भरतपुर । चितवनमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । भरतपुर–६, देवनगरस्थित नरेन्द्रकुमार कन्दङ्वाको पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा उक्त रोगको सङ्क्रमण देखा परेको हो । देशकै ठूलो फार्म मानिएको फार्ममा करिब एक हप्ताअघि सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले पुष्टि गरेको छ । विज्ञ केन्द्रका प्रमुख डा। सुशील केसीका अनुसार एक हप्ताअघिदेखि बंगुरमा सङ्क्रमण देखिएको र परीक्षणका क्रममा अफ्रिकन स्वाइन फिभर नै भएको पुष्टि भएको हो । ‘हामीले पशुसेवा विभागमा नमुना पठाएर परीक्षण गराउँदा अफ्रिकन स्वाइन फिभर नै भएको पुष्टि भयो’, उनले भने ।

चितवनमा इच्छाकामनामा पनि एउटा फार्ममा अफ्रिकन स्वाइन फिभरकै आशङ्का गरिएको प्रमुख डा। केसीले जानकारी दिए । ‘इच्छाकामनाको पनि एउटा फार्मबाट हामीलाई त्यस्तै लक्षणसहितको रिपोर्टिङ भएको छ’, उनले भने, ‘हाललाई नमुना परीक्षण भइनसकेको हुँदा आशङ्कामात्रै हो ।’ बंगुरमा देखिने यो रोगको उपचार हालसम्म विश्वमै सम्भव नभएको हुँदा रोग लागिसकेपछि मासिनुको विकल्प नरहेको उनले बताए । ‘स्वाइन फिभर भन्ने रोगचाहिँ खोप लगाएर निको हुन्छ भने अफ्रिकन स्वाइन फिभरको हालसम्म उपचार नै सम्भव छैन’, उनले भने ।

भरतपुर महानगरपालिका वडा नं–१२ का निवर्तमान वडा अध्यक्षसमेत रहेका कन्दङ्वाले २०५५ सालबाट व्यावसायिक बंगुरपालन थालेका थिए । मासु तथा पाठापाठी उत्पादन गर्दै आएका कन्दङ्वा नेकपा एकीकृत समाजवादीका नेता हुन् ।

बंगुर फार्ममा ठूलो क्षति भएको खबर पाएपछि बागमती प्रदेशका मन्त्री कृष्णप्रसाद खनालले पनि बुधबार उक्त फार्मको अनुगमन गरेका छन् । मन्त्री खनालका अनुसार बुधबार पनि आठवटा माउ बंगुर मरेका छन् । ‘अहिलेसम्म करिब ५०० वटा बंगुर मरिसकेका छन् । बुधबार पनि आठवटा बंगुर मरेको खबर पाएँ’, फार्म सञ्चालक कन्दङ्वाको भनाइ उद्धृत गर्दै मन्त्री खनालले भने, ‘अझै पनि धेरै बंगुर बिरामी छन् ।’

करिब एक हजार बंगुर रहेको फार्ममा यो एक हप्तामै करिब एक करोड रूपैयाँभन्दा बढी रकमबराबरको क्षति भइसकेको उनले बताए । ‘बंगुर फार्ममा देखिएको यो समस्याबारे प्रदेश सरकार र केन्द्र सरकार तथा प्राविधिकहरु जुटिरहेकै छौँ’, उनले भने, ‘यो समस्यालाई जिल्लाभर फैलिन नदिन प्रयासरत छौँ ।’

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले भने यो रोगको विषयमा चितवनका किसानलाई भेला गराएर सचेत गराएको थियो । यो समस्या चितवनमा भित्रिन नदिन विभिन्न उपाय अपनाए पनि देखा परेपछि अब अन्य फार्ममा प्रवेश हुनबाट जोगाउनुपर्ने चुनौती थपिएको डा। केसीले बताए ।

यो रोग सन् १९२१ मा पहिलोपटक अफ्रिकाको केन्यामा देखिएकोले यसलाई अफ्रिकन स्वाइन फिभर नाम दिइएको हो । तर, अहिले युरोपियन मुलुक हुँदै एसियन मुलुकका नेपालसहित विभिन्न देशमा फैलिसकेको उनले बताए । उनका अनुसार छिमेकी मुलुक चीनमा सन् २०१८ मा देखा परेको थियो । त्यसपछि भारतको आसामतिर देखा पर्दै गत चैतमा संकलित नमुनाबाट काठमाडौँमा देखा परेको थियो ।

यो प्राणघातक रोग हो ! पशु चिकित्सक

अफ्रिकन स्वाइन फिभर विश्वमा पुरानो भए पनि नेपालमा नयाँ सङ्क्रमण हो । घरपालुवा बंगुर र सुँगुरमा यसको सङ्क्रमण देखिन्छ । र, त्यही सुँगुर र बंगुरबाट जंगलमा बस्ने बँदेलमा पनि सर्न सक्ने प्राणघातक रोग हो, अफ्रिकन स्वाइन फिभर । यो अतिसङ्क्रामक र महामारीजन्य रोग हो, यो रोग लागिसकेपछि उपचार सम्भव छैन । सन् १९२१ मा अफ्रिकाको केन्यामा पहिलोपटक देखिएकोले यसको नाम नै अफ्रिकन स्वाइन फिभर राखिएको हो । त्यसपछि तीन वर्षअघि छिमेकी मुलुक चीनमा देखिएको यो रोग २०७९ जेठ २ गते काठमाडौँको एउटा फार्ममा देखा परेपछि नेपालमा पनि भित्रिएको पुष्टि भएको हो ।

क्लासिकल स्वाइन फिभरले सताइरहेकै अवस्थामा अफ्रिकन स्वाइन फिभर देखा परेपछि यसले बंगुरपालक किसानमा थप त्रास पैदा गराएको छ । यसबाट बच्न सकिने उपाय पनि केही छैन । यो रोगको सङ्क्रमण लामो समयसम्म रहन सक्ने हुँदा यसबाट बच्न सजिलो पनि छैन । यो रोग लागिसकेपछि उच्च ज्वरो आउने, झोक्राउने, दानापानी खान मन नगर्ने, शरीरमा नीला तथा राता धब्बा आउने आदि लक्षण देखा पर्छ । र, अन्त्यमा मृत्यु हुन्छ । यो रोग लागिसकेपछि नष्ट गर्नुको विकल्प नै छैन, किनकि यो रोग कडा खालको जीवाणुका कारण लाग्ने हुँदा हालसम्म यसको उपचार र खोप बनिसकेको छैन ।

जैविक सुरक्षा अपनाएर केही सचेत हुन भने सकिन्छ । खोरमा निःसङ्क्रमणका झोल छर्ने, मान्छे पनि स्वस्थ र निःसङ्क्रमण भएर मात्रै प्रवेश गर्ने आदि गरेमा झट्टै यो रोग लाग्नबाट बच्न सकिन्छ । यस्तो बेलामा एउटा फार्मबाट अन्य फार्ममा पाठापाठी ल्याउने र लैजाने कार्य पनि बन्द गर्नुपर्छ ।

यो रोग बंगुर र सुँगुरबाट बँदेलमा पनि सर्न सक्ने सम्भावना बढी रहेको हुँदा रोग लागिसकेपछि यसलाई निर्मूल पार्न धेरै समय लाग्न सक्छ । जंगली क्षेत्रमा यसको सङ्क्रमण फैलियो भने झनै भयानक बन्न सक्छ, किनकि घरपालुवा जनावरमा नियन्त्रण गर्न सकिने केही सम्भावना भए पनि जंगल पसिसकेपछि सङ्क्रमणलाई नियन्त्रण गर्न सम्भव हुँदैन, त्यसैले फार्मबाटै नियन्त्रण गर्नु आवश्यक छ ।

यसको सकारात्मक पक्ष भनेको चाहिँ अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पशुबाट मानिसमा सर्दैन । अधिकांश रोग पशुबाट पशुमा सर्ने र पशुबाट मानिसमा सर्ने जोखिम भए पनि त्यस्तो जोखिम यसमा भने छैन । तर, मानिसले पनि एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनलाई हुलाकी बन्न सक्ने हुँदा सचेत हुनु आवश्यक छ । फार्ममा काम गर्ने कर्मचारीलाई एउटा खोरबाट अर्को खोरमा जान बन्द गराउने र खोरमा प्रवेश गर्दा पनि सफासुग्घर भएर जाने गर्नुपर्दछ । दानाका लागि होटलहरुबाट फोहोर खाना उठाउने काम पनि बन्द गर्नुपर्छ ।

किर्ना, लामखुट्टेलगायतका कीटपतङ्गको टोकाइबाट सबैभन्दा छिटो सर्न सक्छ । चितवन जिल्लामा करिब १६ हजार बढी बंगुर रहेको अनुमान छ । ९५५ मेट्रिक टन मासु उत्पादन भइरहेको अनुमान छ । यो पेसा व्यावसायिकरुपमा फस्टाउँदै गए पनि यस्तै समस्याका कारण जोखिम पनि उत्तिकै छ ।