालमा पहिचान भएका याक सहित सात प्रकारका रैथाने गाई प्रजाति (लुलु, अछामी, सिरी, खैला, याक, तराई र पहाडी) मध्ये उत्पादनका हिसाबले सिरी गाईको बढी सम्भावना रहेको डा. गोर्खाली बताउँछिन्।


रैथाने प्रजातिको नश्ल सुधार दीर्घकालीन हुने र त्यसमा आनुवंशिक मिश्रण नहुने हुँदा निरन्तर सुधारको सम्भावना रहने उनको तर्क छ। सामान्यतः नश्ल सुधारका क्रममा एक जातको गाई र अर्को जातको बहरबाट ठिमाहा सन्तान जन्माउने गरिन्छ। डा. गोर्खालीका अनुसार, त्यो अल्पकालीन विधि हो। 

स्थानीय प्रजातिका राम्रा नश्ललाई विस्तार गर्दै जाँदा दीर्घकालीन सुधार हुने र त्यो सम्भावना सिरी गाईमा उच्च रहेको उनी बताउँछिन्। उनीसँगै सहमत छन् सिरी गाईबारे अध्ययनरत अर्का वैज्ञानिक डा. सरोज सापकोटा पनि। भन्छन्, “धेरै दूध दिने गाईबाट स्थानीय प्रजातिमा क्रस गर्दा पहिलो पुस्ताबाट राम्रो उत्पादन पाउन सकिन्छ। त्यसपछिको क्रसले त्यही स्तरमा उत्पादन दिंदैन। स्थानीय प्रजातिको नश्ल सुधारमा भने उत्पादन बढ्दै जाने र त्यो दीर्घकालसम्म रहने हुन्छ, त्यसको कारण उनीहरूमा आनुवंशिक मिसावट हुँदैन।”

डा. गोर्खालीका अनुसार, नेपालका सिरी गाईले भुटानका सोही जातको गाईले भन्दा बढी दूध दिएको पाइएको छ। “हामीले गरेको अध्ययनमा सिरीले अधिकतम १२ लिटरसम्म दूध दिएको पाएका छौं, जुन व्यावसायिक पालन भइरहेको भुटानमा पनि छैन। अन्तरदेशीय ज्ञान साझा गरेर नेपालका सिरीका बहरलाई प्रजननका लागि प्रयोग गर्ने सम्भावना छ। किसानलाई सहज अनुकूलन सहितको आयको दीर्घकालीन स्रोत व्यवस्था गर्न सकिने देखिएको छ‚” उनी भन्छिन्। 

त्यति मात्र होइन, गुणस्तरका हिसाबले सिरी गाईको दूध उच्च गुणस्तरीय छ। दुई नमूनामा गरिएको परीक्षणबाट यो दुधमा ए टू प्रोटिन पाइएको डा. गोर्खालीले बताइन्। यस्तो दुधलाई आमाको दुधसँग तुलना गरिन्छ। धेरै दुध दिने गाईको दुधमा भने ए वान प्रोटिन पाइने उनले बताइन्।

नीति निर्माताले नदेखेको अवसर
आनुवंशिक रूपमा शुद्ध सिरी गाई फेला पारेर उत्साहित वैज्ञानिकहरू यसलाई किसानसम्म लैजान सके जलवायु परिवर्तनका कारण जोखिममा परेको पशुपालनमा नयाँ आयाम थपिने विश्वास गर्छन्। यद्यपि‚ तत्कालै यस जातको गाईको व्यावसायिक पालन सम्भव देखिएको छैन। यसबारे अध्ययन संस्थाको चासो भने बढेको छ।


हिन्दूकुश हिमालय क्षेत्रको वातावरणीय तथा जलवायु परिवर्तन र त्यसले जनजीविकामा पारेका असर एवं सम्भावित समाधानबारे अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले नार्कसँगको सहकार्यमा सिरी गाई सम्बन्धी जानकारी विस्तारका लागि हालै प्रयास थालेको छ। इसिमोडले ललितपुरको गोदावरीमा सञ्चालन गरेको ज्ञान उद्यान (नलेज पार्क)मा स्थानीय सामग्री प्रयोग गरी बनाइएको गोठमा यही जातका तीन गाई र एउटा बहर छन्। त्यसका लागि प्राविधिक सहयोग नार्कले नै गर्दै आएको र रैथाने गाईबारे जानकारी धेरैभन्दा धेरैमा पुगोस् भनेर सहकार्य गरिएको पशु प्रजनन महाशाखाकी प्रमुख डा. गोर्खालीले बताइन्।

जर्सी, ब्राउन स्वीस लगायतका विदेशबाट ल्याइएका गाईबाट सिरी गाईका ठिमाहा सन्तान जन्माउने अभ्यासले यो जात नै सङ्कटमा परेको अवस्थालाई ध्यानमा राख्दै नीति निर्माता तथा सर्वसाधारणसम्म जानकारी पुर्‍याउने उद्देश्यले गोदावरीमा गोठ बनाएर राखिएको इसिमोडका टासी दोर्जे बताउँछन्। इसिमोडको ‘ट्रान्सबाउन्ड्री ल्यान्डस्केप कार्यक्रम’ का संयोजक दोर्जे भन्छन्, “विभिन्न रोगसँग जुध्न सक्ने र कठिन वातावरणमा पनि उत्पादन दिन सक्ने सिरी गाईको संरक्षण र विकासमा सरकारले लगानी बढाओस् तथा यसको आधारभूत तथ्याङ्क, उत्पादन र व्यवस्थामा ध्यान पुगोस् भनेर हामीले नलेज पार्कमा गाई राखेका छौं।”

नार्कका वैज्ञानिकहरू पनि आफूहरूले गरिरहेको अध्ययनले देखाएको सम्भावनालाई अब नीतिगत तहले स्वीकार गरेर सिरी गाई सम्बन्धी थप अध्ययन र यसको विस्तार किसानसम्म लैजानुपर्ने सुझाउँछन्। “हामीले उत्पादन गरेको ज्ञान किसानसम्म व्यावहारिक रूपमा लैजाने सम्भावना छ, तर त्यो काम संघ, प्रदेश र स्थानीय सरकारको हो‚” अनुसन्धानको नेतृत्व गर्दै आएकी डा. गोर्खाली भन्छिन्, “सीमित स्रोतसाधनमा हामीले गरेको अध्ययनबाट आएका नतीजा पशु सेवा विभागलाई दिंदै आएका छौं, तर यसमा त्यति चासो विभागबाट पनि देखिएको छैन। क्षेत्र पहिचान गरेर सिरी गाईलाई बढावा दिनुपर्छ।”

पहाडी ग्रामीण विकट क्षेत्रका विशेष गरी सीमान्तीकृत समुदायले लामो समयदेखि पाल्दै आएको सिरी गाई उनीहरूको जनजीविका र खाद्य सुरक्षाका लागि समेत महत्त्वपूर्ण रहेकाले यसको संरक्षण तथा विस्तार आवश्यक रहेको इसिमोडका दोर्जेको तर्क छ। भन्छन्, “भुटान, नेपाल, भारतको पहाडी क्षेत्रका बासिन्दाका लागि सिरी गाई जीविकाको माध्यम हो। ती क्षेत्रमा जर्सी सहितका बाहिरी प्रजाति पाल्न सक्ने सम्भावना निकै कम छ। किसानले ती प्रजातिलाई चाहिने खुराक नै जुटाउन सक्ने अवस्था पनि छैन। यसले गर्दा पनि सिरीको निकै महत्त्व छ।”

जलवायु परिवर्तनको सन्दर्भमा रैथाने नश्लको संरक्षण गर्नुपर्ने र यसले समग्र कृषि जैविक विविधताको अनुकूलन क्षमता विस्तार एवम् खाद्य सुरक्षामा पनि सहयोग गर्ने उनले बताए।

नार्ककी वैज्ञानिक डा. गोर्खाली पनि माथिल्लो पहाडी क्षेत्रमा जर्सी, होलिस्टिन सहितका बाहिरी प्रजातिका गाई दीर्घकालीन हुन नसक्ने बताउँछिन्। गैररैथाने प्रजातिका गाईलाई आहारा नै पुर्‍याउन गाह्रो हुने स्थानीय किसानको अनुभव रहेको समेत उनले सुनाइन्, “हामीले स्थानीय किसानसँग कुरा पनि गरेका थियौं, उहाँहरूले आफूलाई खान समस्या भइरहेका वेला कसरी बाहिरबाट ल्याएका गाईलाई खुराक पुर्‍याउन सक्नु भनेर प्रश्न गर्नुभएको थियो।”

स्थानीय खोले, घाँस खुवाएर परम्परागत गोठमा पाल्न सकिने, दुधालु, आनीबानी थाहा भएको, स्याहार गर्ने तरीका जानेको र प्रजननमा पनि समस्या नभएका सिरी गाई नै आफूहरूलाई उपयुक्त रहेको अनुभव किसानले सुनाएको डा. गोर्खालीले बताइन्।

नपुगेको ध्यान
स्थानीय वातावरणसँग अनुकूल, पाल्न कम खर्चिलो र सजिलो एवम् उच्च उत्पादन क्षमता भएका सिरी गाईको प्रवर्द्धनमा सरकारी संयन्त्रको ध्यान गएको भने पाइँदैन।

सिरी गाई पाइने र त्यसको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको प्रदेश १ सरकारसँग अहिलेसम्म रैथाने गाईलाई प्रवर्द्धन गर्ने कार्यक्रम तथा बजेट छैन। प्रदेश १ को उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलका अनुसार‚ दुग्धजन्य पदार्थको उत्पादन बढाउने तथा त्यस सम्बन्धी उद्योगको विस्तारका लागि प्रदेश मन्त्रालयले काम गरे पनि सिरी गाईको प्रवर्द्धन, अध्ययन–अनुसन्धान तथा विस्तारका लागि कार्यक्रम छैन।

“किसानलाई तत्काल मुनाफा हुने पशु चौपाया चाहिएको छ। जीविका चलाउन त्यसैबाट सजिलो हुन्छ। सिरी गाईबाट उत्पादन लिन लामो समय लाग्ने हुन सक्छ। हामीले यसमा खासै काम गरेका छैनौं‚” उनी भन्छन्, “तर, क्रस प्रजातिको विस्तारमा भने काम भइरहेको छ। दुग्धजन्य उद्योगका लागि पनि बजेट छुट्याएर काम गरिरहेका छौं।”

प्रदेश सरकार जस्तै संघीय सरकारको कृषि मन्त्रालय अन्तर्गतको पशु सेवा विभागसँग पनि रैथाने गाईको प्रवर्द्धनका लागि विशेष कार्यक्रम छैन। अनुसन्धानका लागि समन्वय गर्ने सहितका केही काम भए पनि स्रोत कम रहेको र जिम्मेवारी फेरिएकाले आफूहरूले काम गर्न नसकिरहेको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकाल बताउँछन्। त्यस्तो प्रवर्द्धनको मुख्य काम प्रदेश र स्थानीय तह भएको उनको तर्क छ। “हाम्रो जिम्मेवारी भनेको केन्द्रमा बसेर समन्वय गर्ने र आवश्यक परेको अवस्थामा सहजीकरण गर्ने हो। प्रदेश र स्थानीय तहले विशेष कार्यक्रम बनाएर प्राविधिक सहयोग माग गरेको अवस्थामा हामी जहिले पनि तयार छौं‚” डा. ढकाल भन्छन्।

नार्ककी वरिष्ठ वैज्ञानिक डा. नीना अमात्य गोर्खाली भने सरकारले केन्द्रीय तहमै सिरी सहितका रैथाने प्रजातिको विकास, विस्तार सम्बन्धी स्पष्ट योजना बनाउनुपर्ने बताउँछिन्। 

“तत्काल जस लिन पाइने बाहिरका प्रजातिको विस्तारमा सबैको ध्यान गएको छ। दीर्घकालीन रूपमा सम्भावना रहेको रैथाने प्रजाति भने ओझेलमा छन्‚” उनको आरोप छ। भुटानमा भने त्यहाँका राजाले नै चासो दिंदा सिरी गाईको व्यावसायिक पालन भइरहेको उदाहरण समेत उनले प्रस्तुत गरिन्। 

त्यसो त सिरी गाई पालिरहेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-४ साब्लाखुका किसान विदेशीभन्दा रैथाने प्रजातिकै गाई पाल्न इच्छुक छन्। उक्त वडाका वडाध्यक्ष पूर्णकुमार लिम्बूका अनुसार, गाउँमा अहिलेसम्म गैररैथाने जातका गाई ल्याइएको छैन। पेशाले किसान लिम्बू यो गाईबारे अन्यत्र जानकारी पनि नपुगेको र सरकारी तवरबाट चासो नदिएको गुनासो गर्छन्। भन्छन्, “नजिकका गाउँमा जर्सी गाई ल्याएका छन्। हाम्रोमा भने अहिलेसम्म छैन। सिरी गाई नै पाल्दै आएका छौं, तर यो प्रजातिको गाईको उत्पादन क्षमता विस्तार गर्न सकिन्छ भन्ने जानकारी किसानसम्म पुगेको छैन। पालिकाले पनि यसमा ध्यान दिएको देखिंदैन।”