१८ वर्षको उमेरमा बेल्कोटगडी नगरपालिका-११ अमारेखोलाका अमृत तिवारीले १९ वटा ब्राखा र १२ बङ्गुरसहित व्यवसाय शुरू गरेका थिए। हाल १ सय ७० वटा बोका र बाख्रा उनको कृषि फार्ममा छन्। आफ्नो फार्ममा जन्मिएका उन्न्तत जातका ब्राखाहरू ६० जिल्लामा बेचिसकेको उनी बताउँछन्। उनलाई नेपालको पशुसेवा विभागले आफ्नो वार्षिकोत्सवको सन्दर्भ पारेर दुई वर्षअघि देशकै 'कान्छा बाख्रापालक कृषकको' सम्मान दिएको थियो।

ब्राखापालन
१८ वर्षको उमेरमा काठमाण्डूको ग्रामीण आदर्श कलेजमा व्यवस्थापन संकायमा दोस्रो वर्ष अध्ययन गर्दा गर्दै पढाइ छाडेर उनले बाख्रापालन शुरू गरेका थिए। आफूले व्यवसाय शुरू गर्न लाग्दा नेपालमा दोस्रो पटक संविधानसभाको चुनाव हुन लागेको उनी सम्झन्छन्। "नेताहरूले दिएका आश्वासनले एकदम निराश बनिरहेको थिएँ। त्यसमाथि मेरा धेरै साथीहरू वैदेशिक रोजगारीमा गइरहेका थिए। त्यो बेला मलाई गाउँमै बसेर केही गर्ने चाहना भयो।"

उनले शुरूमा बाख्रा र बङ्गुर पालेका थिए। २०७२ सालको विनाशकारी भूकम्पको समयमा ५४ वटा बङ्गुर आफूले पालेको बताउँदै उनले भूकम्पले चीनसँग जोड्ने बाटो भत्काएपछि बङ्गुर पाल्न छाडेको जनाए। "संविधान आएपछि नाकाबन्दी भयो। बङ्गुरलाई खुवाउने दाना पनि पाउन छाड्यो, बाटो बन्द भएर चीन पनि पठाउन सकिएन। त्यही भएर २०७३ सालबाट बङ्गुर पाल्न छाडिदिएँ।"

विदेशी
बङ्गुरपालनमा खासै सफलता हात नलागे पनि उनले ब्राखापालनमा आफूलाई केन्द्रित गरे र उन्नत जातका ब्राखा विदेशबाट समेत झिकाए। उनी भन्छन्, "दक्षिण अफ्रिकाबाट बेएर प्रजातिका १५ वटा बोका ल्याएर पालिरहेको छु, त्यो नश्लको एउटै बोकाको रू. मूल्य ४ लाख जति पर्छ।" तिवारीका अनुसार बोएरसँग 'क्रस' गराएर जन्माइएका पाठापाठी एउटै २० देखि ४० हजार रूपैयाँमा विक्री हुने गरेका छन्।

"हाम्रो फार्मका पाठापाठी करिब ६० जिल्लामा बेचिसकेको छु, अहिले मासिक ८० हजारदेखि १ लाख रूपैयाँसम्म बचाउने गरेको छु।" त्यसबाहेक आफ्नै र भाडामा लिएको गरी ६० रोपनी जमिनमा ५० प्रजातिका घाँसको खेती गरिरहेको उनी बताउँछन्।

आधुनिक
आधुनिक खालको खोरसहितको उनको मजुवादेवी कृषि फारम आफ्नै परिवारको चार सदस्यले चलाइरहेका छन्। उनले हालसम्मको आम्दानी र स्थानीयस्तरमा लिएका ऋणले आधुनिक फार्म बनाएको बताए।

उनका बुवा प्राथमिक विद्यालका शिक्षक हुन् भने आमा पसल चलाउँछिन्। अमृत नेपालमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण आफू भएको बताउँछन्।

उनी भन्छन्, "उन्नत नश्लका ब्राखाका पाठापाठीहरू गाउँघरमा पुर्याउने र गाउँघरमा ब्राख्रापालन जस्ता व्यवसायमा लाग्न युवाहरूलाई सघाउने लक्ष्य मैले लिएको छु, खाडी देशमा काम गर्नुको साट्टो परिवारसँगै बसेर देशभित्रै उनीहरू रोजगार बनुन भन्ने मेरो चाहना छ।"

सम्मान
अमृतलाई तीन वर्षअघि जिल्ला पशु सेवा कार्यलयले उत्कृष्ट बाख्रापालक कृषकका रूपमा सम्मान गरेको थियो। पशुसेवा विभागले पनि उनलाई कान्छो बाख्रापालक कृषकका रूपमा आफ्नो स्थापना दिवसका अवसरमा दुई वर्षअघि सम्मान गरेको थियो।

जिल्ला पशुसेवा कार्यलय नुवाकोटका प्रमुख खगेन्द्र भट्ट तिवारीले ब्राखापालन गरेर प्रेरणादायी रूपमा सफलता प्राप्त गरिरहेको बताउँछन्। उनी भन्छन् "अरू कृषकभन्दा धेरैपछि बाख्रापालन शुरू गरे पनि नुवाकोटमा उनले जतिको बाख्रापालनमा अरूले काम गर्न सकिरहेका छैनन्, केही ऋण लिएर भए पनि आधुनिक ढङ्गले बाख्रापालन गरिरहेका छन्।"

"उनले राम्रो गरिरहेका छन्, यसरी नै सफलता पाउँदै गए त्यो धेरैलाई प्रेरणादायी हुन्छ।"