पर्सा — वीरगन्जस्थित एक वाणिज्य बैंकको मधेस प्रदेश कार्यालय प्रमुखको आकर्षक जागिर छोडेर वीरगन्ज–१५ भिस्वाका ५२ वर्षीय मन्त्रीलाल गुप्ताले आफ्नै कृषिकर्म थालेका छन् । झन्डै ३ दशक लामो बैंकिङ पेसाबाट स्वैच्छिक अवकाश लिँदै उनी ड्रागन फ्रुटको खेतीमा लागेका हुन् ।


बैंकको वातानुकूलित कोठामा बसेर कम्प्युटरको माउस खेलाउने उनका हातका औंला अहिले कुटो–कोदालोको बिँड च्याप्छन् । उमेर छँदै केही गरौं भन्ने हुटहुटी र ऊर्जालाई अहिले उनी ड्रागन फलको खेती गरेर पोख्दै छन् ।

 

उनले वीरगन्ज महानगरको पूर्वमा रहेको आफ्नो पुर्ख्यौली गाउँ बारा विश्रामपुर गाउँपालिका–५ नकटुवा टोलमा २ बिघा खेतमा ड्रागन फ्रुटको खेती थालेका छन् । उनले सँगै कुरिलो, अन्जिर, हरियो सुकुमेलको खेती पनि गरिरहेका छन् । मधेसमा स्याउ फलाउन हौसिएका उनले केही स्याउका बोट पनि रोपेका छन् । यसवर्ष स्याउको बोटले फल दिनेछन् ।

उनको फार्ममा गाई, बाख्रा, हाँस र कुखुरा पालन पनि सुरु गर्ने योजना छ । यिनका गोबर र सुलीलाई गुप्ताले मलका रूपमा प्रयोग गर्ने योजना बनाएका छन् । ३ करोड रुपैयाँ लगानीको योजनासहित कृषि कर्ममा हात हालेका गुप्ताले १५ जनालाई रोजगारीसमेत दिएका छन् ।

गुप्ताले २ बिघा खेतमा भदौमा ड्रागन फ्रुटको बेर्ना लगाएका हुन् । जेठ/असारमा बालीमा फूल लाग्नेछ । त्यसको ५५ दिनमा फल पाकेर तयार हुनेछ । भारतको बिहारस्थित ठाकुरगन्जबाट ड्रागन फ्रुटको बेर्ना ल्याएका उनले भविष्यमा बेर्ना खरिद गरेर ल्याउन नपर्ने बताए । हाल वयस्क हुँदै गरेको बिरुवाबाटै बेर्ना तयार पार्न सकिने उनले बताए । ‘एक पटक फल लागेपछि यही बिरुवाबाट बेर्ना तयार हुन्छ,’ उनले भने, ‘एक पटक लगाएको बिरुवाले २० देखि २५ वर्षसम्म निरन्तर फल दिन्छ ।’

 
एउटै बिरुवाले बर्सेनि ५० देखि ५५ किलोसम्म फल दिने उनले बताए । बर्सेनि अप्रिलदेखि डिसेम्बरसम्ममा यसको फूल फुल्नेदेखि फल पाक्नेसम्मको समयचक्र हुने गरेको उनले बताए । यो फलको फूलको पकौडासमेत खान मिल्ने भएकाले बहुउपयोगी रहेको गुप्ता दाबी गर्छन् । ‘ड्रागनका फूल र फल दुवै उपयोगी छन्,’ उनले भने, ‘यो फलको बीउमा मानव शरीरलाई चाहिने ओमेगा ३ र ६ तत्त्व हुनुका साथै नियमित सेवनले मानव शरीरमा रगत बनाउने र सफासमेत गर्ने गर्छ ।’ आफ्नो नर्सरीमा ३ वर्षयता ड्रागन फ्रुटका दर्जन बढी बिरुवा हुर्काएर यसको फूल र फल दुवै सेवन गरिसकेको उनले बताए ।

हाल रातो र सेतो ड्रागन फलको खेती गरेकामा भविष्यमा अन्य रंगको खेती गर्ने उनको योजना छ । यसका लागि उनी थाइल्यान्डको भ्रमणमा जाने तयारीसमेत गरिरहेका छन् । ड्रागन फललाई बजारको समस्या नरहेको उनले बताए । हाल नेपालीले स्वदेशीभन्दा आयातित ड्रागन फल खाने गरेकामा स्वदेशमा उत्पादित ताजा र सस्तो फल सहजै पाउने उनको भनाइ छ ।

यसबाहेक वीरगन्जका तारे होटलहरूमा पनि यसको खपत हुने र फल उत्पादन हुन थालेपछि वीरगन्जमै आउटलेट सञ्चालन गरेर उत्पादित फलफूल बिक्री गर्ने योजना रहेको उनले बताए । ‘उमेर र शरीरमा ताकत छँदै आफ्नो रहर र योजना पूरा गर्ने हो,’ उनले भने, ‘६० वर्षको उमेर र त्यसपछि अवकाश पाएपछि शरीरमा जोस र उत्साह अहिलेको भन्दा कम हुन्छ, त्यसैले मैले ८ वर्षअघि नै जागिर त्यागेर कृषि कर्म थालेको हुँ ।’