विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् ।
केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि किसान चिन्तित भएका हुन् ।
त्यसैगरी डढुवा रोगका कारण आलुका बोट पनि सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधी प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका कृषक जीतबहादुर कार्कीले बताए ।
यता केरा गाउँका रूपमा परिचय बनाएको बेनी–२ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले करिब आठ रोपनी खेतमा केराखेती गेरेकाछन् ।
बगरफाँटका कृषक वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताए । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ ।
आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए । हजारी जातको केरा खेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए ।
“झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ”, उनले भने । उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको कृषक थापाले जानकारी दिए ।
रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका खबराका अर्का कृषक शोभित शर्माले बताए । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ”, उनले भने ।
धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरूले स्थानीय सरकारसँग सहुलियत र सहयोगको माग समेत गरेका छन् । रासस