कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाईमा व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ सार्वजनिक गरिएको छ । नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढीकरण गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तात्कालिन केन्द्रीय तथ्याङ्क विभाग) को संयुक्त आयोजनामा आर्थिक वर्ष २०७८/०७९ मा नेपालभरी व्यावसायिकरुपमा संचालनमा रहेका मध्यम तथा ठुला पशुपालन व्यवसायहरुको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरिएको थियो ।
कृषि मन्त्रालयमा आयोजित सार्वजनिक कार्यक्रममा जानकारी दिएअनुसार यस सर्वेक्षणको लागि मुलुकभरी जम्मा ७९८ पशुपालन व्यवसायहरु छनोट गरिएको थियो ।
यस सर्वेक्षणको मुख्य उद्देश्य मुलुकभरी व्यावसायिकरुपले सञ्चालनमा रहेका मध्यम तथा ठुला पशुपालन व्यवसायहरुको आर्थिक, सामाजिक तथा वातवरणीय तथ्याङ्क संकलन गरी कृषि विकासका लागि राष्ट्रिय तथा प्रदेशस्तरका नीति निर्माण तथा योजना तर्जुमा, अनुगमन तथा मूल्याङकनका लागि उपयोगी हुने व्यावसायिक पशुपालनसम्वन्धी तथ्याङ्कको खाँचो पूर्ति गरी नीति निर्माता र योजनाविद् लगायत तथ्याङ्क प्रयोगकर्तालाई सघाउ पुर्याउने रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गाविन्द शर्माले जानकारी दिए ।
यस सर्वेक्षणले दर्ता गरी वा नगरी व्यावसायिकरुपले संचालन गरिएका मध्यम तथा ठुला पशुपालन व्यवसायहरुलाई मात्र समेटेको जनाइएको छ। तोकिएको न्यूनतम् मापदण्ड भन्दा कम संख्यामा पशुपालन गरेका साना व्यवसायहरु यस सर्वेक्षणमा समावेश गरिएका छैनन।
सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार, नेपालमाजम्मा ६ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्महरुमध्ये ७९८ फार्ममा सर्वे केन्द्रित थियो । यिनीहरु मध्ये एक हजार २३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, २ हजार २९५ वटा बाख्रा/च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्मरहेको पाइएको छ।
यसै गरी, यो सर्वेक्षणले नेपालमा गाई/भैंसीपालन (मिश्रित) फार्म ४८३ वटा, बाख्रा/च्याँग्रा/भेडापालन (मिश्रित) फार्म १९८ वटा र गाई/भैंसीपालन तथा बाख्रा/च्याँग्रा/भेडापालन (मिश्रित) फार्म २६५ रहेको देखाएको छ। यस्ता व्यावसायिक पशुपालन फार्महरु मध्ये प्रदेश नं. १ मा सबै भन्दा बढी अर्थात एक हजार २७० वटा र मधेश प्रदेशमा सबै भन्दा कम अर्थात ४०४ वटा फार्महरु रहेको पाईएको छ।
सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालमा जम्मा ४४ हजार ८७३ वटा गाई/गोरुहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका गाई/गोरुहरुको संख्या ३३ हजार ७५७ (७५ प्रतिशत) रहेको छ। यिनीहरु मध्ये दुध दिने र नदिने गाईहरुको संख्या क्रमशः १५ हजार ३८० (६३ प्रतिशत) र ९ हजार१०४ (३७ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ९ जहार ३६४ वटा गाई/गोरुहरु बागमती प्रदेशमा र सबै भन्दा कम अर्थात २ हजार २७४ वटा सुदूरपश्चिमप्रदेशमा रहेको देखाएको छ।
यसैगरी, यो सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा/भैंसीहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका राँगा/भैंसीहरुको संख्या २४ हजार ४४७ (७१ प्रतिशत) रहेको छ। यिनीहरु मध्ये दुध दिने र नदिने भैंसीहरुको संख्या क्रमशः १० हजार ८४१ (६१ प्रतिशत) र ६ हजार ९३१ (३९ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ११ हजार ४६९ वटा भैंसीगण्डकी प्रदेशमा र सबै भन्दा कम अर्थात १ हजार ६३० वटा सुदूरपश्चिमप्रदेशमा रहेको देखाएको छ।
प्राप्त नतिजाले नेपालमा जम्मा १ लाख ५० हजार ५६८ वटा बाख्राहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका बाख्राहरुको संख्या ६७ हजार ०६७ (४५ प्रतिशत) रहेको छ। यी उन्नत जातका बाख्राहरु मध्ये बोर जातका बाख्रा सबै भन्दा बढी अर्थात ३१ हजार ६३७ संख्यामा रहेका छन् भने त्यस पछि जमुनापारी जातका छन् जसको संख्या २३ हजार ६६३ रहेको छ।
सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३३ हजार २१६ वटा (२२ प्रतिशत) बाख्रा प्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात ६ हजार ५०२ वटा (४ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ। यसैगरी व्यावसायिक रुपमा पालिएका च्याँग्राहरुको संख्या नेपालमा ३१ हजार ७८१ पाईएको छ।
यो सर्वेक्षणले नेपालमा व्यावसायिक रुपमा पालिएका भेडाको जम्मा संख्या ८८ हजार ४२१ देखाएको छ जस मध्ये बरुवालजातका भेडा सबै भन्दा बढी अर्थात १३ हजार ३३४ संख्यामा रहेका छन् भने त्यस पछि कागे जातका छन् जसको संख्या ६ हजार २४८ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३४ हजार ९७५ वटा (४० प्रतिशत) भेडा कर्णाली प्रदेशमा र सबै भन्दा कम अर्थात ३९५ वटा (०.४ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ।
यस्तै सर्वेक्षणबाट प्राप्त नतिजालेनेपालमा व्यावसायिक रुपमा पालिएका सुँगुरको जम्मा संख्या ३८ हजार ३६० देखाएको छ जस मध्ये उन्नत जातका सुँगुरहरुको संख्या ३५ हजार २३० (९२ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात १६ हजार ८८४ वटा (४४ प्रतिशत) सुँगुर प्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात ५२८ वटा (१ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ।
यसैगरी सर्वेक्षणले १५ हजार ३८० वटा दुध दिने गाईहरु बाटदुध दिने अवधिमा जम्मा ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दुध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गरी भन्नुपर्दा होलिस्टिन/होलिस्टिन क्रसब्रिड जातको गाईबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ।
गाईको दुध उत्पादनको दृष्टिकोणले १ करोड ३५ लाख ९८ हजार ५१० लिटर दुधको उत्पादन सहित बागमती प्रदेश अग्रणी स्थानमा रहेको पाईएको छ। प्राप्त नतिजाले स्थानिय जातको गाईको सरदर दुध दिने अवधि नौ महिना र उन्नत जातको दश महिना देखाएको छ भने प्रति गाई प्रति दिन सरदर दश लिटर दुध उत्पादन हुने गरेको पाईएको छ।
यसैगरी सर्वेक्षणले यी व्यावसायिक फार्महरु बाट २ करोड ३२ लाख ३१ हजार ०९१ लिटर भैंसीको दुध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गरी भन्नुपर्दा मुर्रा जातको भैंसीबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ।
भैंसीको दुध उत्पादनको दृष्टिकोणले ८३ लाख ८८ हजार १८३ लिटर दुध सहित गण्डकी प्रदेश अग्रणी स्थानमा रहेको पाईएको छ। प्राप्त नतिजाले भैंसीको सरदर दुध दिने अवधि नौ महिना देखाएको छ भने प्रति भैंसी प्रति दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको पाईएको छ। सन्दर्भ हप्तामा उत्पादित दुध मध्ये गाईको ८९ तथा भैंसीको ८५ प्रतिशत बिक्री हुने गरेको समेत सर्वेक्षणले औंल्याएको छ।