निजी तथा दूग्ध विकास संस्थान (डीडीसी)ले चितवन जिल्ला लगायतको किसानबाट उठाएको दूधको भूक्तानी समयमै नदिदा किसानहरु चिन्तित बनेका छन् । चितवनका दूग्ध किसान अर्जुन ढकालकाअनुसार डीडीसीले विगत ५० दिनदेखि दूधको भूक्तानी दिएको छैन् ।
ढकाल लगायतका किसानले शारदानगर चिलिङ सेन्टरलाई दूध दिदै आएको छ । उनीहरुको दूग्ध सहकारीबाट मात्रै झन्डै ११ लाख २० हजार रुपैँया बराबरको दूध दैनिक डीडीसीले लैजाने गरेको छ । प्रति लिटर ५६÷५७ रुपैँयाको दरले ५० दिनको झण्डै ५ करोड रुपैँया भूक्तानी दिन बाकी रहेको ढकालले हलोखबरलाई बताए । डीडीसीको ज्यामिरे चिलिङ, भरतपुर चिलिङ, चनौली, मेघौली, माडी चिलिङ सेन्टरबाट दूध काठमाडौं जाने गरेको छ ।
डीडीसी मातहतको काठमाडौं दूग्ध वितरण आयोजनाले नियमित पैसा वितरण गथ्र्यो तर अहिले डीडीसीको केन्द्रिय कार्यलयले सिधै जिम्मेवारी लिन थालेपछि बक्यौता हुन थालेको हो ।
भूक्तानी भनेको समयमा नदिएपछि फार्म सञ्चालन गर्नै गाह्रो भएको ढकालले बताए ।
चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेकाअनुसार डीडीसी र प्राइभेट डेरीले पनि किसानको भूक्तानी दिन ढिलाई गर्दै आएको छ । उनी भन्छन्, ‘नेपाल सरकारले विदेशबाट दूध आयात गर्ने अनुमति दिएको छ । विदेशबाट दूध ल्याउदा पहिल्यै पैसा भूक्तानी गर्नुपर्ने हुन्छ । तर, नेपाली किसानको पैसा भने ५, ६ महिनासम्म बक्यौता राख्ने गरेका छन् ।’
बगालेकाअनुसार दैनिक ३५ हजार डीडीसीलाई तथा ८० हजार प्राइभेट डेरीले दूध लैजाने गरेका छन् । चितवनबाट मात्रै डेढ लाख लिटर दूध बाहिरिने गरेको छ । डीडीसीबाहेक नेपाल डेरी, आधुनिक डेरी, कालिका, मोर्डन, जयशम्भू, सुजल, तुलसा, राजधानी, सिताराम लगायतले दूध उठाउने गरेका छन् ।