करिब ५ वर्षअघि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका नरेन्द्रप्रसाद रेग्मी र उनका अन्य ३ जना साथीहरूले आफ्नै ठाउँमा व्यवसाय गर्ने योजना बनाए । उनीहरूको योजना थियो- व्यावसायिक कुखुरापालन गर्ने ।

कुखुरा व्यवसायबाट आम्दानी होला भन्ने आशामा उनीहरूले ३९ लाख रुपैयाँजति खर्चे । जसमध्ये १२ लाखमा उनीहरू खोर निर्माण गरे भने २७ लाखमा कुखुरा, दाना र चल्ला ढुवानी गर्न गाडी पनि किने । 

 तर, ४ वर्ष बितिसक्दा पनि उनीहरू व्यवसायबाट अपेक्षाकृत लाभ लिन असफल भए । त्यसपछि रेग्मी भने कुखुरा पाल्न छोडेर रोजगारीका लागि भारत जान विवश भए ।

यो त एउटा प्रतिनिधि घटना मात्र भयो । पछिल्लो समय कञ्चनपुरमा कुखुरा व्यवसायी धेरै देखिए पनि उनीहरूका भित्रि कथा अलग्गै छन् । निरन्तर घाटाको व्यापारका कारण पेशाबाट पलायन हुनेहरूका आफ्नै दु:ख छन् । जसका कारण यस व्यवसायबाट पलायन हुनेको संख्या बढ्न थालेको छ ।

वास्तविक किसानले सरकारी अनुदान नपाउने समस्या त छँदै छ । त्यसमाथि झन् चल्ला तथा दाना व्यापारीले कमसल चल्ला र दाना दिने, खोरको कुखुरा बिक्री हुन तयार हुँदा भारतबाट कुखुरा ल्याइने कारणले किसानहरू आजित छन् ।

यहाँका किसानहरू पलायन हुनुको कारणचाहिँ स्थानीय किसानले उत्पादन गरेका कुखुरा बिक्री गर्न तयार हुँदासम्म भारतबाट कुखुरा तस्करी हुन्छन् । जसका कारण किसान मर्कामा पर्न थालेपछि व्यवसायबाट पलायन हुन थालेका हुन् । 

वास्तविक किसानले सरकारी अनुदान नपाउने समस्या त छँदै छ । त्यसमाथि झन् चल्ला तथा दाना व्यापारीले कमसल चल्ला र दाना दिने, खोरको कुखुरा बिक्री हुन तयार हुँदा भारतबाट कुखुरा ल्याइने कारणले किसानहरू आजित छन् ।

कञ्चनपुरको सिमावर्ती क्षेत्रबाट सेटिङमा भारतीय कुखुरा भित्र्याउने समूह वर्षभरी नै सक्रिय रहने किसानहरू बताउँछन् । जसमा प्रहरी प्रशासनको पनि संलग्नता रहेको उनीहरू बताउँछन् । 

नेपाली किसानको कुखुरामा प्रतिकिलो २ सय २५ सम्म लागत हुन्छ भने भारतबाट कुखुरा ल्याउने समूहले बजारमा त्यसभन्दा पनि सस्तोमा कुखुरा बिक्री गर्न थाल्छ । जसले गर्दा किसानहरू व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको हो ।