फिदिम । गोलभेंडाको बजारीकरणका लागि सरकारले ध्यान नदिएको भन्दै पाँचथरका किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका छन् ।

मुख्य सिजनमै मूल्य नपाएपछि पकेट क्षेत्र हिलीहांग १ अमरपुरका किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका हुन् । भारतले नेपालमा उत्पादित गोलभेंडा आयातमा रोक लगाएपछि बारीमै करोडौंको गोलभेंडा कुहिएको जनाइएको छ । झापाको काँकडभिट्टा नाकाबाट एक महिनायता गोलभेंडा निकासी गर्न नपाउँदा बारीबाट उत्पादन उठ्न छाडेको छ ।

काँकडभिट्टाबाट भारत निर्यातमा रोक लागेपछि पाँचथर, इलाम, धनकुट्टालगायत जिल्लामा उत्पादित गोलभेंडा बारीमै कुहिने अवस्थामा पुगेको छ । निर्यातजन्य वस्तुको सूचीमा नपरेको भन्दै भारतले रोक्दा किसानले गोलभेंडा निकासी गर्न नपाएको बताइएको छ ।

गोलभेंडा खेतीका लागि सरकारले प्रोत्साहन गरेर बजार सुनिश्चित नगर्दा किसान मारमा परेका छन् । ‘करोडौं मूल्यबराबरको गोलभेडा कुहिएर जाँदा पनि सरकारले निकासीका लागि चासो नदिएकाले साँकेतिक रुपमा बिरोध जनाएका छौं,’ अमरपुरका प्रकाश उप्रेतीले भने,’अमरपुरमा मात्रै दैनिक १० लाख मूल्यबराबरको गोलभेंडा कुहिएर खेर गइरहेको छ ।’

समस्या समाधान गर्न सरकारले चासो नदिए चक्काजाम गर्ने चेतावनी किसानले दिएका छन् । ‘भारत निकासी ठप्प हुुँदा नेपालमै बिक्ने गोलभेंडाले ढुवानी भाडा पनि उठ्दैन,’ भिमप्रसाद वाग्लेले भने,’बिर्तामोडसम्म ढुवानी गर्न प्रतिकिलो ६ रुपैयाँ लाग्छ । किसानको बारीमा प्रतिकिलो एक रुपैयाँमा पनि विक्न छाडेको छ ।’

अमरपुरका दुई गाउँमा मात्र अहिले ३ करोड मूल्यबराबरको गोलभेंडा नष्ट भएको किसानका भनाई छ । हिलिहांग र नागी गाउँ गोलभेंडाका पकेट क्षेत्र मानिन्छन् । यो क्षेत्रका किसान अन्नवाली छाडेर गोलभेंडाको व्यवसायिक खेतीमा लागेका छन् । गोलभेंडाले मूल्य नपाएर बारीमै कुहिंदा किसान चिन्तित बनेका छन् ।