च्याउ खेती गरेरै आइपीओ निश्कासन गर्ने पहिलो कम्पनी बनेको छ इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी । बाउबाजेले गरेको कामको बिँडो थाम्न च्याउ खेती सुरु गरेका बलम्बुबासीले च्याउ उत्पादन गरेर नै सर्वसाधारणकालागि शेयर निश्कासन गर्नेसम्म बनाएका छन् ।
चितलांगस्थित १४ रोपनीमा संचालन भइरहेको इन्द्रेणी मसरुम फार्मले आइपीओ सम्मको यात्रा तय गरेको छ ।
परम्परागत खेतीदेखि नयाँ प्रविधिसम्म
नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समय व्यतित भईसके पनि सफल हुन नसकिएको अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गरिरहेको छ । इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ । कम्पनीले आधुनिक च्याउ फार्म शुरु गरेको केही समयमै ऐतिहासिक रुपमा नयाँ प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ र हाल दैनिक रुपमा च्याउ उत्पादन गर्दै आईरहेको छ ।
च्याउ खेतीको इतिहास
बलम्बुका किसानहरुले नेपालमा २०३७ मा च्याउखेतीको सुरुवात गरेका थिए । बलम्बु जसलाई च्याउ गाउँ भनिन्थ्यो, त्यो गाउँमा ९० प्रतिशत मानिस सो समयमा च्याउ खेतीमा आवद्ध थिए । धमेन्द्रका बुवा पूर्ण बहादुर महर्जनले आफ्नै घरभित्र च्याउ उत्पादन गर्दथे । खुमलटार गएर थोरै पैसामा ल्याएको च्याउ उब्जनी राम्रो हुँदा राम्रै नाफा मिलेको देखेका थिए इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धमेन्द्र महर्जनले ।
सोहि सिकाई पछ्याउँदै अध्यक्ष धमेन्द्रले वि।सं २०५४ देखि च्याउ खेती सुरु गरेका थिए । त्यसपश्चातका दिनमा च्याउ खेतीमा जोखिमहरु बढ्दै गए । च्याउ खेतीमा आधुनिक प्रविधीको खोजी गर्न पनि सुरु भयो ।
सोहि क्रममा आधुनिक च्याउ खेतीकालागि तालिम दिइयो । चीन, भारतदेखि नेदरल्याण्डसम्म तालिम लिन र च्याउको खेती गर्न कृषकहरु गए । तर लगानी धेरै चाहिने हुँदा नेपाल सरकारको कोशिस पनि सफल भएन ।
आधुनिक प्रविधिको खोजीमा इन्द्रेणी बचत तथा श्रण सहकारी संस्था मार्फत भारतको हिमांचल प्रदेशस्थित सोलनमा तालिम लिएर फर्केपछि कम्पोष्ट आफै बनाउन सिकेर आधुनिक टहरामा च्याउ खेती गर्न धमेन्द्र र उनका साथीहरुले सुरु गरे । सोहि प्रयासलाई सफल बनाउँदै च्याउलाई चाहिने वातावरण दिएर जोखिम न्यूनिकरण गरेर उत्पादन बढाए । तर सो उपलब्धि हासिल गर्न उनीहरुलाई ६ वर्ष लाग्यो ।
व्यवसायिक रुपमा २०७०मा सुरु गरिएको यस कम्पनीलाई त्यो सफलतासम्म पुग्न ५ वर्ष लागेको थियो । लगानी धरापमा पर्ने चिन्ता भएकाले उनीहरुले धेरै मेहनत गनुपर्यो ।
६४ लाख रुपैयाँको लगानीबाट ८ करोड रूपैयाँ
मूख्यतः यस फार्ममा गोब्रे च्याउ उत्पादन गरिन्छ । सर्वप्रथम ६४ लाख रुपैयाँको लगानीबाट इन्द्रेणी फार्मको स्थापना भएको थियो । ३९ जना शेयरधनीले थोरैमा सुरु गर्ने सोचका साथ यो फार्मको सुरुवात गरिएको हो । भाडाको जग्गाबाट च्याउ उब्जाउन थालेका ती शेयरधनीकै मेहनतबाट आज आफ्नै १४ रोपनी जग्गामा च्याउको उब्जनी भइरहेको छ ।
त्यसपछि कम्पोष्ट प्लाण्टको खर्चका कारण शेयर आह्वान गर्दा दुई करोड रुपैयाँ पूँजी पुगेको धमेन्द्र सम्झिन्छन् ।
पछिल्लो तीन वर्षयता कम्पनी पुरै नाफामा रहेको छ । यस कम्पनीले गत वषको नाफाबाट ५ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गरेको थियो । यस वर्ष शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने कम्पनीका अध्यक्ष मानन्धरले बताएका छन् । आउँदा वर्षहरुमा लाभांश बढ्दै जाने पनि उनको दाबी रहेको छ ।
इन्द्रेणी मसरुम फामर्ममा ८५ जना शेयरधनीहरु रहेका छन् । उनीहरुले हालसम्म सात करोड रुपैयाँ लगानी गरिसकेका छन् । अब छिट्टै ८ करोड रुपैयाँ लगानी पुर्याउने भएका छन् ।
कति छ माग ?
अहिले नेपालमा च्याउको माग बढ्दो छ । महर्जनका अनुसार हाल काठमाडौंमा नै पाँच हजार किलोको दैनिक माग हुने गरेको छ । जसको पूर्ति हुन सकेको छैन ।
हाल भारतबाट नै च्याउ आयात गरिँदै आएका छ। दैनिकजसो पाँच हजार किलो च्याउ भारतले नेपाल पठाउने गरेको छ । यसरी भारतबाट हुने च्याउ आयात विस्थापित गर्ने मुख्य उद्देश्य कम्पनीको रहेको धमेन्द्रले मेरोलागानीलाई बताए ।
इन्द्रेणी मसरुम फार्मबाट च्याउ उत्पादन नियमित रुपमा हुने गरेको छ । यो फार्मले हरेक दिन ५०० किलो च्याउ उत्पादन गर्ने गर्दछ ।
दैनिक औसतमा प्रति किलो ३०० रुपैयाँको हाराहारीमा च्याउको बिक्री हुने गरेको कम्पनीले जानकारी दिएको छ । जसमा उत्पादन लागत भने १८० देखि २०० रुपैयाँसम्म लाग्ने गर्दछ । आइपीओ मार्फत पूँजी थएिपपछि कम्पनीले पाँच रोपनी जग्गा फार्मकालागि थप्ने भएको छ ।
रोजगारी
हाल इन्द्रेणी फार्ममार्फत २४ परिवारले प्रत्यक्ष रुपमा जिविकोपार्जन गरिरहेका छन् । यसैगरी, वितरण तथा विक्री गर्ने र अन्य पार्टटाइम काम गर्ने गरी अप्रत्यक्ष रुपमा २० जनाले पनि इन्द्रेणी फार्मबाट पारिश्रमिक पाइरहेका छन् ।
प्रतिस्पर्धी नै समर्थक
इन्द्रेणी मसरुम फार्ममार्फत यस्ता अन्य फार्म पनि थपियोस् भन्ने चाहना भएको अध्यक्ष धमेन्द्र सुनाउँछन् । अहिले अध्ययन स्थल जस्तै भएको छ इन्द्रेणी फार्म । नेपालमा यहिँ फार्मबाट हेरेर सिकेर धेरै फार्महरुको स्थापना पनि भइरहेको छ ।
यस्तै धेरै च्याउ फार्म हुनु व्यापारमा प्रतिस्पर्धा मात्र नभएर समर्थन पनि भएको धमेन्द्रको धारणा छ । उनी भन्छन्, ुप्रतिस्पर्धी धेरै भए काम गर्न धेरै सहज हुन्छ । यो फार्मले तालिम पनि दिने गरेको छ ।ु
आवश्यकताले विकास गरेको फार्म
सुरुवातमा यतिका खर्च लाग्ने आंकलन गरेका थिएनन् धमेन्द्र र अन्य ३८ शेयरधनीहरुले । तर बिस्तारै आवश्यकता अनुसार कम्पनीमा लगानी थप्दै गयो। सीइओ धमेन्द्र भन्छन्, ुसुरुमा फुल प्रोजेक्ट बनाउँदा हाम्रो त्यस्तो योजना थिएन । तर आवश्यकता पर्दै गएपछि कमपोस्ट पलाण्ट र जग्गा थपियो भने गाडि लगायतका अन्य संसाधनहरु थपियो। सोहि क्रममा सात करोड रुपैयाँको पूँजी पुग्यो।ु
ुसपना देखेका थियौं, पुरा भयो । सुरुवाती चरणमा संचालकहरुबीच भएको छलफलबाट नै जोखिम बहन गर्न तयार भएर पब्लिक कम्पनी बनाउने निर्णय गरेर दर्ता गरेका थियौँ । तर यसरी धेरै शेयर उठाउन सकिने उनीहरुको कल्पना भन्दा बाहिर रहेको थियो । मास प्रोडक्सनमा गएनौँ भने कमाउन सकिँदैन भन्ने लागेको थियो,ु उनी थप्छन् ।
साना कृषकलाई च्याउ खेती गर्न असहज
साना कृषकलाई च्याउ खेती गर्न त्यति सजिलो नभएको धर्मेन्द्र बताउँछन् । च्याउ खेतीमा लाग्न चाहनेले १२ महिना नै उत्पादन गर्न लाग्नुपर्छ । तर त्यो सम्भव छैन । साधारण कृषकहरु भने मौसममा नै भर पर्नुपर्ने अवस्था रहेको छ जसमा जोखिम धेरै छ र समस्या हुन्छ । च्याउ उत्पादन गर्न तापक्रममा नै भर पर्ने हुँदा आधुनिक प्रविधी अपनाउनुपर्छ, उनी भन्छन् ।
च्याउ खेतीको विकास प्रमुख लक्ष्य
यस फार्ममा हाल ११ वटा उत्पादन गर्ने कक्ष भएकोमा अब थपेर २० वटा पुर्याउने कम्पनीको योजना रहेको छ । उत्पादन गर्ने कोठामा वृद्धि भएसँगै उत्पादन पनि दोब्बर हुने अध्यक्ष धमेनद्रको भनाई छ।
उत्पादन दोब्बर हुँदा ५०० देखि एक हजार किलोसम्म उतपादन गर्न सकिनेछ भने उत्पादन लागत घटेर १८० रुपैयाँ भन्दा तल झर्नेछ । सोहि कारण पनि कम्पनीले आइपीओ निष्कासन गर्ने निर्णय गरेको धमेन्द्र बताउँछन् ।
च्याउ खेती मार्फत रोजगारी सिर्जना गर्ने योजना पनि कम्पनीको रहेको सीइओ धमेन्द्रले बताएका छन्। ुआईपीओ मार्फत् पूँजी वृद्धि गर्न सकेमा नेपालका अन्य जिल्लाहरुमा पनि गएर आधुनिक च्याउ खेती गर्न सक्छौँ । च्याउमा आत्मनिर्भर गराउने चाहना छु,उनी सुनाउँछन् ।
नेपालको पूर्वी भाग, पश्चिमी भाग र मध्य भागमा थप फार्म खोल्ने कम्पनीको योजना रहेको छ । नेपालमा च्याउ खेतीको विकाश गर्ने प्रमुख लक्ष्य इन्द्रेणी फार्मको रहेको छ । ताजा च्याउ नियमित रुपमा पुर्याउने चाहना पनि अध्यक्षको छ ।
अब छिट्टै हेटौंडामा एक विगा जग्गामा च्याउ उत्पादन गर्ने योजना यस कम्पनीको रहेको छ ।
आइपीओसम्मको यात्रा
इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्नकालागि असार २७ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।
आईपीओ निश्कासन हुनुअघि कम्पनीको पूँजी आठ करोड रुपैयाँ पुग्नेछ । त्यसमा थप २ करोड साधारण शेयरमार्फत संकलन गरिने भएको छ । च्याउको उत्पादन बढाउनकालागि नै सर्वसाधारणमा शेयर निश्कासन गरेको अध्यक्ष धमेन्द्र बताउँछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गर्दैछ ।
कृषि प्रोत्साहन गर्न इन्द्रेणी मसरुम फार्मको आइपीओ भर्नुपर्ने धर्मेन्द्र बताउँछन् । यो कम्पनी व्यवसायिक रुपमा सफल हुने र राम्रो प्रतिफल दिने भएकाले शेयरमा लगानी गर्न उनले आग्रह गरेका छन् ।
आइपीओमा उतसाहजनक सहभागिता हुने कम्पनीको विश्वास रहेको छ । नेपालीहरुले कृषिमाथि विश्वास गर्ने भएको हुँदा पहिलो मसरुम फार्मको आइपीओ भर्नेमा धमेन्द्र विश्वस्त छन् ।