सुन्तला टिप्ने मौसमी रोजगारीको खोजीमा धादिङका युवा म्याग्दी आइपुगेका छन् । विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत उनीहरू पढाइ र घरखर्च चलाउनका लागि यहाँका सुन्तला बगैँचामा काम गरिरहेका छन् ।

म्याग्दीका बगैँचामा मङ्सिर, पुस र माघ महिनामा सुन्तला टिप्ने काम हुने गर्दछ । यसअघि उनीहरू भदौ, असोज र कात्तिकमा मुस्ताङमा स्याउ टिप्ने काममा संलग्न हुने गरेका छन् ।


धादिङको रुबीभ्याली गाउँपालिका-५ का दिलीप घले झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका हुन् । उनले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी पाएको बताए । “पढाइ र घरखर्च चलाउनका लागि काम खोज्दै आएको हुँ,” उनले भने, “तीन महिना काम गरेपछि घर फर्केर कक्षा ११ को पढाइ निरन्तरता दिने योजना छ ।”

म्याग्दीमा सुन्तला टिप्ने मजदुरमध्ये अधिकांश धादिङ र गोरखाका रहेको बताइएको छ । जिल्लाभर करिब २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगारी पाएका छन् । बगैँचामा पाकेका सुन्तला टिप्ने, ग्रेडिङ गर्ने र बजार पठाउने कामका कारण किसान र मजदुरलाई यतिबेला भ्याइनभ्याइ छ ।

सुन्तला टिप्ने मजदुरले खाना सहित मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म तथा दैनिक ७०० देखि ८०० रुपैयाँ ज्याला पाउने गरेका छन् । बोटबाट सुन्तला टिप्ने, ग्रेडिङ गर्ने तथा गाडीमा लोड-अनलोड गर्न मजदुरको आवश्यकता पर्ने बेनी-३ राखुकी भवीकला रानाले जानकारी दिइन् । यसले स्थानीयसँगै अन्य जिल्लाका मजदुरलाई पनि रोजगारी सिर्जना गरेको छ ।

गत वर्ष म्याग्दीबाट ३३ करोड रुपैयाँ बराबरको चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ, जसमध्ये ४२५ हेक्टर क्षेत्रफलमा फल लाग्ने गरेको छ । कार्यालय प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन हुने अनुमान गरिएको बताए ।

राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ क्षेत्रमा २०० भन्दा बढी सुन्तला बगैँचा रहेका छन् । यहाँ उत्पादित सुन्तला बेनीसहित काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा बिक्री हुने गरेको छ। यातायात सुविधा सहज भएकाले व्यापारीहरू बगैँचामै गाडी लिएर सुन्तला किन्न आउने गरेका छन् ।