देशभर अण्डाको लागत मूल्यमाथि दबाब बढिरहेका बेला कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समितिले ताजा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । पोल्ट्री व्यवसायी मञ्चको आग्रहमा तयार गरिएको प्रतिवेदनअनुसार अहिले एउटा अण्डाको उत्पादन लागत रु. १९.१२ पुगेको छ, जुन तीन वर्षअघिको रु. १६.५६ को तुलनामा उल्लेख्य वृद्धि हो ।
लागत मूल्य अध्ययन समितिका सदस्य–सचिव तथा विश्वविद्यालयका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार १० हजार लेयर्स कुखुरा पालेर ८० हप्तासम्म उत्पादन हुने अण्डालाई आधार मानी लागत मूल्य निर्धारण गरिएको हो । सुरुमा प्रतिचल्ला रु. १५० को दरले रु. १५ लाख खर्च हुने, तीन प्रकारका दाना, औषधि तथा भेक्सिनसहित करिब रु. ३ करोड ४८ लाख ८८ हजार खर्च आउने प्रतिवेदनमा उल्लेख छ ।
एल–वान, एल–टु र एल–थ्री दानाका दरक्रमशः रु. ६८, रु. ६१ र रु. ६०.५० कायम गरिएका छन् । औषधि तथा भेक्सिन खर्च मात्र रु. ११ लाख अनुमान गरिएको छ । त्यस्तै मजदुर, भेटेरिनरी, व्यवस्थापक, बिजुली, भुस, खोर मर्मत, त्रिपाल, ग्यास, अण्डा क्रेट र डिजेलरजेनेरेटरसमेत गरी थप रु. ६० लाख ५८ हजार खर्च लाग्ने देखाइएको छ ।
ढुवानी खर्च, ह्रासकट्टी तथा बैंक ब्याजजस्ता शीर्षक जोड्दा कूल अतिरिक्त खर्च रु. ८० लाख १२ हजार २५० पुग्छ । यसरी सबै खर्च जोड्दा १० हजार कुखुराबाट अण्डा उत्पादन गर्न करिब रु. ४ करोड ९८ लाख ५९ हजार आवश्यक पर्ने दाहालको निष्कर्ष छ ।
कुखुरा राखेदेखि ८० हप्तासम्म करिब २ हजार कुखुरा मर्ने अनुमान गर्दै बाँकी ८ हजार कुखुराबाट २६ लाख ८८ हजार अण्डा उत्पादन हुने, त्यसमा ३ प्रतिशत अर्थात् ८० हजार ६४० अण्डा फुट्ने वा बिक्री अयोग्य हुने तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ । अन्ततः २६ लाख ७ हजार ३६० अण्डा बिक्री योग्य हुने अनुमान छ । उत्पादन चक्रपछि ८ हजार कुखुरा र मल बिक्रीबाट अतिरिक्त रु. १६ लाख ६० हजार आम्दानी हुने पनि प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन समितिमा प्रा. डा. रेवन्तकुमार भट्टराई, प्रा. डा. सुविर सिंह, सह–प्राध्यापक डा. अनिलकुमार तिवारी र सदस्य–सचिव डा. दाहाल रहेका थिए । प्रतिवेदन सरोकारवालासँगको अन्तरक्रियापछि मञ्चले प्रतिगोटा अण्डाको लागत मूल्य रु. १९.१२ कायम गर्ने निर्णय गरेको छ । मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार सो मूल्य जिल्ला पशु सेवा कार्यालय हुँदै मन्त्रालयमा अनुमोदनका लागि पठाइने छ । रासस
