गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको उत्तरी क्षेत्रमा रहेको फेदीखोला गाउँपालिकाका किसानले उत्पादन गरेका सुन्तला र आलु गाउँमै रहेको कोल्डरूममा भण्डारण गर्न थालेका छन्। भण्डारण सुविधा गाउँमै उपलब्ध भएपछि उत्पादन खेर नजाँदा किसानहरूलाई आर्थिक रूपमा बलियो हुने आधार कोल्डरूमले दिएको कृषि विज्ञ शिव सुवेदी बताउँछन्। फेदीखोला गाउँपालिका पोखरा महानगरपालिकासँग नजिकै रहेकाले बजारको दुःख नरहेको सुवेदीको भनाइ छ।
कोल्डरूम भएपछि गाउँमा उत्पादित कृषिवस्तु खेर जाने सम्भावना कम भएको र भाउ भएको वेला बिक्री गर्न पाउँदा किसान लाभान्वित भएको कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडका विष्णु सुवेदी बताउँछन्। तर‚ अहिले भएको कोल्डरूमले त्यस क्षेत्रको कृषि उत्पादनलाई धान्ने क्षमता नरहेकाले संख्या थप गर्नुपर्ने सुवेदीको भनाइ छ। तरकारी, फलफूल र आलुलाई छुट्टाछुट्टै कोल्डरूम चाहिने उनी बताउँछन्। “कृषि उपज अनुसार भिन्नाभिन्नै तापक्रममा भण्डारण गर्नुपर्ने रहेछ‚” सुवेदी भन्छन्‚ “सबैलाई एउटैमा राख्न नमिल्ने रहेछ।”
३० टन क्षमताको कोल्डरूममा सुन्तला र आलु राखिएका थिए। माघ अन्तिममा केही सुन्तला निकालिएको थियो भने केही सुन्तला तापक्रम नमिल्दा ढुसीले बिग्रिएको थियो।
कोल्डरूमको सञ्चालनमा तापक्रम हेरिरहनुपर्ने, फलफूल पनि जाँच गरिरहनुपर्ने र मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने हुन्छ। “मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने हुँदो रहेछ,” फेदीखोला साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नेत्रबहादुर कार्की भन्छन्, “बिजुली र मर्मत खर्च पनि अलि अलि निस्कने रहेछ।”
कोल्डरूम गत वर्षदेखि सञ्चालनमा आएको हो। गत चैतमा कृषि उपजको कोल्डरूममा ‘टीपीए’ र ‘पीभीएस’ जातको आठ टन आलु राखिएको कृषि उपजका सुवेदीले बताए। साना किसानको कोल्डरूम भने साउनमा तयार भए पनि मंसीरदेखि सञ्चालनमा आएको हो। ती दुवै कोल्डरूममा सुन्तला राखिएको छ।
“कोल्डरूमले किसानलाई फाइदा हुने देखियो। गत वर्ष आठ टन आलु राख्दा भाउ किलोको ३० देखि ४० रुपैयाँ थियो‚” सुवेदी भन्छन्‚ “बीउ लगाउने वेला कात्तिकमा निकाल्दा मूल्य ८० रुपैयाँभन्दा कम भएन।”
आलुमा प्रति किलो ४० रुपैयाँ फाइदा भए पनि सुन्तलाको हकमा सोचे जति फाइदा नभएको सुवेदी बताउँछन्। “मेरो पनि सुन्तला कोल्डरूममा राखेको थिएँ। राख्ने वेलामा ३१ रुपैयाँ प्रति किलो परेको थियो‚” उनी भन्छन्‚ “हिजो अलिकति निकालें। अलि अलि ढुसी लाग्न थालेको रहेछ। अहिले प्रति किलो ७० रुपैयाँ परेको रहेछ। सुन्तलामा धेरै फाइदा भएन। ढुसीका कारण सुन्तला बिग्रियो।”
तीन वटा कोल्डरूम बनाउन गाउँपालिकाले सहकारीहरूलाई प्रति कोल्डरूम १० लाखका दरले ३० लाख रुपैयाँ उपलब्ध गराएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए। साना किसानको एउटै भवनमा १०–१० टन क्षमताका दुई वटा कोल्डरूम छन् भने कृषि उपजको बेग्लै दश टन क्षमताको कोल्डरूम छ। यसका लागि पालिकामा कृषि प्राविधिकको उपलब्धता भएको अध्यक्ष सुवेदीले बताउँछन्। “हामीले प्रत्येक वडालाई पुग्ने गरी प्रति वडा एक जना प्राविधिकको व्यवस्था गरेका छौं,” उनी भन्छन्।
गाउँपालिकाले विद्युत्मा अनुदान सिफारिश गरेपछि छूट पाइने व्यवस्था अनुसार कोल्डरूमले बिजुली महसूलमा ५० प्रतिशत अनुदान पाएको छ। कोल्डरूमले ४० एम्पिएरको बिजुली लाइन लिएको छ जसको न्यूनतम शुल्क चार हजार रुपैयाँ छ। “हामीले बिजुलीमा ५० प्रतिशत छूट पाएका छौं। त्यति हुँदा पनि महीनाको ६ हजारको बिजुली खर्च उठ्छ,” सहकारीका अध्यक्ष कार्की भन्छन्।
किन बिग्रियो सुन्तला?
पहिलो पटक राखिएको सुन्तलामा भने केही समस्या आएको थियो। किसानहरूले डाँठ सहितको सुन्तलाको फल टिपेका थिए। सुन्तलालाई ग्रेडिङ नगरी क्रेटमा हालिएको थियो।
“सुन्तला कोल्डरूममा राख्दा आठ देखि १२ डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्ने रहेछ,” सहकारीका अध्यक्ष कार्की भन्छन्, “शुरूमा त्यो थाहा भएन। फेरि ग्रेडिङ नगरी राख्दा पनि समस्या हुने रहेछ।”
सुन्तलामा समस्या देखिएपछि चाँडो निकालेर क्षति कम गर्न खोजिएका थियो। कार्की भन्छन्‚ “१० टन सुन्तला राख्दा पाँच टन नाश भयो।” कोल्डरूम सञ्चालनको अनुभव नहुँदा केही उत्पादन जोगाउन नसकिएको उनले बताए। “पहिलो पटक कोल्डरूम सञ्चालन गरिएको हुँदा धेरै कुरामा ख्याल गर्न सकिएन,” कार्की भन्छन्, “ह्युमिडिटी, अक्सिजनको मात्रा, तापक्रम लगायत धेरै कुरामा ख्याल गर्नुपर्ने हुँदो रहेछ।”
सुन्तला कति वेला टिप्ने, कुन अवस्थामा टिप्ने, कस्तो अवस्थाको भण्डारण गर्ने, कस्तो अवस्थाको भण्डारणमा नराख्ने भन्ने पनि ख्याल राख्नुपर्ने हुँदो रहेछ। “यदि बिग्रेको सुन्तला एउटा मात्र पर्न गयो भने पछि त्यसले सबैलाई बिगार्ने रहेछ,” कार्की भन्छन्, “फेरि वेलावेला चेक पनि गर्नुपर्छ।” सुन्तलामा लागेको ब्याक्टेरिया पहिलो साता एक प्रतिशत, दोस्रो साता दुई, तेस्रो साता चार, चौथो साता आठ गर्दै बढ्ने हुँदा ब्याक्टेरियाको संक्रमण लागे/नलागेको परीक्षण गरिरहनुपर्ने हुन्छ।
सहकारीका अध्यक्ष कार्कीका अनुसार‚ १० टन क्षमताको दुई वटा कोल्डरूम बनाउन झण्डै १६ लाख ५० हजार खर्च भयो। सहकारीले किसानलाई आफ्नो उत्पादन राख्दा प्रति क्रेट प्रति दिन दुई रुपैयाँ शुल्क लिने गरेको छ। त्यस्तै, सहकारी आफैंले पनि सुन्तला राखेको थियो। सहकारीले सुन्तला राख्दा प्रति क्रेट ६०० जति परेको उनले बताए।
साविकको बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाविसलाई जोडेर बनेको फेदीखाला गाउँपालिकाको जनसंख्या १५ हजारभन्दा बढी छ। पाँच वटा वडा रहेको पालिका ५६.५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको बासिन्दाको मुख्य पेशा कृषि हो।
पालिकाको सिमाना पूर्वमा कास्की र पश्चिममा स्याङ्जाको आँधीखोला गाउँपालिका, उत्तरमा कास्की र दक्षिणमा स्याङ्जाकै पुतलीबजार नगरपालिकासँग जोडिएको छ। पर्यटकीय केन्द्र रहेको फेदीखोलमा पाँच वटा होमस्टे छन्। यहाँका मुख्य पर्यटकीय केन्द्रमा भालुपहाड, गोर्खा स्मारक पार्क, पञ्चासे क्षेत्र तथा बाइसे–चौबीसे राज्यका स्याङ्जा, नुवाकोट दरबार छन्।