पिठ्युँमा डोको अनि डोको भित्र प्लाष्टिकको बोरामा ३\४ पाथी तोरी बोकेर ललितपुर-२१ खोकनाकी तुलसी महर्जन (७२) मिल तीर लागिन् । तोरी दिएर तेल साट्नको लागि उनी मिल जान लागेकी हुन् । कम्तिमा पनि ७ पाथी तोरी नभइ तेल पेल्न घान नपुग्ने हुँदा आफूसँग जति तोरी छ त्यसको तेल लिन जादै थिइन् तुलसी । “पहिले त २ जनाले धान्न नसक्ने तोरीको भारी लिएर मिल जान्थें, जर्किनका जर्किन तेल लिएर आउथेँ, अहिले न पुग्नेजति तोरी छ न त तोरी फल्ने जग्गा नै,” तुलसी सुनाउँछिन् ।   

केही दशक अगाडिसम्म उनको बारी तोरीका फूलहरुले पहेँलपुर हुन्थे । घरमा प्रयोग गर्ने तेल छुट्याएर पनि बाँकी रहेको तेल बेच्न बजारसम्म पुर्‍याउँथिन् । वर्षभरि मिलमा पेल्नलाई तोरी हुन्थ्यो । समयसँगै तोरी खेती गर्ने बारी प्लटिङ भए अनि खोकनाको तेल उखानमा सीमित हुँदै गयो । हुँदाहुँदै प्याकेटको तेल किनेर खाने अवस्था खोकनाबासीलाई नै आयो । 

घरबाट तोरी बोकेर मिलतिर हिँड्दै गरेकी तुलसी सुस्केरा हाल्दै खोकनाको अतीतमा डुबिन्, “कोलमा लाइन हुन्थ्यो, मेरो आफ्नै बारीमा पनि पहेँलपुर तोरी हुन्थ्यो, ५-७ वर्ष अगाडिसम्म नि घरभरि तोरी थियो, भूकम्प आयो जग्गा जमिन त्यही भूकम्पसँगै खेती हुने जग्गाको बेचबिखन सुरु भयो,” तुलसी भावुक भइन्, “म उबेला खर्पनमा तेलको टिन राखिदिन्थेँ । मेरा श्रीमान् खोकनाबाट काठमाडौं, लगनखेल, जावलाखेलसम्म जान्थे । राजा महाराजाले पनि हाम्रै तेल खाए भनेर सुनाउँथ्यो, अहिले आफूलाई नै छैन ।”   

भूकम्पपछि खोकना बासीले थुप्रै मानवीय तथा भौतिक क्षति व्यहोरे, धेरैले रोजगारी पनि गुमाए । आर्थिक अभाव हुँदै गएपछि खोकना गाउँमा जग्गा जमिन बेच्ने सिलसिला बढ्न थाल्यो । तोरी फल्नेसम्म फाँट प्लटिङ भए  । तुलसीको जग्गापनि टुक्रियो, यस्तै नियति भोग्नु पर्‍यो उनले पनि । 

“बाध्यताले गर्दा टुक्राएर जग्गा बेच्दा बेचियो अनि दाम पनि हात पर्‍यो तर मलाई हर्ष लागेन । अब तोरी कहाँ पेलाउने ? के बेचेर दाम कमाउने ? जग्गासँगै मनै टुक्रियो,” तुलसीले अरू बोल्न चाहेर पनि सकिनन्, उनको गला अवरुद्द भयो । खोकनामा तोरी छैन तर तेल पेलेर बेच्न भने खोकनाले छाडेन । ३ वटा तोरी मिलले दैनिक यहाँ तोरी पेल्छ ।नेपालको होइन, कोहीले युक्रेन कोहीले अष्ट्रेलियाको ।  

बेच्न मन त खोकनालाई नेपाली तोरीको मगमग बस्ना आउने तेल नै हो तर तोरी उत्पादन नहुने, उत्पादन हुने ठाउँ प्लटिङ हुने जस्ता समस्याले खोकनामा विदेशी तोरी नै पेल्नुपर्ने बाध्यता बनेको छ । खोकनामै पनि खुबै तोरी उत्पादन हुन्थ्यो थपथाप भने मकवानपुर धादिङ तीरबाट हुने गर्थ्यो । 

“अहिले त तोरी फल्ने बारीमा घर फल्न थाल्यो, खेती गर्ने फाँटैभरी बिल्डिङ उब्जे,” तुलसी महर्जनले दुखेसो पोखिन् ।

लटरम्मै भएर धान, गँहु फल्ने, तोरी फुलेर फाँटै पहेँलो  हुने, कहिले आफ्नोमा कहिले अरुको खेतमा पर्मा गर्दै काम गरेका ति दिनहरूका यादहरू उनका आँखामा अहिले पनि झल्झली नाची रहन्छन् । खोकनाबासीले धान भित्र्याउने बित्तिकै तोरी छर्ने गर्थे, पुस–माघमा खोकनाका फाटहरू पहेँलपुर हुने गर्थे । तर, आजभोलि तोरी लगाउने खेतमा कङ्क्रिट ठडिएका छन् । बाँकी रहेको जमिन पनि कि त बाँझै छन्, कि अर्थोकै खेती हुन थालेको छ । अब उनलाई पीर छ युक्रेनको तोरी पेल्ने कोल (मिल) पनि बन्द हुने होकी ?

भन्सार विभागको तत्थ्याङ् हेर्दा नेपालले अघिल्लो वर्ष २ अर्बको कच्चा सनफ्‌लावर तेल, ‍ १ अर्ब २७ करोड १८ लाख रुपैयाँको तोरीको दाना आयात गरेको छ । यसरी आयातित तोरी खोकनाको मिलमा पनि पेलिन्छ र तेल निकालिन्छ । भन्सार विभागले गत असार मसान्तमा निकालेको तत्थ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालले भारतमा ५४ अर्ब रुपैयाँको खाने तेल निर्यात गरेको छ । भटमास, सूर्यमुखी गरेर यो परिमाणमा तेल भारत निर्यात गरेको भन्सारको विवरणमा देखिन्छ । नेपालले ४६ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढीको १९ करोड २ लाख किलो भटमासको तेल भारत निर्यात गरेको थियो । यस्तै ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको सनफ्‌लावर तेल नेपालले भारत निर्यात गरेको थियो ।

“कृषि क्षेत्रको सबैभन्दा ठूलो विडम्बना भनेको नै यो पेशा त्यागेपछि बल्ल किसानहरूले आफ्नो आर्थिक अवस्थामा सुधार ल्याएका छन्। एकदमै थोरै मानिसले मात्र खेतीकिसानीबाट आफ्ना आवश्यकता पूरा गरेका छन्,” कृषिविद् डा. कृष्णप्रसाद पौडेल बताउँछन् “धेरै मानिसहरू व्यापार, जागिर, वैदेशिक रोजगारी तथा आम्दानीको अरु स्रोतमा आकर्षित छन् ।  देशमा कृषि उपज बिक्ने भए अनि कृषिको मूल्य पाउने भए कृषिबाट किसान किन पलाएन हुन्थे र ?”

त्यसो त तोरीको तेलको लागि प्रख्यात खोकनामा पहिलेको तुलनामा तोरी उत्पादन हुन नसकेर पनि तेल उत्पादन क्रमश घट्दै गएको छ । उनी भन्छन्, “परापूर्वक कालदेखिकै बिउ प्रयोग गर्नु, वातावरण अनुकुल खेती नगर्नु र खेतीबाट आउने आम्दानीभन्दा अरू काम गर्दा आउने आम्दानी बढी भएर किसानको तोरी, गहुँ, मकै जस्ता बालीमा आकर्षण कम भएको हो ।”

“कृषि पेसामा भन्दाबढी आर्थिक सुरक्षा वैदेशिक रोजगारीमा हुने भएकाले काम गर्नसक्ने उमेरका जनशक्ति खेतबारी तिर लाग्दैनन्, विदेशिनै रुचाउँछन्,” कृष्ण भन्छन्, “देशमा कृषि उपज बिक्ने भए, सरकारले किसानको हितका लागि सोच्ने भए अनि कृषिको मूल्य पाउने भए युवाको गन्तव्य पनि कृषि नै हुने थियो,”