तपाईंले पिसाब फेरेबापत कहिल्यै पैसा पाउनुभएको छ? बरु २ देखि ५ रुपैयाँसम्म तिर्नुभएको पो होला। तर, पृथ्वी राजमार्ग छेवैमा चितवन, दारेचोक–७ पुग्नुभयो भने तपाईंले पिसाब फेरिदिएबापत उल्टै एक रुपैयाँ पाउनुहुनेछ। स्थानीय श्रीरेन्द्रप्रकाश पोखरेल आफ्नो चर्पीमा पिसाब फेरिदिनेलाई विगत ६ वर्षदेखि पैसा दिइरहेका छन्।
यसरी संकलित पिसाब मलका रूपमा बिक्री गरेर उनी पनि पैसा कमाउँछन्। नबिकेको पिसाब आफ्नै करेसाबारीको तरकारी खेतीमा प्रयोग गरेर पोटाँस, युरियाजस्ता मलमा खर्च हुने पैसा जोगाउँछन्।
पिसाब संकलनका लागि उनको घर, कार्यालयमा मात्रै होइन, अहिले गाउँभरि नै आधुनिक प्रविधिका चर्पी छन्। यस्तो प्रविधिलाई 'इकोसान' भनिन्छ। अनि यो प्रविधिका स्थानीय अगुवा उनै ५० वर्षीय पोखरेल हुन्। दारेचोक–५ को माझागाउँ माविका प्रधानाध्यापक उनले २०६४ सालमा नेपाल सरकारले प्रअहरूलाई दिएको सरसफाइसम्बन्धी तालिमबाट यो प्रविधि सिकेका थिए। 'तालिममा ४५ मिनेट सरसफाइ, खुला दिसामुक्तिका फाइदाबारे सिकाइएको थियो। त्यही बेला इन्जिनियर नवलकिशोर मिश्रले सिकाएको प्रविधि मैले प्रयोगमा उतारेको हुँ,' पोखरेलले भने।
दिसापिसाब जम्मा हुने गरी अन्य स्थानका भन्दा फरकखाले प्यान प्रयोग गरिएका छन्, त्यहाँका चर्पीमा। दिसापिसाब छुट्टाछुट्टै ठाउँमा जम्मा हुन्छ। 'तरकारी, फलफूलका लागि चाहिने पोटाँस, युरिया, फस्फोरसको काम युरिनले गर्छ,' पोखरेलले भने, 'मानिसको पिसाबमा युरिनको मात्रा सबैभन्दा धेरै हुन्छ। यसले रासायनिक मलको तुलनामा कयौं गुणा बढी काम गर्छ।' पिसाब संकलनका लागि फरक–फरक प्यान भएको चर्पी पोखरेलको सेवा नेपाल कार्यालयमा छ। यसरी संकलित पिसाब तीन सातासम्म बन्द भाँडोमा राख्ने र त्यसपछि प्रयोग गरिने उनले जानकारी दिए।
२०६५ सालतिर अभियान सुरु गर्दा उनलाई स्थानीयले साथ दिएका थिएनन्। सुरुमा उनले विद्यालयवरपरका पाँच घरधुरीलाई पिसाबको फाइदाबारे बुझाए। संकलन तरिका सिकाएर आवश्यक चर्पी निर्माणमा सघाए। अहिले उनको टोल र वडा मात्रै होइन, दारेचोक गाविसका १६ सयमध्ये ७ सय घरमा पिसाब संकलन गर्न मिल्ने चर्पी छ। अभियान सुरु गर्नुअघि बनेका पक्की घरमा पनि शौचालयमा जर्किन, ड्रम राखेर सोलीमार्फत पिसाब संकलन गरिँदै आएको छ। रासायनिकभन्दा यसखाले मलले तरकारी तथा फलफूल खेती सप्रिएपछि किसान उत्साहित भएका हुन्। पोखरेल भन्छन्, 'पहिले त श्रीमतीले नै साथ दिन्नथी। एक्लै थिएँ। अहिले त जम्मा भएको पिसाब कसैलाई बाँडे उल्टै गाली गर्छे।'
गाविसमा इकोसान अभियान विस्तारका लागि पोखरेलले २०६७ देखि तीन वर्ष बेतलबी बिदै लिएका थिए। सरकारी सेवाबापत पाउने सबैखाले बिदा पिसाब संकलन अभियान प्रवर्द्धन गर्दैमा सके। बिदापछि जागिरमा फर्किएको केही समयमै उनको पेन्सन भयो। अहिले पूरै समय इकोसान प्रविधिलाई देशव्यापी बनाउने अभियानमा जुटेका छन्। 'अवकाशपछिको जीवनमा मेरो उद्देश्य भनेकै देशभरिका किसानलाई यो प्रविधि सिकाउनु हो,' पोखरेल भन्छन्, 'अहिले विस्तारै माग बढेको छ, तालिम दिनुपर्यो भन्ने धेरै छन्।
'
केही वर्षअघि उनी पृथ्वी राजमार्गछेवैमा शौचालय बनाएर यात्रुको पिसाब संकलन गर्थे। तर, सडक विस्तारका क्रममा शौचालय भत्किएको थियो। अहिले उनी नयाँ योजनासाथ राजमार्गछेउमै पिसाब संकलन केन्द्र बनाउने योजनामा छन्। इकोसान प्रविधिबारे सर्वसाधारणलाई प्रशिक्षण तथा परामर्श दिन 'द सेवा नेपाल' नामक संस्था खोलेका छन्। जहाँ बोर्ड टाँगिएका छन्– 'पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्।' त्यहाँ पुग्न हाइवेबाट एक किलोमिटर हिँड्नुपर्छ। इकोसान प्रविधिको प्रवर्द्धनबापत पोखरेल वातावरणीय क्षेत्रका विभिन्न संघसंस्थाबाट सम्मानित समेत भइसकेका छन्। अहिले उनको गाउँमा छिमेकीहरूबीच पिसाबको पैँचो चल्छ। एउटाको घरमा जम्मा भएको पिसाब आवश्यक परेका बेला छिमेकीलाई दिने र पछि सापटी तिर्ने चलन छ। पोखरेल भन्छन्, 'पिसाब फेर्नेलाई एक रुपैयाँ दिँदा नाफा छैन तर अभियानलाई निरन्तरता दिन र प्रविधिको महत्व बुझाउन यसो गरेको हुँ।'